नेदरल्यान्ड्समा भानुभक्त आचार्यको द्विशतवार्षिकी

द्रोण रिजाल / एचकेनेपाल डट कम-
नेदर्ल्यान्द्स। नेदरल्यान्ड्समा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोह विविध साहित्यिक कार्यक्रमहरु गरी मनाइयो। नेदरल्यान्डसका वरिष्ठ नेपाली साहित्यकार श्री हरि पौडेलको प्रमुख आतिथ्यमा १४ जुन २०१४ को दिन सम्पन्न भएको उक्त कार्यक्रममा नेदरल्यान्डसमा रहनुभएका नेपाली साहित्यकार, पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा आदिकवि भानुभक्तको व्यक्तित्व र कृतित्वको बारेमा बिचार-विमर्श गरिनुका साथै तथा कविता वाचन गरिएको थियो।

आमस्टरडममा रहेको हिमालयन किचेन नेपाली रेष्टुरेण्टको हलमा भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यकार तथा व्यक्तित्वहरुले नेपाली भाषा र साहित्यको बिकासमा जोडदिनुपर्ने बिचार व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथिको आसनबाट बोल्दै अग्रज साहित्यकार श्री हरि पौडेलले भानुभक्त आचार्य नेपाली साहित्यका एक उज्वल नक्षेत्र हुनुका साथै सम्पूर्ण साहित्यकर्मीहरुका लागि प्रेरणाको श्रोतको रहनुभएको बताउनुभयो। कृति रचनामा सरल शव्द संयोजन गर्ने भएकोले नै भानुभक्तका रचनाहरु सबैले बुझ्नसक्ने भएका हुन् भन्दै उहाँले भानुभक्त आचार्य अरुलाई राम्रो काम गर्न उत्प्रेरणा प्रदान गर्ने महान व्यक्तित्व समेत रहनुभएको बताउनुभयो।

त्यस्तै अर्का अग्रज साहित्यकार श्री कृष्ण बहादुर बिष्टले नेदरल्यान्डसमा प्रथमपटक भानुजयन्ती मनाइनु ज्यादै गर्वको कुरा भएको बताउदै भानुभक्तको कृतित्वमा सरसपनको बारेमा चर्चा गर्नुभएको थियो भने अर्का अग्रज साहित्यकार श्री बिकास शर्माले प्रवासमा रहेर पनि आदिकवि भानुभक्तलाई सम्झिनु र उनको सम्मानमा कार्यक्रम आयोजना गरिनु ज्यादै राम्रो काम भएको बिचार राख्नुभएको भयो। भाषा र साहित्य भनेको हरेक देशको लागि प्राणको रुपमा रहेको हुन्छ भन्दै उहाँले नेपाली भाषा र साहित्यको बिकासका लागि नेदरल्यान्ड्समा रहेका सम्पूर्ण साहित्यकर्मीहरु तथा सम्पूर्ण नेपाली समूदायनै जुट्नुपर्ने बताउनुभयो। हरेक मूलुकले आफ्नो भाषा र साहित्यको जगेर्ना गर्न विशेष पहल गरेको सन्दर्भलाई उल्लेख गर्दै वक्ता अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) नेदरल्यान्डसका सल्लाहकार श्री जसबहादुर याखाले नेपाली मूलभाषा होस् वा साम्प्रादायिक भाषाहरुनै किन नहुन तिनलाई लोप हुन नदिन सबैले पहल गर्नुपर्ने बिचार राख्नुभएको थियो। उहाँले डच भाषाको उत्थानको लागि नेदरल्यान्डसको सरकारले गर्ने लगानी र डच भाषा जान्नै पर्ने अनिवार्यताको उदाहारण पेश गर्दै नेपाली भाषा र साहित्यको प्रवर्द्धन सम्बन्धि कार्यहरु गरिनुपर्ने बताउनुभयो। त्यस्तै गुरुङ समाज नेदरल्यान्डसका प्रतिनिधि श्री राजकुमार गुरुङले आदिकवि भानुभक्तको बारेमा चर्चा गर्दै नेदरल्यान्डसमा पनि सबैले एकजुट भएर नेपाली भाषा र साहित्यको बिकास गर्नेतर्फ जुट्नुपर्ने बिचार राख्नुभयो।

त्यसैगरी आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व तथा कृतित्वको चर्चा गर्दै युवा साहित्यकार तथा एनआरएनए नेदरल्यान्डसका सह-राष्ट्रिय संयोजक श्री हिरामणि पराजुलीले नेपाल सरकारले अंग्रेजी भाषालाई अग्रणिरुपमा राख्न गरेको निर्यणप्रति बिमति जनाउनुभएको थियो। उहाँले नेपाली भाषा र साहित्य लोपोन्मूख हुने सूचीमा रहेकोप्रति चिन्ता व्यक्त गर्दै नेपाल सरकारले यसबारेमा तत्काल ध्यान दिनुपर्ने सुझाव दिनुभयो।

नेपालमा बिद्यालयस्तरमा गरिएको एक सर्वेक्षणमा इन्टरनेशनल एअरपोर्टलाई नेपालीमा के भनिन्छ भन्ने सम्बन्धमा गरिएको प्रश्नजनक एक सर्वेक्षणमा करिब ९५ प्रतिशतले त्यसको सहि जवाफ दिन नसकेको उदाहरण पेश गर्दै उहाँले नेपाली भाषामा आएको यो ह्रासपन सम्पूर्ण नेपालीका लागि चिन्ताको बिषय भएको तर्फ इङगित गर्दै नेपाल सरकारले कम्तिमा पनि एसएलसी उतिर्ण नहुँदासम्म अनिवार्यरुपमा नेपाली भाषा अध्ययन गर्ने व्यबस्था लागू गर्नुपर्ने बताउनुभयो। अर्का साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाजका अध्यक्ष सुर्यराज गिरीले नेदरल्यान्डसमा यसरी प्रथमपटक भानुजयन्ती मनाइनु सम्पूर्ण नेदरल्यान्डसवासी नेपालीहरुको लागि नै गर्वको कुरा भएको बिचार राख्नुहुँदै नेदरल्यान्डसमा पनि यस किसिमको कार्यक्रम आयोजना गर्न पहल गर्ने नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। आफ्नो बिचार राख्ने क्रममा उहाँले नेदरल्यान्डसबाट प्रकाशित हुँदै आएको एकमात्र साहित्यिक पत्रीका ‘साहित्यानुराग’ लागि अब नियमित गर्ने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि नेदरल्यान्डसमा भएका सम्पूर्ण नेपाली समूदायको सहयोग र सहकार्य आवश्यक हुने बताउनुभयो भने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युरोप कमिटिका सदस्य तथा भानुभक्त द्वी-शतवार्षिकी समारोह समिति नेदरल्यान्डसका सदस्य सचिव श्री चन्द्र सम्सेर केसी र पत्रकार श्री द्रोण रिजालले भानुभक्तको साहित्यिक आयामको बारेमा चर्चा गर्नुभएको थियो।

कार्यक्रममा हरि पौडेल, पुष्प बरुवाल, कृष्ण बहादुर बिष्ट, बिकास शर्मा, सूर्यराज गिरी, हिरामणि पराजुली, चन्द्र सम्सेर केसी, द्रोण रिजाल लगायतका उपस्थित साहित्यकारहरुद्वारा देशभक्तिपूर्ण कविताहरु वाचन गरिएका थिए भने नेदरल्यान्डसबाट नेपाली साहित्यिक प्रकाशित गर्नुहुने अग्रज कवि श्री कृष्ण बहादुर बिष्टलाई उहाको साहित्यिक योगदानको कदरस्वरुप सम्मान गरिएको थियो।

गैर-आवासीय नेपाली संघ नेदरल्यान्डसका आइसिसी सदस्य श्री फणिन्द्र पन्त, नेपाली जनसंपर्क समितिका निवर्तमान अध्यक्ष तथा युवा समाजसेवी श्री ठाकुर प्रसाद शर्मा, गैर-आवासीय नेपाली संघ नेदरल्यान्डसका महिला संयोजक तथा प्रतिनिधिहरु श्री सावित्री रिजाल र लक्ष्मीदेवी गैरे, गुरुङ समाज नेदरल्यान्डसका प्रतिनिधि श्री राजकुमार गुरुङ, नागरिक समाजका तर्फबाट श्री उमेश नेवार लगायतका ब्यक्तित्वहरुको समेत उपस्थिति रहेको उक्त साहित्यिक कार्यक्रममा नेपाल सरकारको प्रतिनिधिको रुपमा रहनु आदिकवि भानुभक्त आचार्यको द्वी-शतवार्षिकी मूल समारोह समितिका सदस्य तथा भानुभक्त आचार्य द्वी-शतवार्षिकी समारोह समिति नेदरल्यान्डसका अध्यक्ष श्री पुष्प बरुवालको सभापतित्वमा सम्पन्न उक्तमा कार्यक्रमको उदघोषण अनेकस (इनास) युरोपका सदस्य एवं आदिकवि भानुभक्त आचार्य द्वी शत-वार्षिकी समारोह समिति नेदरल्यान्डसका सदस्य सचिव श्री चन्द्र सम्सेर केसीले गर्नुभएको थियो।





Comments

comments

100