अल्ट्रा धावक मिरा राईलाई बेलायतमा सम्मान गरिने

रोशन मेवाहाङ / एचकेनेपाल डट कम–
लण्डन। म्याराथन सिरिजमा उत्कृष्ट स्थान लिन सक्ने सम्भावना बोकेकी मिरा राईलाई बेलायतमा सम्मान गरिने भएको छ।

बेलायतबासी सम्पूर्ण नेपाली समुदायबाट हौसला साथै प्रोत्साहन दिन केन्ट फोक्स्टनस्थित हार्रभी ग्रामर स्कुलमा मे १ तारिखका दिन दिउँसो ठिक १ बजे सम्मान कार्यक्रम तय गरिएको जानकारी नेपाली युवा समूह बेलायतका अध्यक्ष रिचर्ड गुरुङले बताए।

भोजपुर सानोदुम्मा गाविसका अल्ट्रा धावक मिरा राई दोश्रो सन्तानको रुपमा यस धर्तिमा उदाएकी हुन्। आफ्नो देश नेपाललाई परिवर्तन गर्ने मनोकांक्षा राख्दै बाल्यावस्थामै एमाओवादीमा प्रवेश गरेकी थिईन्। १२ बर्षको कलिलो उमेरमै नयाँ नेपालको सपना बुनेकी मिरा सेना समायोजनमा अयोग्य घोषित भएपछि उनलाई शिविरबाट निष्कासित गरिएको थियो।

समाज बदल्न एमाओवादीमा लागेकी मिराको सपना टुटेपछि आफनो जन्मघर फर्कन समेत मिरालाई मन लागेन। शिविरमा रहदा उनले केही कौशलको ज्ञान प्राप्त गरेकी हुनाले त्यहि क्षेत्रमा अघि बढ्ने उनको चाहना थियो।

विडम्बना ,उनको आर्थिक परिस्थिति अतिनै नाजुक रहेकोले त्यो सम्भव हुन सकेन। आफ्नो देश निर्माणमा प्रगाढ मनोबल बोकेकी मिरा लज्जास्पदको पात्रा बन्दै मजदुरीको लागि विदेशतिर लाग्ने अन्तिम निर्णयसम्म लिनु परेको थियो।

अयोग्य घोषितको चोटले भौतारिदै हिडिरहेकी मिराको भेट बालाजु कराते डो प्रतिष्ठान,नेपालका प्रमुख प्रशिक्षक धुर्बविक्रम मल्लसंग हुन पुग्यो। मुटुको क्षमता, ढुकढुकीले पहिचान गरे जस्तै मल्लले मिराको अल्ट्रा धावक पहिचान छर्लङ्ग देखेका थिए।

उत्प्रेरक धुर्बले निजि स्रोतबाट तालिम गराउन सुरु गरेको केही महिनामै मिराले पहिलो पटक नेपालमै म्याराथनको उपाधि चुमेकी थिईन्। एउटा भनाइ छ नि, “पिरले मानिसलाई बाच्न सिकाउछ , ऋणले कमाउन सिकाउंछ, दुश्मनले जित्न सिकाउंछ ,अभाबले लडन सिकाउछ” भने झै मिराले नेपाल सरकारको ढुकुटीबाट एक रुपयाँ पनि खर्च नलिईकन विश्वमा नेपाल भनेर चिनाउदै चन्द्र र सूर्य अंकित झन्डा फर्रफराई रहेकी छन्।

एसियामा रेकर्डसहित प्रथम हुदै इटालीमा ५७ र ८० किलोमिटरमा प्रथम र (मोन्ट–ब्लान्क) फ्रान्समा रेकर्ड सहित ८० किलोमिटरको अल्ट्रा म्याराथनमा च्याम्पियनको उपाधि चुम्दै स्पेनमा भएको ११० किलोमिटरमा तिन पटक सम्मको विश्व बिजेतालाई पछि पार्दै बरियतामा बिश्व उपविजेता बन्न सफल भएपछि उनको चर्चा एक्कासी चुलिएको हो।

वर्ल्ड सिरिज २०१६ मा दोस्रो भएकी मिराले नेपालमा ६ र विदेशमा ८ दौड जितिसकेकी छन्। आगमी अप्रिल ३० तारिख बेलायतमा हुन गहिरहेको सलोमन दौडमा प्रतिस्पर्धा गर्ने छिन्। प्रतिस्पर्धा सके पश्चात हार्रभी ग्रामर स्कुलमा सम्मान कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रमका आयोजकहरु सगरमाथा तेक्वान्दो डोजाङ,नेपाली युवा समूह बेलायत , किराँत राई यायोक्खा,जेन मार्सल आर्ट र भोजपुर समाज रहेका छन्।

मिराको निरन्तरतालाई दिगो राख्नको लागि विशेष सम्मान कार्यक्रम साथै आर्थिक सहयोग गर्ने भावनाले उक्त कार्यक्रम आयोजना गरिएको हो। सो कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनका लागि बेलायतबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा, सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष मास्टर राष्ट्र राई र नेपाली युवा समूह बेलायतका अध्यक्ष रिचर्ड गुरुङले हार्दिक अनुरोध गरेका छन्।

यसैगरी सम्मानकै शिलशिलामा दोश्रो गोर्खा रेजिमेन्टले मे २ तारिख रेजिमेन्टको विशिष्ट आदर र पल्टनको परम्परा अनुसार धावक मिरालाई स्वागत साथै विशेष सम्मान गरिने छ।

दयनीय अवस्थाबाट संघर्ष गर्दै नेपाली र नेपाल राष्ट्रकालागि उल्लेखनिय भूमिका निर्भाह निभाउदै राष्ट्र र राष्ट्रिय पहिचान विश्वसामु अंकित गरिरहेकी मिरालाई आगमी अल्ट्रा सिरीजहरुको प्रतिस्पर्धामा आई पर्ने आर्थिक विपतीलाई केहीहदसम्म निवारण गर्न सकियोस् भन्ने हेतुले दोश्रो बटालियनका सैनिकहरुलगायत लेडिज कम्युनिटीबाट आर्थिक संकलनको अभ्यास भईरहेको उक्त बटालियनका गोर्खा मेजर प्रेमबहादुर गुरुङले बताए।

मिरा राई हङकङमा आएको बेला लिएको अन्तर्वार्ता भिडियो हेर्नुहोस्। (यो सम्पादन नगरिएको भिडियो हो)





Comments

comments

Leave a Reply

12116