मन्त्री नै राजतन्त्र फर्काउने अभियानमा

काठमाडौं। संघीय मामिला, स्थानीय विकास सहायकमन्त्री विराज विष्ट नेपालको संविधान २०७२ विपरीत आयोजित कार्यक्रममा सहभागी भएका छन्।

शाही युवाशक्ति नेपाल नामक संस्थाले शनिबार नारायणहिटी दरबार सरसफाइ गरी राजसंस्था पुनस्र्थापित गर्ने अभियानअन्तर्गत आयोजित कार्यक्रममा मन्त्री विष्ट सहभागी भएका हुन्।

राजतन्त्र पुनर्बहालीको माग गर्दै शाही युवा शक्तिको ‘नारायणहिटी राजदरबार सरसफाइ अभियान २०७३’ लेखिएको ब्यानरअगाडि झाडु बोकेका युवाबीच मन्त्री विष्ट देखिएका छन्। नयाँ संविधानमा राजतन्त्र उल्लेख छैन।

नारायणहिटी दरबारभित्र गणतन्त्रवादीले गरेको फोहोर फालेर राजतन्त्र पुनर्बहाली गर्न आयोजित सरसफाइ कार्यक्रममा मन्त्री विष्ट सहभागी भएको शाही युवाशक्ति नेपालका अध्यक्ष पशुपति खड्काले बताए। ‘नारायणहिटी राजदरबार गणतन्त्रवादीले फोहोर गरेका थिए,’ खड्काले भने, ‘१० वर्षदेखि थुप्रिएको गणतन्त्रवादीको फोहोर सफा गरेर चाँडोभन्दा चाँडो पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी भित्र्याउने तयारीस्वरूप सरसफाइ कार्यक्रम आयोजना गरेका थियौँ। त्यसमा संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्ट सहभागी हुनुहुन्थ्यो।’

मन्त्री विष्टले आफू राजतन्त्र पुनर्स्थापित हुनुपर्छ भन्ने पक्षमा रहेको बताए। सोही कारण आफू राजतन्त्र पुनस्र्थापना अभियानमा सहभागी भएको बताएका थिए। ‘जनताहरू राजतन्त्र पुनस्र्थापित हुनुपर्छ भन्ने पक्षमा छन् । तसर्थ, राजतन्त्र निश्चित रूपमा पुनस्र्थापित हुन्छ,’ मन्त्री विष्टले व्यक्त गरेको धारणा उल्लेख गर्दै अध्यक्ष खड्काले भने, ‘मेरो इच्छा पनि राजतन्त्र पुनस्र्थापित होस् भन्ने रहेकाले कार्यक्रममा उपस्थित भएको हुँ । तपाइहरूको अभियानलाई साथ दिन तयार छु।’ मन्त्री विष्ट यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन नचाहेको खबर नयाँपत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

12055