‘बीर बिक्रम’को युके रेड कार्पेट प्रिमियर, दयाहांग राईको क्रेज, हाउस फूल शो (फोटो फिचरसहित)

भूमिराज राई / एचकेनेपाल डट कम –
युवा निर्देशक मिलन चाम्स निर्देशित ‘बीर बिक्रम’ को युके रेडकार्पेट प्रिमियर २ अप्रिल शनिबार अल्डर्सटको प्रिन्सेस हलमा हाउस फूल दर्शकहरुका साथ सम्पन्न भयो।

अहिलेका एक नम्बर चर्चित र लोकप्रिय नायक दयाहांग राईको उपस्थिति रहेको रेड कार्पेटमा नायक राईको क्रेज स्पष्ट देखिन्थ्यो।

अत्यन्तै उत्साहित दर्शकहरुको भिड संयम भएर नायक दयाहांग राई, नायिका दिया पुन, कलाकार रुपा पुन र बिबेक लिम्बु सहित नेपालबाट आउनु भएका चर्चित संचाकर्मी नरेश भट्टराईलगायत निर्माण युनिट सवार लिमोजिन कारको प्रतीक्षा गर्दै प्रिन्सेस हल अगाडि डेढ घण्टा लामो समय कौतुहलतापूर्बक रहेका थिए।

अत्यन्तै ठुलो मात्रामा चलचित्र हेर्ने दर्शकहरु ओईरिएका कारण कार्यक्रम ब्याबस्थापनमा निर्माण युनिट सहित हल ब्याबस्थापन समेत अन्योलमा परेका थिए।

कार्यक्रम आयोजकसंग हल संचालकद्वारा भएको सम्झौताको अनुमानित उपस्थिति भन्दा अत्यन्तै बढि दर्शकहरुको उपस्थितिलाई लिएर निकै असहज स्थिति सिर्जनाको थियो।

भब्य रुपमा रेड कार्पेट सहित साजसज्जा गरेर सिङ्गारिएको प्रिन्सेस हल अगाडि सेतो लिमोजिन रोकिने बित्तिकै कलाकारहरुको प्रतीक्षा गरिरहेका दर्शकहरुको सिटि र हुट्टिङ्गले अल्डर्सट थर्किएको थियो।

लिमोजिनको ढोका खुलेपछि मन्द मुस्कानसहित नायिका दिया पुन र नायक दयाहांग राई बाहिर निस्कँदा ताली र हुटिङ्गले माहोल तातिएको थियो।

रेड कार्पेट दाँयाबाँया उभिएका दर्शकहरुको स्वागत र तालीलाई अभिबादन गर्दै रेड कार्पेटको बाटो हुँदै कलाकारहरु रिसेप्सन हल प्रवेश गरेपछि संचारकर्मी नरेश भट्टराईले कार्यक्रम कलाकार निर्देशक र चलचित्रका बारेमा छोटो प्रकाश पार्दै निर्देशकलाई स्याम्पेन फोरेर खुशी बाँड्न आग्रह गरे पश्चात निर्देशक मिलन चाम्सले स्याम्पेन फोरे।

गोल्ड कार्ड होल्डर दर्शकहरुले कलाकारहरुसंगै स्याम्पेन पिएपछि हल प्रवेशसंगै औपचारिक कार्यक्रममा निर्माण सहयोगी कलाकार र अन्यलाई धन्यबाद सहित मायाको चिनो हस्तान्तरण गरियो। एनआरएन युकेका महासचिब बिजय बिक्रम लिंग्देन, सहित कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

नायक दयाहांग राईसहित कलाकारहरुसंग फोटो खिच्न चाहने दर्शकहरुका भिडका कारण भनेको समयमा कार्यक्रम शुरु हुन नसक्दा कतिपय दर्शकहरु फिल्म तुरुन्त हेर्न पाउनु पर्ने माग गर्दै आफ्नो समय धेरै खर्च भएको गुनासो बढे पछि कति कार्यक्रमलाई क्यान्सल गर्नु परेको र कार्यक्रम छोट्याएर चलचित्र देखाउनु परेको थियो।

चलचित्र शुरु भएपछि अत्यन्तै शान्त भएर दर्शकहरुले एक टकले चलचित्र हेरेका थिए।

चलचित्रको मेकिङ्ग अत्यन्तै दर्शक बाँधेर राख्न सक्ने भएकाले फिल्ममा बिकाश हुने द्वन्द र बिकाश क्रम झन् झन् रोचक हुँदै जाने भएकाले बिना हल्ला चुपचाप चलचित्र भित्र हराएर दर्शकहरुले मध्यान्तर कटाएका थिए।

मध्यान्तरको विश्राममा निर्देशक मिलन चाम्सलाई बधाईको ओईरो नै लागेको थियो भने कलाकारहरु प्रस्तुतिको प्रसंसा मात्रै सुनियो।

‘मैले त आँशु रोक्नै सकिन, अनि रोएँ, क्षण मै हँसाउने अनि रुवाउने कस्तो राम्रो फिलिम रहेछ’, एकजना महिला दर्शक आफ्नो प्रतिक्रिया सुनाउंदै थिइन ।

‘म पनि रोएँ, हा.. हा… हा, आफ्नो आफ्नो साथीसंग यस्तै कुराकानी सुनिन्थ्यो।

‘म आजसम्म कहिले कुनै चलचित्र पुरा समय बसेर हेरेको थिईन पहिलो पटक मैले फिल्म पुरा हुन्जेल बसेर हेरेको फिल्मको रेकर्ड बन्यो ‘बीर बिक्रम’ अर्का सहभागीले आफूलाई फिल्म मनपरेको उदाहरण पेश गरिन्।

‘अत्यन्तै उत्कृष्ठ फिल्म बनेको छ सप्पैले हेर्न पाए राम्रो हुने थियो’ अर्का दर्शकको कुरा सुनियो।

सबैले सकारात्मक प्रतिक्रिया दिएको ‘बीर बिक्रम’ सन् २०१६ को सुपर हिट फिल्महरूको सूचीमा टप भयो भने आश्चर्य नमाने हुन्छ।

चलचित्रले जागरुक र सजग बन्नु पर्ने शिक्षा दिन्छ, सामाजिक कुरीति, अन्ध बिश्वास हटाउनु पर्छ भन्ने सिकाउँ छ, समग्रमा सिंगो समाज अटेको चलचित्र बनेको छ, समग्रमा आफ्नोपन भएको ओर्ग्यानिक चलचित्र हो ‘बीर बिक्रम’!

भब्य रुपमा सफल रेड कार्पेट प्रिमियर शो पछि नायकले आफूलाई संसारकै भाग्यमानी मान्छे हो जस्तो अनुभूति भएको प्रतिक्रिया दिए।

नायक दयाहांग राईले भाबुक हुँदै ‘यत्रो माया सम्मान अनि साथ् पाउँछु भन्ने लागेको थिएन, नेपाल र नेपाली दर्शक दाजुभाइ दिदीबहिनीहरुको यो अगाध माया र स्नेहको ऋणको भारी बोकेको छु, सकेसम्म जानेको कला देखाएर ऋण तिर्नेछु’, भन्ने बाचा गरे।

नायिकाले आफूले अहिलेसम्म यत्रो सहभागिता कार्यक्रममा नदेखेको सुनाउंदै जुन माया र साथ प्राप्त भयो आफूले सोचेको भन्दा कैंयौ गुणा धेरै भएकोप्रति आफू आभारी रहेको सुनाईन्।

निर्देशक मिलन चाम्सको भनाईमा यति बिघ्न माया साथ र सहभागिता पाउनु आफ्नो मात्रै नभई समग्र नेपाली चलचित्र प्रतिको सकारात्मक संदेश भन्दै आफू यो भन्दा धेरै खुशी कहिल्यै नभएको सुनाए।

साढे सात बजे सम्मलाई हल बुक भए पनि दर्शकहरुको फोटो खिच्ने चाहना पुरा गर्न २ घण्टा समय बढाई इच्छुक दर्शकहरुलाई रेड कार्पेट प्रिमियरमा कलाकारहरुसंग फोटो खिच्ने समय उपलब्ध गराईएको थियो।

२/३ घण्टा निरन्तर उभिएर आफ्ना शुभचिन्तकहरुसंग फोटो खिच्नु पर्दा थकाईले लखतरान परेपनि आफ्नो दर्शकहरुको चाहना पुरा गरिदिनुमा बेग्लै सन्तुष्टि आउने बताउंदै थाकेका नायक दयाहांग राईले आफ्नो लोकप्रियताप्रति खुशी ब्यक्त गरे।

समग्रमा रेड कार्पेट प्रिमियर हाउस फुल हिट, ‘बीर बिक्रम’ सबै दर्शकहरुलाई सुपर हिट फिल्म लाग्यो, डाईरेक्टर मिलन चाम्सलाई अर्को चलचित्र निर्माणको लागि लगानी कर्ताहरुको ग्रिन सिग्नल मिल्यो!

‘बीर बिक्रम’ सफलै सफल ! हार्दिक बधाई !

तस्वीरहरुः राम राई र भूमिराज राई। थप तस्वीर हेर्न यहाँ क्लिक गर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

11870