यसरी समापन भयो ‘नेपाल लिटरेचर फेस्टिभल २०१६’ पोखरा

एचकेनेपाल डट कम संवाददाता –
माघ १८, पोखरा। पार्दीस्थित नेपाल पर्यटन बोर्डको प्रांगणमा दर्शकको भीडमाझ कविता वाचनको सत्रसँगै नेपाल लिटरेचर फेस्टिभलको सोमवार समापन भएको छ।

फेस्टिभलकी संचार अधिकृत ऋचा भट्टराईका अनुसार ४ दिनसम्म एकपछि अर्को सशक्त र जीवन्त सत्रका माध्यमबाट फेस्टिभलले साहित्यकार, लेखक, विश्लेषक र पाठकलाई एकै थलोमा बाँधेको थियो । बुकवर्म फाउन्डेशको आयोजना र र्याण्डम रिडर्स क्लब अफ नेपालको सहआयोजना रहेको यो कार्यक्रममा ३२ वटा सत्रमा १०० भन्दा बढी साहित्यकार, विचारक, विश्लेषक र कलाकारको सहभागिता रहेको थियो।

सोमबारको पहिलो सत्रमा पत्रकार तथा लेखक नारायण वाग्लेले लेखकहरु बुद्धिसागर, नयन राज पाण्डे र सुबिन भट्टराईसँग “प्यारो पात्र” विषयमा चर्चा चलाए। लेखकहरुले आफ्ना कृतिका पात्रहरुको उत्पत्ति, विकास र गुणहरुका रहस्य पनि खोतले। त्यसपछिको सत्रमा पाठक समूह बुकाहोलिक्सकी संस्थापक सगुना शाहले लेखकहरु रवि थापा, प्रविण अधिकारी र प्रणय राणासँग नेपालमा अङ्ग्रेजी लेखनीको चलन र अङ्ग्रजी पुस्तक प्रकाशन गर्दा पाठकहरुको अपेक्षाबारे छलफल गरिन् । उता हलमा भने समानान्तर रुपमा दुई सत्र सञ्चालन भए – लेखक युग पाठकले “के लेख्ने, कसरी लेख्ने ?” मा लेखकीय विषयवस्तु र शैलीका बारेमा जानकारी दिए भने अर्का लेखक खगेन्द्र संग्रौलाले “संस्मरणमा राष्ट्रवाद” बारे प्रवचन दिए।

प्रांगणमा सञ्चालन भएको तेस्रो सत्रमा अभिनेताहरु राजेश हमाल र दयाहाङ राईले नेपाली समाजमा “हिरो” बन्नुको अर्थ, यसको सामाजिक प्रभाव र व्यक्तिगत अनुभवबारे चर्चा गरे। चलचित्र समिक्षक र पत्रकार यज्ञशले सञ्चालन गरेको उक्त सत्रमा पछिल्लो पुस्ताका नायक राजेश हमालदेखि अहिलेका चर्चित दयाहाङसम्म आउँदाका परिवर्तनबारे पनि कुरा चले। यसपछिको सत्र पनि सिनेमाकै वरपर घुम्यो – पत्रकार किशोर नेपालले कलाकारहरु गौरी मल्ल, रेखा थापा र ऋचा शर्मासँग वर्तमान परिपेक्ष्यमा चलचित्रमा काम गर्दाका सुख दुख, चुनौती र आर्थिक स्थितिका बारेमा छलफल गरे।

चौरमा सञ्चालन भएको पाँचौ सत्रमा निकै फरक विषयवस्तु र शैली समाविष्ट थियो । राजनीतिकर्मी एवं लेखक प्रदिप गिरिले महाभारतका प्रमुख पात्रको उपस्थिति, विकासक्रम एवं गुणहरुबारे खुलेर चित्रण गरे । यो चार दिने साहित्यिक मेलाको अन्त्य कविताबाट भयो । साहित्यकार सरस्वती प्रतिक्षाले सञ्चालन गरेको उक्त सत्रमा एक दर्जन कविले आफ्ना सिर्जना सुनाएर उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन दिँदै फेस्टिभललाई बिदाई गरे।

फेस्टिभलको समापन गर्दै फेस्टिभलका निर्देशक अजित बरालले वर्षैपिच्छे यस्ता साहित्यिक कार्यक्रम आयोजना गर्दा पाठक र साहित्यिक जगतको उपस्थितिले उत्साहित बनाउने र यो वर्ष पोखराका दर्शकका साथले आगामी बर्ष अझ सशक्त रुपमा आउन प्रेरणा मिलेको बताए।

थप तस्वीरहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

10852