मनोजले हँसाउंने, प्रियंकाले नचाउंने …

आर.पी सहयात्री / एचकेनेपाल डट कम –
दुबई। गत वैशाखमा आएको भूकम्पले क्षतविक्षत भएको नेपाल र नेपालीहरुको राहतका लागि सहयोग जुटाउन नेपाली कलाकारहरु यूएईमा कम्मर कसेर लागेका छन्।

हाँस्यकलाकार मनोज गजुरेल, नायिका प्रियंका कार्की, लोकगायिका कृष्णा गुरुङलगायतको कलाकारहरुको जम्बो टोलीलाई एउटै मञ्चमा उतार्ने काम अन्तर्राट्रिय कलाकार समाज यूएईले गर्न लागेको छ।

नेपालको राजनीतिक जीवनका महत्वपूर्ण मोडहरुमा विशेष प्रभाव पार्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वराजा ज्ञानेन्द्र र एमाओवादीका अध्यक्ष प्रचण्डका तीन फरकफरक चरित्रलाई यूएईका नेपालीले हेर्न सक्नेछन्। नेपाली हाँस्यव्यंग्य क्षेत्रमा विगत लामो सयमदेखि राज गरिरहेका हाँस्यकलाकार मनोज गजुरेलले तीनै जनाको भूमिकामा प्रस्तुत भएर मनोरन्जन दिन लागेको अनेकसका उपाध्यक्ष रेखा घिमिरेले बताईन्।

आगामी सेप्टेम्बर १० मा दुबईको इम्पेरियल होटल तथा ११ मा रास अल खेमाको मिनिस्टी कल्चल हलमा हजारौं नेपाली दर्शकहरुमाझ आयोजना भइरहेको तीज महोत्सवको साँगीतिकका साथै सामाजिक महत्व रहेको अनेकसका महासचिव गोपीकृष्ण पंगेनीले बताए। राष्ट्रिय स्तरका कलाकारहरु आउने खबरले रासअल खेमाका नेपालीहरुमा उत्साह छाएको अनेकसका संकल्प चन्द ठकुरीले बताए।

यी दुबै स्थानमा आयोजना गरिने साङ्गीतिक कार्यक्रमको सम्पूर्ण मुनाफा भूकम्पपीडित बालबालिकाहरुको शिक्षा, राहत तथा उद्धारमा खर्च गरिने आयोजकको तर्फबाट आशिष पुरुषले बताए।

कार्यक्रममा नेपाली सिने जगतमा एक दशकदेखि चर्चाको शिखरमा रहेकी नायिका प्रियंका कार्कीले पनि आफ्नो प्रस्तुति दिनेछिन् भने लोकपारखीहरुका लागि लोकयायिका कृष्णा गुरुङले यूएईका नेपालीहरुलाई छमछमी नचाउने आयोजकको दाबी छ।

नेपाली कला, साहित्य, संगीत तथा चलचित्र क्षेत्रमा संघर्ष गर्दागर्दै रोजगारीको सिलसिलामा बिदेशिएका नेपाली कलाकारहरुको साझा संस्था अनेकसले यो कार्यक्रम आयोजना गर्न लागेको हो। तीज महोत्सव–२०७२ नाम दिइएको यस कार्यक्रममा यूएईमा रहेका अनेकसमा आबद्ध क्रियाशील कलाकारहरुले पनि आफ्ना प्रस्तुतिले मञ्च तताउने तयारी गरिरहेका छन्।

कार्यक्रमलाई व्यापक बनाउन यूएईमा रहेका क्रियाशील सबै नेपालीहरुलाई आयोजकले आह्वान गरेका छन् भने मनोरन्जन लिँदै भूकम्पपीडितहरुलाई सहयोग गर्न सबै नेपालीहरु तथा संघसंस्थालाई औपचारिक रुपमा निमन्त्रणा गरिएको छ।

यो तीज महोत्सवबाट पनि भूकम्पपीडित बालबालिकाहरुलाई उल्लेख्य सहयोग गर्ने आयोजक अनेकसले लिएको छ। तीजको अवसरमा मनोरन्जन पनि हुने, राष्ट्रिय कलाकारको प्रस्तुति पनि देख्न पाइने साथै कार्यक्रमका लागि तिरिएको ४० दिराम्सको केही अंश भूकम्पपीडित बालबालिकासम्म पुग्ने भएका कारण कार्यक्रमलाई सफल बनाउन आयोजकले मनकारी नेपालीहरु सबैलाई आग्रह गरेका छन्।





Comments

comments

Leave a Reply

8219