क्याप्टेनलाई छाडेर निर्मातालाई रोजेपछि …

नायिका झरना थापाका बानी र स्वभावबारे पति सुनील – दानी छिन्, घर अगााडि जोगीको लाइन हुन्छ नेपाली चलचित्र उद्योगमा झरना थापा भद्र र शालीन अभिनेत्रीका रूपमा चिनिन्छिन्। अधिकांश नायिकाहरू विभिन्न ‘स्क्यान्डल’मा मुछिए पनि उनका बारेमा गसिप कमै बने । १७ वर्षकै उमेरमा निर्माता सुनीलकुमार थापासँग बिहे गरेपछि झरना सिने क्षेत्रमा प्रवेश गरिन्। पति सुनीलसँग नयाँ पत्रिकाका खगेन्द्र पन्तले गरेका कुराकानी:


१. तपाईंहरूको प्रेम विवाह कि मागी ?

प्रेम विवाह हो।

२. तपाईहरू दुईजनाको पहिलो भेट कहिले भयो ?
म बागबजार गइरहन्थेँ । सिनेमा बनाउने भनेर हिरोइन पनि हेर्दै थिएँ । गाडीमा नम्बरप्लेट लेख्न एउटा चिनेकै दाइको पसलमा गएको थिएँ । झरना त्यही बाटो हिँडिरहेकी थिइन् । मैले ‘यो केटी सिनेमा खेल्लिन् त’ भनेर जिस्केरै सोधेँ । पसले दाइले चिनेको रहेछ, ‘डान्स राम्रो गर्छिन्, म सोधिदिऊँ त’ भने । त्यसपछि भेट हुन थाल्यो।

३. कसरी हुन्थ्यो भेट ?
हरेक दिन बागबजार जान्थेँ । तितौरा पसलको छेउमा बस्यो, तितौरा खायो । झरना साथीहरूसँग आउँथिन्, उनीहरूलाई पनि खुवायो।

४. प्रेमप्रस्ताव कसले पहिला राख्यो ?

रमाइलो कथा छ । एकपल्ट विराटनगरमा थिएँ । त्यहीँबाट झरनालाई फोन गरेँ । उनले ‘तपार्इंलाई मेरो साथीले मन पराउँछिन्’ भनिन् । मैले ‘कहाँ त्यस्तो हुन्छ, मैले तिमीलाई पो मन पराउँछु’ भनें।

५. के भन्नुभयो त ?
के भन्नु नि, फ्याट्ट फोन राखिन्।

६. यो कुरा तपार्इंलाई मन पराउने केटीलाई थाहा थियो कि थिएन ?

थाहा पाइन् । झरनाले पछि भनेअनुसार तिनले कलेजमा बदाम खाँदा पनि ‘यो सुनीलको भाग’ भनेर एक भाग राखेर खान्थिन् रे । तर, झरना र म नजिकिन थालिसकेका थियौँ । पछि–पछि त दुईजना मात्रै घुम्ने गर्न थाल्यौँ । कलेज छुट्टी हुने वेला बागबजार गयो, गाडीमा राख्यो घुम्यो । साँझ चार–पाँच बजेतिर घर पुर्‍याइदिन्थें।

७. डेटिङका लागि कुन–कुन ठाउँ रोजाइमा पर्थे ?

अहिलेजस्तो धेरै ‘डेटिङ स्पट’हरू थिएनन् । भक्तपुरमा एकजना चिनेको दाइको गार्गी रेस्टुरेन्ट थियो । प्राय: त्यहीँ जान्थ्यौँ।

८. विवाह कसरी गर्नुभयो ?
विवाहको पनि रमाइलै कथा छ । मेरो भाइले बिहे गरिसकेको थियो । मलाई पनि दबाब आइरहेको थियो । उनको घरमा भने मानेका थिएनन् । जबकि, दुवैको घरमा हामी एक–अर्कालाई मन पराउँछौँ भन्ने थाहा थियो । म माग्न पनि गएँ । ‘हुन्छ’ भने । तर, भित्रभित्र एकजना क्याप्टेनसँग बिहे गरिदिने कुरा चलाउनुभएको रहेछ।

झरनाले यो कुरा मलाई बताएपछि ०५२ सालको असार २५ गते भगाएर गुह्वेश्वरी मन्दिरमा लगेँ र बिहे गरेँ । मेरा घरका सदस्य र साथीहरू सबै आएका थिए । बिहे गरेर सीधै घर ल्याएँ । दुलही घर भित्र्याउँदा ढोकामा आमाले मलाई ‘यति सानी बालखलाई बिहे गरेर ल्याएछस्’ भनेर भन्नुभयो । त्यतिवेला झरना १७ वर्षकी थिइन्।

९. अनि, ससुरालीमा पनि स्विकारे ?

तीन महिनापछि होजस्तो लाग्छ । झरनाले ‘आमाको न्यास्रो लाग्यो, भेट्छु’ भनिन् । उनलाई छाड्न गएको थिएँ । म भित्र गइनँ, बाहिर गाडीमै थिएँ । पछि ‘आउनैपर्छ’ भनेर बोलाएपछि गएँ।





Comments

comments

Leave a Reply

10193