यसरी भएको थियो काष्ठमण्डप एयरको विमान दुर्घटना…

चिलखायाँ, (कालिकोट)- चिलखायाँ–२ का सप्तऋषि उपाध्याय एकाएक झस्किए। उनी हत्तपत्त घरबाहिर निस्किए। बडेमानको जहाज उनकै घरनजिकै आइपुग्यो। त्यहाँबाट फनक्कै मोडिएर गाउँ घुम्न थाल्यो। दुई दिनअघि मात्र म्याग्दीमा जहाज दुर्घटनाको समाचार सुनेका उनको होसहवासै उड्यो। हेर्दाहेर्दै जहाजले गाउँ दुई फन्को लगायो, अनि जोरले बजारियो।

‘घुम्दाघुम्दै घरनजिकै दाउराको चाङमा पंखा ठोक्कियो, अनि हुत्तिँदै मेरै खेतमा बजारियो,’ उपाध्यायले भने, ‘धन्न, पाइलटले घर जोगाएछन्।’ काष्ठमण्डप एयरको उक्त जहाज जोरले बतासिँदा स्वाँ..गरे पनि त्यो जहाज चालू रहेको आवाज थिएन। हुत्तिँदै आएको जहाजको पंखासमेत नघुमेको बताउँदै उनले भने, ‘एक्कासि खेतमा बजारिँदा दगुर्दै म र लालबहादुर खत्री घटनास्थलमा सबैभन्दा पहिले पुग्यौं।’

दुर्घटनालगत्तै घटनास्थल पुगेर उद्धार गरेको बताउँदै लालबहादुर खत्रीले भने, ‘जहाजमा इन्जिन चलेजस्तो आवाज थिएन, बतासिँदा स्वाँ…गरेको मात्र सुनिन्थ्यो, पंखा पनि चलेको थिएन, हुत्तिएर खेतमै बजारियो।’ दगुर्दै घटनास्थल गएर भित्र रहेका घाइतेलाई निकालेको उनले बताए। ‘चार जनालाई निकालेपछि गाउँका अन्य पनि आएर सबैलाई उद्धार गर्यौंर,’ उनले भने।

समयमै उद्धार टोली आइदिएको भए चालक दिनेश न्यौपानेलाई बचाउन सकिने अवस्था रहेको उनले बताए। घटनाको एक घन्टासम्म पनि चालक न्यौपाने उद्धार पर्खाइमा रहेको उद्धृत गर्दै उनले भने, ‘जहाज आएर बचाउँछ भन्दाभन्दै उनी बेहोस भए।’ न्यौपानेलाई जहाजबाट बाहिर निकालेपछि पानी पिलाएको खत्रीले बताए। नागरिक दैनिकमा खबर छ। ‘उहाँ ‘इन्जिन बन्द भयो, हामी बचाउने मुडमै थियौं तर सकेनौं’ भन्दै हुनुहुन्थ्यो,’ खत्रीले सम्भि्कए, ‘आफ्नो ज्यान दाउमा रहे पनि यात्रुलाई जोगाउन सकेकोमा खुसी हुनुहुन्थ्यो। तर, दुखाइ बढ्दै गएछ क्यारे, आत्तिन थाल्नुभो। जहाज पर्खंदापर्खंदै एक घन्टापछि मृत्यु भयो।’

सहचालक भने जमिनमुनि धस्सिएको अवस्थामा भेटिएका थिए। स्थानीयले सब्बलको सहायताले उनको शव निकालेका थिए।

अगाडिको इन्जिनमा धुवाँ आएको बताउँदै खत्रीले भने, ‘पंखा दाउराको चाङमा ठोक्किँदा दुई जना झ्याल फोडेर हाम फालेका थिए।’ उनीहरू जुम्ला, चन्दननाथ–५ का मेघराज गिरी र जगदम्बा खत्री हुन्। गिरी र खत्री सामान्य घाइते छन्।

पाइलटले आफ्नो ज्यानको परबाह नगरी मेहनतपूर्वक यात्रुलाई बचाएको बताउँदै जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रमुख किसनसिंह बडुवालले भने, ‘पंखाले दाउराको चाङ र बिरुवामा धक्का दिएर खेतको आलीमा ठोक्किएको रहेछ।’ घाइतेहरू लामो समयसम्म हेलिकप्टर आएर उद्धार गर्ने आसमा बसेको उनले बताए।

दुर्घटनालगत्तै स्थानीय स्वास्थ्यचौकीका अहेव कमल शाहीलगायतको स्थानीय टोलीले घाइतेको प्रारम्भिक उपचार गरेको थियो। ‘हेलिकोप्टर आउँदै छ भनेर घाइतेलाई नआत्तिन बारम्बार सम्झाउँदै थियौं,’ अहेव शाहीले भने।

शुक्रबार दिउँसो १ बजे दुर्घटनामा परेको काष्ठमण्डप एयरको ९एनएजेबी विमान चालक दलका दुई सदस्यको घटनास्थलमै मृत्यु भएको हो। घटनाको दुई घन्टापछि साढे ३ बजेतिर श्री एयरको विमान आएर घाइतेको उद्धार गरेको थियो।





Comments

comments

Leave a Reply

11328