स्विटजरल्याण्डमा पनि मनाईयो तमु ल्होसार

हिरालाल श्रेष्ठ / एचकेनेपाल डट कम –
स्विट्जरल्याण्ड। तमु परिवार स्विट्जरल्याण्डद्वारा आयोजित ल्होसार कार्यक्रम जनवरी तारिख बेर्नमा कार्यक्रमकी संयोजक युक्ता गुरुङको सभापतित्वमा भव्य रुपमा सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथि राजदूत दीपक धिताल र बिशेष अतिथिहरु गैर-आवासीय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदका प्रमुख संरक्षक एवं भूतपूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, सचिव अर्जुन कुमार श्रेष्ठ, आईसीसी सदस्य विनय श्रेष्ठ र गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरुङले शुभ-कामना मन्तव्य व्यक्त गरेका थिए। तमु परिवारका अभिभावक पितम गुरूङले ल्होसारको महत्वका बारेमा चर्चा गरे।

त्यसै गरी सुभाष सुन्दासको बहुचर्चित एल्बम रिलिज भव्यताका साथ सम्पन्न भयो। उनको “उड्न देउ” नामक डेब्बु एल्बममाथि उल्लेखित अतिथिहरुको हातबाट विमोचन गरियो। स्विट्जरल्याण्डका परिचित कलाकारहरु गौरी गुभाजु, निता कपुर, शर्मिला मगर र बर्षा हायोजले कार्यक्रममा आकर्षक नृत्यहरु प्रस्तुत गरे। साथै सुभाष सुन्दास र रामु परियारद्वारा प्रस्तुत लाईभ सांगीतिक कार्यक्रममा सहभागिहरु मन खोलेर नाचे।

कार्यक्रममा स्विट्जरल्याण्डका संघ-संस्थाहरुका प्रतिनिधिहरुलाई आसन ग्रहण गराईएको थियो। कार्यक्रमको संचालन कृष्ण गुरुङ र सन्जु गुरुङ-तमाङले गरेका थिए। कार्यक्रममा स्विट्जरल्याण्डका लगभग १५० नेपाली एवं स्वीसहरुको उपस्थिति थियो। अर्न्तराष्ट्रिय एंव राष्ट्रियस्तरमा नेपाली समाजमा परिचित ब्यक्तित्वहरु लाई कार्यक्रममा उपस्थित गराई एल्बम रिलिज लगायत बहु कलाकारहरु सम्मिलित सांस्कृतिक कार्यक्रमको आयोजना गरी तमु परिवार स्विटजरल्याण्डले सबैलाई समेटदै सामुदायिक एकताको सन्देश दिन प्रयत्न गरेको देखिन्थ्यो।

सामुदायिक एकता र सदभाव आवश्यक–जीवा लामिछाने
ल्होसार कार्यक्रमको उदधाटन सत्रमा आफ्नो विचार राख्ने क्रममा गैर आवासिय नेपाली संधका प्रमुख संरक्षक श्री जीवा लामिछानेले नेपालको समसामयिक परिस्थितीको चर्चा गर्दै विभिन्न नेपाली समुदायका चाडपर्वहरुको संरक्षण, सामुदायिक एकता र सदभावको आवश्यकतामा जोड दिए। त्यसैगरी उक्त सत्रकी सभापति कार्यक्रमकी संयोजक श्रीमति युक्ता गुरुङले तमु परिवार स्विटजरल्याण्डले आयोजना गरेको भएता पनि ल्होसार सबैको चाड भएको चर्चा गर्दै कार्यक्रममा देखिएको बृहत सहभागिताका लागि सबैमा धन्यबाद ज्ञापन गरिन।

एल्बम „उडन देउ“ को विमोचन
स्विटजरल्याण्डका गायक एंव संगीतकार सुभाष सुन्दासको डेब्बु एल्बम „उडन देउ“को एक भब्य कार्यक्रमका बीच विमोचन भयो। स्विटजरल्याण्डका लागि नेपाली राजदूत श्री दीपक धिताल, गैर आवासिय नेपाली संधका प्रमुख संरक्षक एंव भुतपूर्व अध्यक्ष श्री जीवा लामिछाने, उपाध्यक्ष श्री कुमार पन्त, सचिव श्री अर्जुन कुमार श्रेष्ठ र आईसिसि सदस्य श्री विनय श्रेष्ठ का साथै भुतपूर्व आइसिसि सदस्य श्री पितम गुरुङले विमोचनको क्रममा उनको एल्बम खोलेर प्रस्तुत गर्दा कार्यक्रम कक्ष तालीले गडगडाएको थियो। „उडन देउ“ मा सुभाष सुन्दास, विनय श्रेष्ठ, प्रकाश क्षनिक, रीमा परियार र अमित कार्कीद्वारा रचित सात वटा गीतहरु प्रस्तुत गरिएका छन। सुभाष सुन्दास र कल्याण सिङले ति गीतहरुमा संगीत भरेका छन। विमोचन कार्यक्रममा गायक सुन्दासले „माया हो“ र „नक्कली“ बोलका गीतहरु श्रोता माझ प्रस्तुत गरे। „उडन देउ“ को लागि अर्जुन कुमार श्रेष्ठ, विनय श्रेष्ठ, पितम गुरुङ, आशा स्टुकी सुब्बा र डा. विजय मल्लले संयुक्त रुपमा आर्थिक सहयोग गरेको जानकारी गराईएको थियो। गैर आवासिय नेपाली संधका सचिव अर्जुन कुमार श्रेष्ठले एल्बमको प्रकाशनमा सहयोगी बन्न पाएकोमा हर्ष ब्यक्त गर्दै शुभ कामना ब्यक्त गरे।

महिला फोरमको बैठक
गैर आवसिय नेपाली संध स्विटजरल्याण्डको महिला फोरमको बैठक ल्होसार कार्यक्रम स्थलको परिषरमा फोरमकी संयोजक श्रीमती शुभ एलमर लामाको अध्यक्षतामा बस्यो। बैठकमा गैर आवासिय नेपाली संधका अग्रजहरु लाई स्वागत गर्दै महिला फोरमका सदस्यहरु संग परिचय गराईएको थियो। गैर आवासिय नेपाली संध आईसिसिका उपाध्यक्ष श्री कुमार पन्तले उक्त अवसरमा दिदिबहिनीहरुको एन. आर. एन. अभियानमा लाग्ने इच्छाको मुक्त कण्ठले प्रशंसा गर्दै महिला चासोका बिषयमा आफु काम गर्न सदैब तयार रहेको बताए। महिला फोरमको बैठकले सन २०१६ का लागि बिभिन्न कार्यक्रमहरु तय गरेको फोरमका सदस्यहरुले बताए।

स्वादिष्ट नेपाली खाना
तमु परिवार स्विटजरल्याण्ड र स्विटजरल्याण्डको नेपाली समुदायका सदस्यहरु द्वारा पाहुनाहरुका लागि स्वादिष्ट नेपाली अपेरो र खानाको ब्यबस्था गरिएको थियो। आयोजकहरु को तर्फबाट भान्सासमुहका बुध्दि थापा, शुराइस पटेल, नीता गुरुङ, ईन्दिरा गुरुङ, लक्ष्य गुरुङ र ओमगुरुङलाई कार्यक्रमकी संयोजक श्रीमति युक्ता गुरुङले कार्यक्रमको अन्त्यमा धन्यबाद ज्ञापन गरिन्।





Comments

comments

Leave a Reply

10527