चालकको कन्चटमा गोली हानेपछि यसरी उद्योगपतिको अपहरण गरियो

हतियारधारी समूहले बाराको कलैयाबाट बिहीबार साँझ उद्योगपति तथा केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियाको अपहरण गरेको छ ।

परवानीपुरस्थित वीरगन्ज खाद्य उद्योगका सञ्चालक केडिया कलैयाको बघवन गाउँबाट बिहीबार साँझ अपहरणमा परेका हुन् ।

अपहरणकारीले चलाएको गोली लागेर केडियाका चालक श्यामउमेशप्रसाद साह कानु गम्भीर घाइते भएका छन् । दायाँ कन्चटमा गोली लागेका उनको अवस्था चिन्ताजनक छ । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडौं रिफर गरिएको खबर नयाँपत्रिका दैनिकमा छ ।

वीरगन्ज फर्किंदै गर्दा अपहरण
कामको सिलसिलामा बाराको बरियारपुर गएर वीरगन्जतर्फ फर्कने क्रममा कलैया नगरपालिकाको बघवन गाउँबाट केडिया अपहरणमा परेका हुन् । अपहरणकारीले साँझ साढे ६ बजे उनको अपहरण गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनास्थल बारा सदरमुकाम कलैयाबाट तीन किलोमिटर पूर्वमा पर्छ । केडिया बा.१०च ७२४० नम्बरको टक्सन जिपमा बिहीबार दिउँसो बरियारपुरतर्फ गएका थिए । मैदा उत्पादन गर्ने वीरगन्ज खाद्य उद्योगका लागि आवश्यक गहुँ खरिद गर्न केडिया बरियारपुर जाने गरेका थिए । यसअघि केडियालाई कुनै धम्की नआएको उनीनिकट एक व्यापारीले बताए ।

भारततर्फ लगियो
घटनास्थलबाट नेपाल–भारत सीमा १६ किलोमिटर दूरीमा छ । केडियालाई अपहरणकारीले भारतीय नम्बरको स्कर्पियो जिपमा राखेर कवही तेलकुवातर्फ लगेको स्थानीय बासिन्दाले बताएका छन् । तेलकुवा बाराको सीमावर्ती गाविस हो ।

केडियाको अपहरणपछि सीमा–नाकामा सुरक्षा व्यवस्था कडा पारेर खोजी भइरहेको अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी नारायणसिंह खड्काले बताए । उनले भने, ‘भारतीय सुरक्षाकर्मीसँग पनि समन्वय गरेर खोजी गरिरहेका छौँ ।’

को हुन् सुरेश केडिया ?
केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक हुन् सुरेश केडिया । उनी केडिया अर्गनाइजेसनका अध्यक्ष हीरालाल केडियाका माहिला छोरा हुन् । उनी सभासद् विमल केडियाका सहोदर दाजु हुन् । ५६ वर्षीय उनका काकाका छोरा प्रदीप केडिया वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष छन् । उनी वीरगन्ज खाद्य उद्योगलगायत केडिया अर्गनाइजेसनअन्तर्गतका विभिन्न उद्योग व्यवसायमा आबद्ध छन् ।

सन् १९०९ मा स्थापना भएको केडिया अर्गनाइजेसन नेपालको अग्रणी औद्योगिक व्यावसायिक समूहमध्येको एक हो । अर्गनाइजेसनले नेपालको उत्पादन, आयात–निर्यात, बैंक, वित्तलगायत क्षेत्रमा लगानी गरेको छ । अर्गनाइजेसनअन्तर्गत ब्रिज सिमेन्ट, रिलायन्स पस्मिना, यती फेब्रिक, सुन्दर फर्निचर, सीताराम गोकुल मिल्क, सिद्धार्थ बैंक, गोर्खा फाइनान्स, इन्दुशंकर चिनी उद्योगलगायत उद्योग व्यवसाय सञ्चालनमा छन्।





Comments

comments

Leave a Reply

12704