पूर्वयुवराज पारस शाह फेसबुकमा रमाउंदै

थाइल्यान्डमा बस्दै आएका पूर्वयुवराज पारस पछिल्ला केही दिनमा फेसबुकमा निकै समय बिताउन थालेका छन्। स्टाटस अपडेट गर्ने, फोटो–भिडियो अपलोड गर्ने मात्र नभएर कमेन्टहरूको जवाफ दिनसमेत पछि परेका छैनन्। शनिबार एकै दिन उनले २७ वटा पोस्ट गरेका थिए।

फाइल फोटो
पारस शाहको नाममा रहेको उनको एकाउन्टमा झन्डै चार हजार साथीहरू छन्। थुप्रैले कमेन्टमा उनलाई सरकार भनेर सम्बोधन गरेको देखिन्छ। प्राय: कमेन्टहरूमा पारसलाई नेपाल आउन र देश सेवामा लाग्न आग्रह गरिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। कमेन्टको जवाफ दिँदै पारसले अर्को महिना नेपाल आउने उल्लेख गरेका छन्।

पारसको वालमा शिशिर तिवारी लेख्छन्, ‘सरकार मेरो अन्तिम श्वास रहुन्जेल मौसुफको सेवक बनी हरदम साथमा रहनेछु। स्वयंलाई एक्लो नसम्झिबक्सियोस्। नेपाली जनता राजपरिवारको साथमा छन्।’

रोशन बास्तोलाले लेखेका छन्, ‘मानिस जन्मले भन्दा आफ्नो कर्मले परिणाम भोग्छ। जीवन सत्मार्गमा अघि बढाएमा मात्र सार्थक हुन्छ। आफूले बिराएको छैन भने डराउनुपर्दैन। तर, आफ्नो चाकरी गर्नेहरूको घेराबाट माथि उठेर रचनात्मक मार्गदर्शन गर्ने आफ्नो परिवार, अभिभावक र निर्धक्क स्वार्थरहित सल्लाह दिने शुभचिन्तकलाई पहिचान गरी जीवनलाई ऊर्जा दिन सकेमात्र जीवनको सौन्दर्य प्राप्त हुन्छ। देशविदेशका शूरा र सुन्दरीभन्दा पुर्खाको विरासतलाई आत्मसात् गरी नेपाल र नेपालीको श्रीप्राप्तिमा बाँकी जीवन सार्थक हुन सकोस्।’

पारसले गल्फ खेलिरहेका थुप्रै तस्बिर अपलोड गरेका छन्। दुब्ला भए पनि उनी ह्याट र कालो चस्मामा कुल देखिन्छन्। यस्तै २०० किलोमिटरको रफ्तारमा गाडी हाँकेको भिडियो पोस्ट गर्दै उनले लेखेका छन्, ‘दुईपटक हर्टअट्याक भएपछि रफ्तार घटाएको हुँ। नत्र तीन सय किलोमिटरभन्दा माथि हुन्थ्यो।’

एउटा तस्बिरमा पारसले आफ्नो ढाडमा रहेको ट्याटु प्रदर्शन गरेका छन्, जसमा क्रस खुकुरी अंकित गरिएको छ। उक्त फोटोलाई क्याप्सन दिएका छन्, ‘यो मन त मेरो नेपाली हो।’

पारसले आफ्नो प्रोफाइलमा भगवान् शिवको आकृति राखेका छन्। सबैभन्दा पछिल्लो पोस्टमा उनले सुरतको एक्का र सुरतको गुलामको तासको फोटो राख्दै लेखेका छन्, ‘म त यस्तो भएँ।’





Comments

comments

1103