आहा ! रारा गोल्ड कपको तयारी पुरा, विजेतालाई ५ लाख

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, ३ माघ। मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता आहा ! रारा गोल्ड कपको १४ औं संस्करणको तयारी पुरा भएको छ । सहारा क्लवको आयोजनामा यही माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगितामा तीन विदेशीसहित १२ टिमको सहभागिता रहने क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । आचार्यका अनुसार प्रतियोगितामा भारतको ईन्डियन आर्मी गोर्खा ब्रिगेट टिम, भारतकै अर्को टिम युनाईटेड सिक्किम एफ.सी. र बंगलादेशको रहमदगञ्ज एम. एफ सोसाईटी सहभागि हुने भएका छन्।

त्यसै गरी रुस्लान थ्रीस्टार क्लव, लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्गदी क्लव, नवजन जागृति युवा क्लव, सिमरा, त्रिभुवन आर्मी क्लव, नेपाल पुलीस क्लव, सशस्त्रको एपीएफ क्लव, रमझप झापा ११, सहारा क्लव पोखरा र जावलाखेल युथ क्लवले प्रतियोगितामा सहभागि हुने भएको क्लवले जनाएको छ । माघ ५ गते मंगलबारको उद्घाटन खेलमा आयोजक सहारा क्लव बिरुद्ध नवजन जागृति युवा क्लव, सिमरा बिच खेल हुने भएको छ।

पुरस्कारको राशिमा बृद्धि
प्रतियोगिताको पुरस्कार राशिमा समेत यस बर्ष बृद्धि गरिएको क्लवका महासचिव केशवराज बरालले बताए । उनका अनुसार विजेतालाई ५ लाख एक हजार एक रुपैया, उपविजेतालाई २ लाख ५१ हजार एक रुपैया साथा ट्रफि मेडल प्रमाण पत्र वितरण गरीने भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नेपाल जेनरल मार्केर्टिङ प्रालिबाट प्रायोजित एक थान ड्यास हिरो स्कुटर प्रदान गरीने भएको छ । प्रतियोगिताको उत्कृष्ट पाँच विधा वेष्ट किप्पर, वेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट स्ट्राईकर, बेष्ट कोचलाई जनहि १५ हजारको दरले पुरस्कार प्रदान गरिने भएको छ। त्यसै गरी सर्वाधिक गोलकर्तालाई भने २५ हजार, अनुसासित टिमलाई भने १५ हजार प्रदान गरीने भएको छ । अघिल्लो बर्ष उक्त प्रतियोगिताको विजेता टोलीले ३ लाख ५१ हजार, उपविजेताले २ लाख १ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेका थिए।

एक करोडको कारोवार गर्ने तयारी

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउनको मुख्य प्रायोजन रहेको आहा ! रारा गोल्ड कपको १४ औं संष्करणमा एक करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ। प्रतियोगितामा ७९ हजार ६२ हजार ३ सय खर्च हुने र २० लाख २९ हजार ७ सय बचत हुने भएको सहारा क्लवका अध्यक्ष आचार्यले बताए । उनका अनुसार बचत रकम क्लवद्धारा संचालित सहारा एकेडेमीमा रहेका कठिन परिस्थिति एवं विपन्न वर्गका १६ जिल्लाका २६ जना बालकको भरणपोषण र शिक्षामा खर्च गरिने प्रतियोगिताका संयोजक केशव बहादुर थापाले जनाए।

यस बर्ष पनि म्याच मनि
क्लवले यस बर्ष पनि सहभागी प्रत्येक क्लबलाई एक खेल खेले बापत अतिरिक्त प्रोत्साहन रकम दिने भएको छ । प्रि–क्वाटर विजेता टिमलाई १५ हजार, पराजित टिमलाई १० हजार, हजार), क्वाटर फाईनल विजेता टिमलाई २० हजार, पराजित टिमलाइ.१५ हजार, सेमि फाईनल विजेता र पराजित टिमलाई प्रोत्साहन स्वरुप २५÷२५ हजार उपलब्ध गराईने भएको कोषाध्यक्ष विश्वराज बरालले बताए । मुख्य प्रायोजक हिमश्री फुडस प्रा.लि.को उत्पादन रारा तथा अन्य विभिन्न चाउचाउ एक लाख रुपैयाँ बराबरको चाउचाउ निःशुल्क गेट टिकटमा वितरण गरिने भएको छ।

भाग्यशाली दर्शकलाई एक तोला सुनको सिक्री
प्रतियोगिताको फाइनल खेलमा टिकट काट्ने दर्शक मध्येबाट एक जनालाई गोलाप्रथा गरी सहारा हङकङबाट १ तोलाको सिक्का, सिजी ग्रुपले एलजी टिभी प्रदान गर्नेछ । प्रतियोगिता अवधिमा प्रत्येक दिन गोलाप्रथाद्धारा एक जना दर्शकलाई माइक्रो म्याक्स मोवाइल प्रदान गरिने भएको छ । उक्त प्रतियोगिताको ११ दिन खेल अवलोकनको लागि सिजनल टिकट एक हजार, प्रि–क्वाटरका ४ खेलहरुमा ५०, क्वाटरफाईनलका ४ खेलमा र तथा सेमिफाईनलका दुई खेलमा एक सयको दरले प्रबेस शुल्कः रहेको छ भने फाईनल खेलको लागि एक सय ५० रुपैया रहेको छ।

हङकङबाट सहयोग
पोखरा बाटुलेचौर स्थायी घर भई हाल हङकङमा बसोवास गर्दै आएका वलेनी चलचित्रका निर्माता समेत रहेका देव बहादुर गुरुङले क्लवललाई प्रदान गरिएको ५२ हजार रुपैया हस्तान्तरण गरिएको छ । उक्त अवसरमा क्लवका अध्यक्ष विरभद्र आचार्यलाई उक्त रकम ल्याउन सहजीकरण गर्नु हुने रेडियो अन्न्पुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले हस्तान्तरण गरेका हुन्।

मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका अध्यक्ष एवं उद्योगपति सुर्यबहादुर केसीले सहारा क्लवले अनवरत रुपमा आहा रारा गोल्ड कप गर्दै आएकोले आफुहरुले उनीहरुले गरेको कार्य मुख्याङकन गरीकन मुख्य प्रायोजनलाई पनि साथ दिदै आएको बताए । मुलुकमा हाल भएको विसम परिस्थितीमा पनि हुन लागेको उक्त प्रतियोगितालाई सवैको साथ र सहयोग आवश्यक भएको उनले बताए । मुलुकमा उर्जा संकट र उद्यमीहरुको बृद्धि विकासको लागि सरकारले विकासे योजना ल्याउनु पर्नेमा उनको जोड थियो।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले प्रतियोगितालाई सफल बनाउन आफुहरुले गत बर्ष भन्दा यस बर्ष दुई गुणा बढी सहयोग गर्नै वचन दिएका छन । उनले भने “ पोखरा र पश्चिमाञ्चल क्षेत्र यति वेला सहारा तथा आहा रारा गोल्ड कप मय भएको छ, सहारा एकेडेमीको सहयोगार्थ आयोजना हुने उक्त प्रतियोगिताको साथै एकेडेमीलाई सरकारी तवरबाटै सयहोग हुनु पर्दछ त्यसमा हामीले के गर्न सक्छौं लाग्नेछौं ।” क्लवका अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक केशवबहादुर थापा, महासचिव केशवराज बराल लगायतले बोलेका थिए । उक्त अवसरमा पुर्व खेलाडी तथा प्रशिक्षक प्रदिप हुमागाईलाई सहारा एकेडेमीमा निशुल्कः प्रशिक्षण गराएको भन्दै प्रमाण पत्र सहित माला लगाएर सम्मान गरीएको थियो । कार्यक्रममा स्वयम सेवक सहित कार्यक्रममा सहभागिहरुलाई प्रायोजक याट्सको टोपी प्रदान गरिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

10625