एनआरएनए भवन निर्माणका लागि अमेरिकाबाट पौने ४ करोड संकलन

एचकेनेपाल डट कम संवाददाता-
न्यूयोर्क । गैरआवासीय नेपाली संघको काठमाडौंमा कार्यालय भवन बनाउन अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले पौने ४ करोड रुपैयाँ संकलन गरेका छन्।

एनआरएन अमेरिकाको अग्रसरतामा बिभिन्न सातवटा शहरमा भएका अर्थ संकलन कार्यक्रममा गैरआवासीय नेपालीहरुले स्वतस्फूर्त सहयोग रकम घोषणा गरेका हुन्। गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अर्थ संकलन अभियानको नेतृत्व गर्दै करिव १५ दिनदेखि सो क्षेत्रका बिभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ।

पछिल्लोपटक अगष्ट २४ तारिखमा न्यूयोर्कमा आयोजित कार्यक्रममा सवैभन्दा धेरै करिव २ लाख ११ हजार डलर अर्थात दुई करोड ११ लाख रुपैयाँ संकलन भएको छ। अमेरिकामा नेपालीहरुको एउटै कार्यक्रमबाट यति ठूलो रकम संकलन भएको सम्भवतः यो नै पहिलोपटक हो।

यसअघि सियाटलमा भएको पहिलो कार्यक्रममा २१ हजार, क्यालिफोर्नियामा २९ हजार, बोष्टनमा १५ हजार, सिकागो १० हजार ५ सय, टेक्सास १७ हजार र वासिङटन डीसीमा ७० हजार डलर संकलन भएको थियो। यी सवै कार्यक्रममा गरि कुल ३ लाख ७३ हजार अमेरिकी डलर अर्थात् करिव ३ करोड ६३ लाख रुपैयाँ जम्मा भएको एनआरएन अमेरिकाका संचार संयोजक कृष्ण केसीले जानकारी दिए।

अमेरिकाबासी नेपालीको ऐतिहासिक साथबाट उत्साहित बनेका एनआरएन अध्यक्ष शेष घेलेले २५ हजार अमेरिकी डलर सहयोग घोषणा गरेका छन्।

१५ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय भवनको शिलन्यास एनआरएन डे अर्थात अक्टुवर ११ तारिखमा गर्ने लक्ष्य राखिएको छ।

अष्ट्रेलियामा यस्तै प्रकृतिको रकम संकलन अभियानमार्फत् करिव २ करोड रुपैयाँ संकलन गरिएको छ भने क्यानडा, हङकङ, मकाउ, चीन, थाइल्याण्ड, जापान लगायतका देशहरुमा पनि रकम संकलन अभियानलाई तीब्रता दिइएको छ।

‘अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले यो अभियानमार्फत् आफ्नो क्षमता र शक्तिको परिचय दिनुभएको छ’ अध्यक्ष घलेले भने-‘एकजुट भएर काम गर्‍यौ भने जति कठिन काम पनि फत्ते गर्न सकिन्छ उदाहरण हो यो।’

अमेरिकाबासी एनआरएनको यही सामुहिक शक्ति नै आफ्नो उर्जा भएको भन्दै घलेले भने-‘यही बिश्वासका साथ म एक डलर नै भए पनि धेरैभन्दा धेरै एनआरएनको अपनत्व हुने गरी भवन बनाउँछु भनेर लागेको थिएँ, मेरो आत्मबिश्वास अझ बढेर गएको छ।’ अमेरिकामा आयोजित सवै कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले उपस्थित भई एनआरएन भवनको आबश्यकता र त्यसका लागि रकम संकलन अभियान संचालन गर्नुपरेको कारणबारे जानकारी गराइएका थिए।

एनआरएनको दिगो बिकाशका लागि आफूले गरेका कामहरुको जानकारी दिँदै नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरणको निर्माण, खुला बिश्वबिद्यालय स्थापना लगायतका मुद्दामा निरन्तर लविङ गरिरहेको जानकारी गराए अमेरिकाबासी नेपालीहरुलाई एनआरएन अभियानमा सहभागी बन्न आह्वान गर्दै अध्यक्ष घलेले यसक्षेत्रमा देखिएको उत्साहले आफूलाई निकै उर्जा मिलेको बताए।

एनआरएनए अमेरिका क्षेत्रीय उपसंयोजक सोनाम लामा र एनआरएनए युएसएका अध्यक्ष खगेन्द्र क्षेत्रीको संयोजनमा आयोजना भएका सवैजसो कार्यक्रममा एनआरएनए आईसीसी सल्लाहकार, एनआरएन अमेरिकाका पदाधिकारी, नेपाल सरकारका प्रतिनिधिहरुको सक्रिय सहभागिता थियो।
रकम संकलन अभियानको नेतृत्व गर्दै क्यानडा र अमेरिका भ्रमणमा रहेका घलेले सो अबसरमा बिभिन्न सामुदायिक कार्यक्रममा सहभागीता जनाए भने एनआरएन अमेरिकाको न्यूयोर्कमा कार्यालय भवन उद्घाटन समेत गरे। साथै वासिङटनमा अमेरिकी सरकारी प्रतिनिधिसँग भेटवार्ता गरे भने क्यालिफोर्निया र क्यानडामा खुला बिश्वबिद्यालयसम्बन्धी अन्तरक्रियामा सहभागी भएका थिए।





Comments

comments

1167