मानिस हुन् कि मूर्ति ?
जन्मिँदा सुन्दर थिए, हुर्कंदै जाँदा कुरूप हुन थाले । न उनको टाउकोमा रौँ छ न शरीरमा छाला । झट्ट हेर्दा कलाकारले रंग भरेको चित्रजस्तो देखिने । अलि नियालेर हेर्दा मूर्तिझैँ लाग्ने । कतै–कतै आगोले जलेकोजस्तो देखिने । बाग्लुङ भीमगिठे–५ का ११ वर्षीय रमेश दर्जीलाई देख्ने जोकोही आश्चर्यमा पर्छन् भने छोराको यो अवस्था देखेर बाबुआमा चिन्तित छन्।

६ वर्ष पुगेपछि घस्रिनसमेत छाडे
बाग्लुङ भीमगिठे–५ का बाबु नन्दबहादुर र आमा नरकुमारी दर्जीको कोखबाट २०६१ मा जन्मिएका हुन् रमेश । सुरुमा उनी आफैँ हिँड्थे । चार वर्षको हुँदा केही दिन स्कुल पनि गए । तर, उमेर बढ्दै जाँदा न उनी स्कुल जान्छन् न वरपर हिँड्डुल नै गर्न सक्छन् । ‘६ वर्ष भएदेखि घस्रिन पनि छाड्यो,’ आमा नरकुमारीले भनिन्, ‘अहिले बोकेरै दिसा–पिसाब, भित्र–बाहिर गराउँदै आएका छौँ ।’ तर, छेउमा लगिदिए उनी आफैँ खाना खान सक्छन्।

शरीरमा छाला र टाउकोमा रौँ छैन
शरीरमा छाला र टाउकोमा रौँ नभएका रमेश सहारा लिएर मात्र हिँड्डुल गर्छन् । दर्जी परिवारले रमेशको उपचारका लागि गाउँमा धामीझाँक्रीदेखि डाक्टरलाई समेत देखाइसकेको छ । तर, कसैले पनि निको पार्न सकेनन् । आर्थिक अवस्था कमजोर भएको दर्जी परिवार छोराको उपचारका लागि आर्थिक सहयोगको पर्खाइमा छ।

छोरा ठीक भएको हेर्न मन छ : आमा
धेरै पैसा लाग्ने भएपछि दर्जी परिवारले उनको उपचार गर्न सकेको छैन । आमा नरकुमारी भन्छिन्, ‘छोरा राम्रो होस् भन्ने चाहना छ, सम्झिँदा मन भक्कानिन्छ, तर ५–७ लाख रुपैयाँ हाम्रा लागि आकाशको फल भयो ।’ अब छोराको दुर्गति हेरेर रुनुबाहेक आफूहरूसँग केही विकल्प नभएको उनले बताइन्।

छाला फेर्न डाक्टरको सुझाब
रमेशको शरीरमा छाला नभएकाले शल्यक्रिया गरी छाला हाल्न चिकित्सकले दर्जी परिवारलाई सुझाब दिएका छन् । तर, कमजोर आर्थिक अवस्थाका कारण रमेशको उपचार गर्न परिवारले सकिरहेको छैन । ‘बाग्लुङ र बुटवलमा दुई–दुईपटक उपचारमा लग्यौँ, ऋण गरेको ५० हजारभन्दा बढी सकियो,’ बाबु नन्दबहादुरले भने, ‘डाक्टरले छालासम्बन्धी रोग हो, अप्रेसन गरी छाला फेर्नुपर्ने र त्यसका लागि ५–६ लाख लाग्ने बताएपछि भगवान् भरोसा भनेर फर्कियौँ ।’

बाबुमा पनि अपांगता
रमेशका बाबु नन्दबहादुरमा पनि शारीरिक अपांगता छ । सामान्य हिँड्डुल गर्न सके पनि गाह्रो र मिहिनेत पर्ने काम गर्न सक्दैनन् । उनका चार छोरा छन् । रमेश माइला छोरा हुन् । जेठा छोरा सन्दीप कक्षा ६, साइँलो छोरा प्रदीप कक्षा १ मा र कान्छो छोरा दुई वर्षका छन् । रमेशबाहेक अन्य सबै सन्तान राम्रा छन् । दर्जी परिवार सुकुम्वासी जीवन बिताउँदै आएको छ । १२ वर्षअघि आफ्नै सानो सुर्कोमा बस्दै आएका उनीहरू अहिले सुकुम्वासी बस्तीमा छन्।


नयाँ पत्रिका दैनिकबाट





















Comments

comments