नेपाली संगीतमा ‘आरोही’

ऋषिराम कट्टेल/ / एचकेनेपाल डट कम –
नेपाली सांगीतिक क्षेत्रमा ‘आरोही’अल्बम मार्फत नयाँ गायिकाको आगमन भएको छ। विगत १६ वर्षदेखि हङकङमा बस्दै आउनु भएकी सुनिता प्रधान लिम्बूको पहिलो एकल अल्बम ‘आरोही’श्रोता माझ आएको छ। पत्रकार तथा गीतकार अनुशीलसँगको सहकार्यमा एक वर्ष लगाएर तयार गरिएको ‘आरोही’अल्बममा ६ गीत समेटिएका छन्।


राजधानीको सीटी म्युजियममा ७ भदौमा आयोजित एक समारोहमा अल्बमको नेपाली गायिकाहरु ज्ञानु राणा, कुन्ति मोक्तान, संगीता राना प्रधान, सुक्मीत गुरुङ, सुनिता सुब्बा, लोचन भट्टराई र मनिला सोताङ सोताङले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो। लोकार्पणपछि बोल्दै बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठले ‘आरोही’ अल्बममा रहेका ६ वटै गीतहरु फरक शैलीको संगीत रहेको बताउँदै गीतकार अनुशील र गायिका सुनिताको कामको प्रशंसा गर्नु भएको थियो। उहाँले भन्नुभयो “संगीत र स्वर भन्दापनि राम्रो शब्दले गीतलाई शक्तिशाली बनाउँने हो यो अल्बममा राम्रो शब्दसँगै स्वर र संगीतको तालमेल मिलेको पाए। ”

अल्बमको समिक्षा गर्दै गायिका लोचन भट्टराईले सुनिताको स्वरमा आफूले नयाँपन पाएको बताउनुभयो। एक वर्षअघि संगम स्टुडियोमा रेकर्डिङ भईरहेको बेला स्वर सुन्दै आफूलाई आकर्षित गरेको उहाँले बताउनुभयो। अनुशीलको शब्द रचना एकदमै उत्कृष्ट रहेको बताउँदै उहाँले भन्नुभयो “पछिल्लो समयमा आएका गीतहरुमा शब्द, संगीत र स्वरमा त्यति ध्यान दिएको पाइनदैन तर यो अल्बममा सबै कुरामा मिहीनेत गरिएको पाए।” संगीतकार राजु सिंहले ‘आरोही’ अल्बमबाट नेपाली संगीत जगतले एउटा राम्रो गीतकार र राम्रो स्वर भएकी गायिका पाएको बताउँनुभयो। उहाँले गायिका सुनिताले शब्द उच्चारणमा ध्यान दिन सुझाव दिनुभएको थियो। मन्दिरा ढुङगेलले सञ्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ गीतकार, संगीतकारहरु रत्न शम्सेर थापा, रामेश, दिपक जंगम, शुभ बहादुर, बसन्त थापा, शिला बहादुर मोक्तान, बुलु मुकारुङ, उदय सोताङ, आनन्द अधिकारी, राजेशपायल राई आदिको उपस्थिति रहेको थियो।

‘आरोही’मा राजु सिंह, सचिन सिंह, आलोकश्री, हरि लम्साल, कल्याण सिंह, कमल खत्रीसहित ६ जना संगीतकारहरूको संगीत सिर्जना रहेको छ। यस अल्बममा फूलमा खोजें तिमीलाई…, आमा…, शहरभरि…, जतिसुकै लुकाउमाया…, हावा जस्तो हलुङ्गो मन…,मतलब छैन…बोलका पप, आधुनिक, लोक–आधुनिक गीत छन्। अल्बमलाई सान्ताना रेकर्डले श्रोता माझ ल्याएको हो ‘आरोही’बाट आशावादी सानैदेखि गीत गाउँदै आएपनि हङकङमा हुने नेपाली सांगीतिक गतिविधिमा सक्रिय रहँदै आउनु भएकी सुनिता र गीतकार अनुशील पहिलो एकल अल्बम ‘आरोही’बाट आशावादी हुनुहुन्छ।

ताप्लेजुङका ज्ञान लिम्बूसँग वैवाहिक जीवनमा बाँधिएपछि पछिल्लो समय सुनिता नेपालमै रहेर सांगीतिक क्षेत्रमा सक्रिय हुने तयारीमा हुनुहुन्छ। परदेशमा रहँदा पनि नेपाली गीत–संगीतमा सक्रिय उहाँले हङकङमै संगीतकार दिनेश सुब्बासँग ५ वर्ष संगीत सिक्नुभएको थियो। अहिले नेपालमा शास्त्रीय संगीतकी गुरुआमा तथा गायिका संगीता प्रधान रानालाई गुरुआमा बनाएर संगीत सिकिरहनुभएको छ। हङकङमै रहँदा तिमी साथ हुँदा.., फूल हुँ म वनको…, लाएको माया लगायतका आधादर्जन भन्दा बढी गीत गाई सक्नुभएको थियो। अनुशीलको रचना र दिनेश सुब्बाको संगीतमा उहाँको गीत तिमी साथ हुँदा… हङकङका नेपाली कलाकारहरूको सामूहिक अल्बम ‘भ्वाइस अफ हङकङ’मा समेटिएको छ। सुनिता भन्नुहुन्छ,“केही फुटकर गीत गाए पनि आफ्नो प्रतिभा प्रस्फुटन गर्न र सांगीतिक पहिचानका लागि एकल अल्बम लिएर आएकी छु।”

विगत १९ वर्षदेखि पत्रकारितामा सक्रिय हाल हिमाल खबरपत्रिकाका समाचार संयोजक रहनुभएका डम्बरकृष्ण श्रेष्ठले साहित्यिक नाम अनुशीलबाट गीत–रचनागर्न थालेको डेढ दशक भइसकेको छ। ‘आरोही’ अनुशीलका शब्द रचनामा पहिलो एकल अल्बम हो। गायक राजेशपायल राईको अल्बम कामना (२०६०)मा ‘को रुँदैन होला…’ र गायिका मौसमी गुरुङको अल्बम महसूस (२०६९)मा ‘नयाँ मौसम छ नयाँ बिहान…’लगायत उहाँका एक दर्जन गीत विभिन्न गायक÷गायिकाको स्वरमा रेकर्ड भएको छ। फरक शैलीको संगीत र नयाँ सुमधुर स्वर रहेकाले ‘आरोही’का ६ वटै सिर्जनाबाट अनुशील आशावादी हुनुहुन्छ। भन्नुहुन्छ, “सबै संगीतकार र हामीदुई जनाले राम्रो गर्ने सक्दो प्रयत्न गरेका छौं। आशा छ, नेपाली संगीतका श्रोता र सर्जकहरूले मन पराउनु अल्बममा रहेको राजु सिंहको संगीतको ‘फूलमा खोजें तिमीलाई…’ र कमल खत्रीद्वारा संगीतबद्ध ‘मतलब छैन यो दुनियाँको…’ बोलको गीत फुर्वा शेर्पा र नमित चन्दको निर्देशनमा म्युजिक भिडियो समेत बनिसकेको छ।

तस्बीरहरुः बिक्रम राई र दिपेशराज थारू





Comments

comments

1142