अपराध दुनियाँमा युवती

नारी माया, स्नेह, करुणा र कोमलताकी प्रतीक मानिन्छन् । पुरुषको दााजोमा प्राकृतिक रूपमा पनि महिला बढी संवेदनशील हुने गर्छन् । तर, पछिल्लो समय नेपाली समाजमा यस्ता क्रूर र निर्भीक महिला पनि भेटिन थालेका छन्, जो अपराधको दुनियाँमा कुख्यात भइरहेका छन् ।
पछिल्लो समय हाम्रो समाजमा भेटिएका केही अपवाद नारी जसले आफ्नो स्वार्थका लागि जस्तोसुकै अपराध र छलछाम गर्न पनि पछि नपरेको देखिन्छ । नारीदेखि पग्लिने मनहरूलाई यी अपवादले सजग बनाउने प्रयास भने पक्कै गरेका छन्।

बाबुको कन्ट्रयाक्ट किलिङ गर्ने छोरी
दुई वर्षअघि एमाले नेता सरदुल मियाँ हकको आफ्नै छोरी र श्रीमतीले नै भाडाका अपराधी प्रयोग गरी हत्या भएको खुल्यो । नूर जहाँ खातुन र १९ वर्षीया छोरी रुबेदा खातुमले उनको हत्या गराएका थिए । रुबेदाको भारतीय नागरिक मोहम्मद शेखसँगको विवाहलाई अस्वीकार गर्दा उक्त हत्या भएको थियो।

त्यस्तै प्रकृतिको अर्काे घटना हालै राजधानीमा भयो । २० वर्षीया युवतीले हालै राजधानीमा आफ्नै बाबुको हत्या गरेकी छिन् । गत २० माघमा टोखाकी संगीता पाण्डे (महर्जन)ले माइतीको सम्पत्ति हात पार्न भाडाका अपराधी प्रयोग गरी बुबाको हत्या गरिन् । प्रहरीले पक्राउ गरेपछि बयानमा निर्धक्क भनेकी छिन्, ‘बुबा मारेकोमा मलाई कुनै पश्चात्ताप छैन ।’ उपत्यकामा महिलाबाट भएको यो निकै क्रूर घटना भएको प्रहरी अधिकारी बताउँछन् । माइतीको सम्पत्तिका लागि उनले बुबाको हत्या गरेकी हुन्।

संगीताले दुई वर्षअघि नुवाकोट सुन्दरादेवीका सन्तोष पाण्डेसँग परिवारको सहमतिविनै प्रेमविवाह गरेकी थिइन् । तर, माइतीसँग दाइजोस्वरूप पैसा माग्दै आएकी थिइन् । पटक–पटक माग्दा पनि पैसा नपाएपछि उनले माइतीका आमा, बुबा र दाजुको हत्या गरी सम्पत्ति हात पार्न खोजेको डिएसपी दीपक रेग्मीले बताए । टोखाको धमलटारस्थित माइतीको चार आना जग्गा र घर हात पार्न उनले हत्या योजना बनाएकी थिइन् ।
माइतीबाट पैसा नपाएपछि संगीताले माइतबाट बुबा माइला महर्जनको जग्गाको लालपुर्जासमेत चोरेर लगिन् । तर, धितो राखेर पैसा निकाल्न सकिनन् । प्रहरीका अनुसार ब्युटिपार्लर खोल्न उनले बुबासँग पैसा माग्दै आएकी थिइन् । जग्गा बेचेर पैसा दिने आश्वासन बुबाको थियो । तर, पछिल्लो समय ‘भागेर गएकी छोरीलाई जग्गा दिन्नँ, छोरालाई चाहिन्छ’ भन्ने जवाफ बाबुले दिएपछि उनले हत्याको योजना बनाएकी हुन् ।
टोखाको साङलेखोलानजिकै बगरमा २१ माघमा ४३ वर्षीय माइला महर्जनको शव भेटिएको थियो । रिसइबीमा उनको हत्या भएको हुनसक्ने आँकलनसहित प्रहरीले अनुसन्धान थाल्यो । तर, संगीताले चिनजानका विक्रम लामालाई २० लाख रुपैयाँ दिने सर्तमा बुबा, आमा र दाइको हत्याको ‘सुपारी’ दिएको खुलेपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी नै चकित भए । उनले सोही दिन आमा र दाइको पनि हत्याको योजना बनाएकी थिइन् । तर, बुबाको हत्यापछि हत्यामा संलग्न दुई युवक डराएर भागेपछि अरूको हत्या असफल भएको थियो । प्रहरीले संगीता, उनका श्रीमान् सन्तोष र हत्याको जिम्मा लिने विक्रम लामालाई मंगलबार पक्राउ गरिसकेको छ । हत्यामा विक्रमलाई सहयोग गर्ने सूर्य रानामगर, धनकुमार तामाङ, हरि तामाङ र सन्तोष थापामगरलाई पनि पक्राउ गरी प्रहरीले हिरासतमा राखी मुद्दा प्रक्रिया अघि बढाएको छ।

समाजले पचाउनै नसक्ने छोरीको नाममा कलंक संगीता पाण्डे महर्जन जसले २० लाखको सुपारी दिएर आफ्नै बाबुको हत्या गरे। बाबुको हत्या पछि आमा र दाजुको पनि हत्या गर्ने योजना भने सफल हुन सकेन। भिडियो रिपोर्ट….

Posted by HKNepal.com on Friday, 26 February 2016

नक्कली डाक्टर सुहानाको करामत
डा. सुहाना केसी अर्थात् गुल्मीकी भगवती केसी पनि निकै चर्चामा रहिन् । कारण उनको ठगी गर्ने नयाँ तरिका । आफू डाक्टर भएको परिचय दिँदै उनले एक दर्जन युवालाई ठगी गरिन् । महानगरीय अपराध महाशाखाले उनलाई गत २० पुसमा पक्राउ गर्‍यो । अदालतले उनलाई ५० हजार धरौटीमा छाडिदिएको छ।

आफूलाई डा. सुहाना केसीका रूपमा परिचय दिई चिकित्सक तथा धनाढ्यसँग नजिकिएर उनले ठगी गरेकी हुन् । दुई वर्षदेखि ठगी धन्दामा लागेकी भगवतीले सुरुमा पोखरालाई आधार बनाएर ठगी गरिन् । पोखराको फेवा अस्पतालमा केही समय उनले चिकित्सककै रूपमा कामसमेत गरेको खुलेको छ । स्थानीय सञ्चारमाध्यमले उनको वास्तविकताबारे समाचार छापेपछि उनी पोखराबाट भागेर काठमाडौं आएर ठगी गर्न थालेकी हुन्।

काठमाडौं आएपछि उनले विभिन्न अस्पतालका चिकित्सक र धनाढ्यसँग सम्पर्क बढाएर ठगी गर्न थालेकी थिइन् । काठमाडौंमा उनका ठगीका अनेक उजुरी परे । कफी पसलमा कफी पिएको पैसा नतिरेकोदेखि दसैँका वेला घरमा बसेर मस्ती गरेर ठगेकोसम्मका उजुरी छन् । उनले दरबारमार्गको एक पसलमा कपडा किनेर पछि पैसा तिर्ने भन्दै ठगेकी थिइन्।

धेरैसँग उनले प्रेमको नाटक गरी लामो समयसम्म नियमित रूपमा ठगी गर्ने गरेको पनि पाइएको छ । एक युवकलाई प्रेमी बनाएर दिल्ली पुर्‍याएर बन्धक बनाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।

आफूलाई डा. सुहाना केसीका रूपमा परिचय दिई चिकित्सक तथा धनाढ्यलाई आफ्नो सिकार बनाउने गरेको पाइएको छ।

ठगीका लागि अनेक उपाय लगाउने गरेकी उनले आफ्नो नाम पनि अनेक बताउने गरेकी थिइन् । आफूलाई डा. सुहाना, अदीति, सृष्टि केसीजस्ता नामले चिनाउँदै आएकी केसीको स्थायी घर भने गुल्मीको हस्तिचौर हो । २३ वर्षीया केसीले प्लस टुसम्मको अध्ययन गरेको प्रहरीले जनाएको छ ।
अनेक नामजस्तै उनका साथबाट प्रहरीले मोबाइल फोनका ११ वटा सिमकार्ड पनि बरामद गरेको थियो । उनले आफूलाई चिकित्सकका रूपमा मात्र नभएर डिआइजी सनत केसीकी छोरीका नाममा समेत परिचित गराएर ठग्ने गरेकी थिइन् । प्रहरीका अनुसार त्यो क्रम काठमाडौंभन्दा बढी पोखरामा थियो।

होटेल पान्डामा गई बसेर पैसा तिर्ने वेला आफ्नो बुबा डिआइजी भएको भन्दै एक व्यक्तिलाई डिआइजी बनाएर फोन गर्न लगाएकी थिइन् । त्यस्तै गण्डकी दोहोरी साँझका एक कलाकारको आइप्याड लिएर भागेकी थिइन्।

ठगीका लागि सुरुमा उनले सामाजिक सञ्जाल फेसबुक र भाइबरको सहायता लिने गरेको पाइएको छ । सुरुमा फेसबुक तथा भाइबरमार्फत चिनजान गर्ने र बिस्तारै नजिकिएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । ठगी गरेर कमाउनेभन्दा पनि मोजमस्ती गर्ने उद्देश्यले उनले यस्तो धन्दा गरेकी थिइन् । एक युवकले प्रेममा धोका दिएपछि आफूले यसरी ठगी गर्न थालेको उनले बयान दिएकी थिइन् । अदालतले मागेको ५० हजार धरौटीसमेत तिर्न नसक्दा उनी केही दिन जेलसमेत बस्नुपरेको थियो।

इन्स्पेक्टरलाई ठग्ने सिर्जना
तीन सातादेखि एक यस्ती महिला प्रहरी हिरासतमा छिन् जसले नेपाल प्रहरीकै इन्स्पेक्टरसँग प्रेमको नाटक गरेर ४० लाख रुपैयाँ ठगी गरिन् । दोलखाकी सिर्जना घिमिरेले बिहे गर्ने भन्दै पटक–पटक पैसा लिएर ठगेकी हुन् । पछि बिहे नगर्ने भन्दै नेपाल प्रहरीका इन्स्पेक्टर लोकनाथ लामिछानेलाई उनले बर्बाद बनाइन्।

इन्स्पेक्टर लामिछाने नेपाल प्रहरीको अस्पतालमा कार्यरत प्रहरी हुन् भने घिमिरे नर्स हुन् । एउटै फिल्डमा भएकाले उनीहरूको आफन्तमार्फत चिनजान भयो । घिमिरेले आफू अविवाहित भएको भन्दै लामिछानेलाई प्रेमप्रस्ताव राखिन् । लामिछानेको पनि श्रीमतीसँग डिभोर्स भइसकेकाले उनमा दोस्रो बिहेको चाहना थियो।

बिहे गर्ने र सँगै घर बनाएर बस्ने भन्दै घिमिरेले पटक–पटक गरी लामिछानेसँग ४० लाख रुपैयाँ लिएकी थिइन् । लामिछानेले बिहेको कुरा गर्दा उनले टार्दै गइन् । पछि बिहे नगर्ने र पैसा पनि फिर्ता नदिने बताएपछि लामिछानेले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । घिमिरेलाई तीन साताअघि पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको परिसरका डिएसपी दिनेश आचार्यले बताए । सिर्जना दुई सन्तानकी आमा हुन् । उनका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको खुलेको छ।

पाँच तोला गहनाका लागि तीन महिनाको प्रेम
तीन महिनादेखि सँगै बसेकी प्रेमिकाले गहनाका लागि बिहेको नाटक गर्लिन् भनेर कसले अनुमान गर्न सक्ला र ? स्याङ्जा घर भई गैँडाकाट बस्ने ३५ वर्षीय जयदेव पौडेल त्यस्तै एक ठग प्रेमिकाको फन्दामा परे । बिहेको दिन मेकअप गर्न भनेर हिँडेकी प्रेमिका पाँच तोला गहना लिएर फरार भइदिइन्।

गत शनिबार पौडेल बिहेका लागि स्याङ्जाबाट जन्ती लिएर चितवन आएका थिए । प्रेमिकासँगै उनी नारायणघाट पुल्चोकको फिसटेल होटेलमा बसे।

बिहेको दिन बिहान होटेलमा उनी दाह्री काटेर कपडा लगाउन थाले । प्रेमिका पनि नयाँ सारी र गहना लगाएर सजिन थालिन् । एकैछिन ब्युटिपार्लरबाट मेकअप गरेर फर्कने भन्दै होटेलबाट निस्किएकी प्रेमिका अहिलेसम्म बेपत्ता छिन् । मोबाइल अफ गरेर उनी फरार भइन् । गहनाकै लागि उनले त्यसरी प्रेमको नाटक गरेकी थिइन्।

गोरखा घर बताउने २२ वर्षीया सुषमा लामिछानेसँग उनको गँैडाकोटमा रहेको आफ्नै पौडेल खाजा घरमा भेटेका थिए । त्यही खाजाघरमा सुषमासँग उनको करिब तीन महिनाअघि चिनजान भएको हो । चिनजान पछि प्रेम सम्बन्धमा बदलियो र दुबैले विहे गर्ने निर्णय गरे । पौडेलले पहिली श्रीमतीसँग डिभोर्स भएकाले दोस्रो बिहे गर्न खोजेका थिए।

बिहे गर्ने निर्णय गरेपछि करिब १५ दिनपहिले दुवैजना पौडेलको स्याङ्जास्थित घरमा पुगे । घरको आर्थिक अवस्था कमजोर देखेपछि उनले कानमा लगाएको टपसमेत बेचेर पौडेललाई सहयोग गरिन् । यसबाट उनी प्रेमिकासँग झन् प्रभावित भए । तर, त्यो सबै नाटक मात्र थियो।

युवतीले आफ्ना बुबाआमा बितिसकेको र नारायणघाटस्थित मामाले बिहे गराइदिने बताइन् । मामा धनी व्यक्ति भएकाले देखाउनका लागि मात्र भए पनि केही गहना चाहिने बताउँदै गहना किन्न लगाइन् । पौडेलले पनि केही किने भने केही आफन्तसँग लिएर गहना सुषमालाई दिएका थिए । तर, त्यही गहनाका लागि तीन महिनासम्म उनले नाटक गरेकी थिइन् । युवतीको नक्कली प्रेममा पौडेलको करिब तीन लाख गुमेको छ । उनले प्रहरीमा उजुरी दिएका छन्, तर युवतीको केही पत्तो लागेको छैन।

अन्डरवल्र्ड समूहका दुई युवती
पूर्वको ताप्लेजुङलगायत जिल्लामा केही वर्षयता एउटा भूमिगत समूहको आतंक थियो । हाङहाङ समूहले ताप्लेजुङमा अन्डरवल्र्डको शैलीमा धम्क्याएर लुट्ने आतंक मच्चाउँदै आएको थियो।

देउमान लिम्बू नेतृत्वको यो समूहमा पुरुष मात्र होइन, दुई महिलासमेत थिए । मनकुमारी चोङबाङ र दुर्गा लिम्बू हतियारसहित हिँड्ने गर्थे । प्रहरीले लामो प्रयासपछि मनकुमारीलाई गत २९ असोज र दुर्गालाई ९ मंसिरमा पक्राउ गर्‍यो । मनकुमारी ताप्लेजुङको दुर्गम गाउँ इखाबुस्थित एक चौँरीगोठबाट पक्राउ परिन् भने दुर्गालाई प्रहरीले धरानबाट पक्राउ गरेको थियो।

चारवटा बन्दुक, दुईवटा पेस्तोल तथा विभिन्न विस्फोटक पदार्थसहित मनकुमारी पक्राउ परेकी थिइन् । सो समूहले ताप्लेजुङलगायत जिल्लामा मान्छे मार्ने, बम विस्फोट गराउने, अलैँची किसानको पैसा लुट्ने, धम्क्याएर पैसा असुल्नेजस्ता गतिविधि गर्दै आएको थियो । प्रहरीले पक्राउ गर्न जाँदा प्रहरीलाई नै आक्रमण गरी उनीहरू भाग्ने गरेका छन् । गत १७ कात्तिकमा प्रहरीसँग सो समूहको दोहोरो भिडन्त भएको थियो ।
जसमा उक्त समूहका समीर लिम्बूको मृत्यु भयो । त्यसपछि विकट गाउँमा बस्ने र त्यहीँबाट उनीहरूले अन्डरवल्र्ड धन्दा चलाउँदै आएका थिए । मनकुमारी र दुर्गा त्यही समूहका सदस्य थिए । हाल दुवैजना जेलमा छन्।

नयाँपत्रिकाबाट नवराज मैनाली





Comments

comments

Leave a Reply

11435