यसरी सम्पन्न भयो तमु धिं नेपालको ल्होछारै आशिमला

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १० पुस। प्र ल्हो आगमनको अवसरमा तमु धिं नेपालको ल्होछार सप्ताहव्यापी कार्यक्रम अन्र्तगत शुक्रवार ल्होछारै आशिमला शुभकामना आदानप्रदान र नेपालको संविधानको विवेचना कार्यक्रम सम्पन्न गरेको छ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा सहभागीहरुले ल्होछारको शुभकामना(आशिमला) आदानप्रदान गरेका थिए भने विगतदेखि विभेदमा पारिएका समुदायको विरोधको बाबजुद जारी गरिएको नेपालको संविधानमा तमु लगायत आदिवासी जनजातिका अधिकारको बारेमा विवेचना कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा तमु धिं नेपालका सल्लाहकार एवं वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले नेपालको संविधान—एक चर्चा कार्यपत्र प्रस्तुत गर्नुहुदै देशभर भएका आन्दोलनरत पक्षका मागहरु न्यायोचित रुपमा सम्बोधन गरी संविधान संशोधनको अर्को विकल्प नरहेको बताउनुभयो । नामांकन सिमांकन सहितको प्रदेश तोकिनुपर्ने, राज्यको सबै अंगामा समानुपातिक समावेशी सिद्धान्तको आधारमा मधेशी, थारु, आदिवासी जनजाति, मुस्लिम लगायतलाई समावेश गरिने गरी संविधान संशोधन, प्रदेशमा आत्मनिर्णयको अधिकार, विशेष अग्राधिकारसहितको प्रदेश लगायतका मागहरु गरी भइरहेको आन्दोलनलाई प्रमुख राजनीतिक दलहरुले सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने उहाँको सुझाव थियो।

जारी गरिएको संविधानको पुस्तक जनताले हेर्न समेत नपाइरहेको र संविधान जारी पश्चात मुलुकमा संकट बढ्दै गइरहेको अवस्थामा तमु समाजका अगुवाहरुलाई संविधानका अन्र्तवस्तुका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता गुरुङले मुलुकलाई अग्रगमनतर्फ लैजान र संविभान कार्यान्वयनका लागि संविधान संशोधन गर्न सुझाव दिनुभएको हो।

तमु धिं नेपालका कार्यसमिति सदस्य, प्रचार विभाग प्रमुख एवं तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले बहुसंख्यक जनताको विरोधको बावजुद जवरजस्त जारी गरिएको संविधान तमु लगायत आदिवासी जनजातिको पहिचान, अधिकारका विरुद्ध भएका बताउनुभयो। देशैभर भईरहेका आन्दोलनको मागलाई सम्बोधन गर्ने गरी तत्काल संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुहुदै संविधानका असहमति, तमु लगायत आदिवासी जनजातिलाई अपमान र विभेद गरेका धारा उपधाराहरुको व्याख्या गर्नुभएको थियो।

घान्द्रुक समाजका सुवेदार इमानबहादुर गुरुङले नेपालको संविधान तमु लगायत आदिवासी जनजातिको अधिकार विहीन भएकाले तमुवान, पहिचान र अधिकार प्राप्तिका लागि तमुहरु एक जुट हुनुपर्नेमा जोड दिनुभयो।

सोंपाल तमु समाजका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले संविधानका अन्तरवस्तुका बारेमा समाज समाजमा छलफल कार्यक्रम जरुरी रहेको बताउनुहुदै अधिकार, तमुवान प्राप्तिका लागि राजनीतिक पार्टी भन्दा तमुहरु माथि उठ्नुपर्ने बताउनुभयो।

तमु धिं नेपालका वरिष्ठ सल्लाहकार सन्तबहादुर तमुले ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै संविधान पनि पढ्न नपाउने अवस्था तमु समाजका अगुवाहरुलाई संविधानको यथार्थका बारेमा जानकारी एवं सचेत गराउन कार्यक्रम आयोजित गरेको बताउनुभयो।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले तमु समुदायको अधिकार, पहिचान र तमुवानका लागि तमु धिं नेपाल विगतदेखि नै जुटिरहेको बताउनुहुदै आउदो दिनमा पनि अधिकारका लागि सबै तमुहरु एक हुनुपर्नेमा जोड दिनुभयो।

तमु धिं नेपालकी सहसचिव अधिवक्ता जुनाकुमारी गुरुङले संविधान विगतदेखि विभेदमा पारिएको महसुस गरेका जनतालाई थप विभेद गराउने प्रवृतिको रहेको बताउनुभयो । सरकारले भनिरहेको छ, जनताले संविधान नपढेर हो सबै अधिकार दिएका छौं, तर संविधान अध्ययन गर्ने अवसर जनताले पाउने भए संविधान धेरै जल्ने अवस्था रहेको बताउनुभयो।

तमु धिं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिमाली समाज खड्गबहादुर गुरुङ, पार्दी समाजका चेतनप्रकास गुरुङ, लक्ष्मण गुरुङ लगायतले जिज्ञासा राख्नु भएको थियो । प्रथम उपाधयक्ष कर्णेल रामकाजी गुरुङको संयोजकत्वमा भएको कार्यक्रमको संचलान सहसचिव अधिवक्ता जुनाकुमारी गुरुङले गर्नुभएको कार्यक्रममा सदस्य हुमबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका सहभागीहरुले कार्यक्रम अति नै उपयोगी बनेको बताएका थिए भने एकापसमा प्र ल्होछारको शुभकामना आदानप्रदान गरेका थिए। उक्त अवसरमा तमु धिं नेपालका कार्यसमिति सदस्य इञ्जिनियर देउकाजी गुरुंग हालै सेकोनको अध्यक्षमा निर्वाचित हुनुभएकोमा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले खादा लगाएर बधाई एवं सम्मान गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

10186