फेसबुकबाट २३ युवती ठग्ने जीवन जेल चलान

फेसबुकबाट चिनजान गरी प्रेमको नाटक गरी ठगी गर्ने जीवन तामाङ भन्ने मनबहादुर तामाङ जेल चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतले तामाङलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनले २३ युवतीलाई बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए । आकस्मिक रूपमा पैसा आवश्यक परेको नाटक गरेर पैसा लिई उनी बेपत्ता हुने गरेका थिए । उनले युवतीहरूबाट करिब एक करोड रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रवीन्द्र रेग्मीले बताए।

तामाङ पहिलेदेखि नै नामुद ठग

पक्राउ परेका तामाङले पहिला अमेरिकन आर्मीसँग अफगानिस्तानमा बसेर काम गरेका थिए । सोही आधारमा आफ्नो ठूलो पहुँच भएको भन्दै ठगी गरेका थिए । तर, उनी पहिलेदेखि नै नामुद ठग भएको प्रहरी अधिकारीहरू बताउँछन् । दुई वर्षअघि युवाहरूलाई अफगानिस्तान पठाउने भन्दै ठगी गरेको मुद्दामा परी छुटेका थिए । ठगी गर्दा पनि अदालतले सफाइ दिएपछि उनी झन्् हौसिएर चलाखीपूवर्क तरिकाले ठगी गर्न थालेका थिए । अरूको नाममा पैसा पठाउन लगाएर ठग्दा अदालतमा आफूविरुद्धको मुद्दा कमजोर हुने भएकाले प्रमाण नछाडी उनले ठग्ने गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। पोखराकी एक महिलासँग साढे सात लाख रुपैयाँसम्म ठगी गरेका थिए । एक विवाहित महिलासँग प्रेमको नाटक गरी घरसमेत बिक्री गर्न लगाएर उनले पैसा लिएर ठगी गरेका थिए।

तामाङको भव्य घर देख्दा प्रहरी नै चकित
उनी सिफलनजिकै तीनतले घर भाडामा लिएर बस्दै आएका थिए । घरमा एसीसमेत जडान गरेका थिए । महँगा फर्निचरहरूले सजाइएको उनको फ्ल्याट भिआइपीको जस्तो देखेपछि प्रहरी अधिकारीसमेत चकित भएका थिए । प्रहरीले उनकी श्रीमतीलाई पनि पक्राउ गरेको थियो । उनी भने धरौटीमा छुटेकी छिन् । श्रीमतीकै भाइ बनेर उनले जीवन तामाङको नाममा नुवाकोटबाट नागरिकता लिएको र उनको वास्तविक नाम मनबहादुर तामाङ भएको डिएसपी रेग्मीले बताए ।

फरक–फरक नाउामा फेसबुक अकाउन्ट

तामाङले युवतीहरूलाई फरक–फरक नाममा फेसबुक अकाउन्ट खोलेर फ्रेन्ड रिक्वेस्ट पठाउने गरेका थिए । पैसा लिएपछि मोबाइल नम्बर परिवर्तन गरेर उनी बेपत्ता हुने गरेका थिए । फेसबुकमा निर्मल गुरुङ, अमित लामा, विष्णुकुमार तामाङ र जीवनजस्ता नाम राखेका थिए । अमेरिकी आर्मीमा काम गरेको आकर्षक फोटो राखेर उनले युवतीहरूलाई विश्वासमा पार्दथे । अमेरिकी राष्ट्रपति बाराक ओबामासँग ट्रफी लिएको, पूर्वराष्ट्रपति बिल क्लिन्टनसँग हात मिलाएको फोटो राखेर उनले ठगी गरेका थिए।

कुनै युवतीबारे विस्तृत बुझेपछि फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाई उनी चिनेकै मान्छेजसरी कुराकारी गर्दथे । कसैलाई भिसा प्रोसेस तथा कसैलाई आफ्ना आफन्त बिरामी भएको भन्दै सापटका नाममा पैसा माग्दथे । आफ्नो पैसाजति अमेरिकामा रहेको र तत्काल पैसा आउन नसकेको भन्दै सापटका नाममा प्रेमिका तथा प्रेमिकाका परिवारसँग पैसा असुलेका थिए । कतिपय प्रेमिकाका परिवारसँगै उनले चिनजान गरेर ठगी गरेका थिए।





Comments

comments

Leave a Reply

12133