७ करोडको हिसाब नमिल्दा यसरी पक्राउ परे कनकमणि दीक्षित

सार्वजनिक सम्पत्ति दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको, तर पटकपटक सूचित गर्दा पनि अनुपस्थित रहेर अनुसन्धानमा व्यवधान पुर्‍याएकाले पक्राउ गरिएको अख्तियारको दाबी


अख्तियारका मुख्य आरोप
१. साउथ एसिया ट्रस्टका नाममा ११ करोड १२ लाख

नर्वेजियन दूतावास, प्रिन्स क्लाउस फन्ड नेदरल्यान्ड, माउन्टेन्स टु माउन्टेन्स स्विट्जरल्यान्ड, फाउन्डेसन टु प्रमोट ओपेन स्पेसियालिटी युएसए, फाउन्डेसन ओपेन सोसाइटी इन्स्टिच्युट स्विट्जरल्यान्ड र इन्टरनेसनल इन्स्टिच्युट अफ सोसियल हिस्ट्रीलगायतका संघ–संस्था तथा निकायबाट विभिन्न मितिमा ११ करोड १२ लाख ४९ हजार चार सय ३५ रुपैयाँ साउथ एसिया ट्रस्टका नाममा लिएको, तर खर्च अपारदर्शी गरेको अख्तियार स्रोतको दाबी छ।

२. आम्दानी पाँच करोड, खर्च १२ करोड

अख्तियारको छानबिनअनुसार कनकमणि र श्रीमती शान्ताले विभिन्न संस्था तथा निकायबाट तलब, भत्ता, लाभांश र सुविधाबापत पाँच करोड आम्दानी गरेको, तर १२ करोडभन्दा बढी खर्च गरेको देखिन्छ । सात करोड कहाँबाट आयो भन्ने जवाफ भेटिएको छैन।

३. गुठीको १० रोपनी जग्गा आठ लाखमा खरिद

काठमाडौं मठ श्री बानेश्वर महादेव गुठीको नाममा लामाटार गाविस–७ मा रहेको जग्गामध्ये १० रोपनी दुई आना ४ जेठ ०६१ मा कनकमणिकी श्रीमती शान्ता दीक्षित र भाउजू मिलन दीक्षितलाई आठ लाख रुपैयाामा पास गरिदिएकोमा पनि छानबिन भएको छ।

४. सरकारको अनुमतिविना साझाको जग्गा बिक्री

साझा यातायातका नाममा वीरगन्जमा रहेको जग्गा सरकारको अनुमति नलिई हचुवाको भरमा बिक्री गरेको र साझाका १६ वटा बस खरिद गर्दा सार्वजनिक खरिद ऐन पालना नगरेको र सरकारबाट अनुमोदन नगरेको अख्तियार स्रोतको भनाइ छ

दीक्षित भन्छन्, ‘कारबाही पूर्वाग्रही’

आफूलाई पक्रन अख्तियारको टोली निवासमै पुगेपछि साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले पत्रकारलगायतका उच्चपदस्थ व्यक्तिहरूलाई फोन गरेका थिए । गाडीमा चढ्दाचढ्दै उनले भने, ‘राजा ज्ञानेन्द्रको पालामा पनि मलाई यही ठाउंबाट पक्राउ गरिएको थियो, आज पनि यही ठाउंबाट पक्राउ गरिएको छ ।’ उनले कारबाही पूर्वाग्रही भएको बताए । यसैबीच, नेपाल पत्रकार महासंघ हिमाल मिडिया शाखाले पनि वरिष्ठ पत्रकार दीक्षितको गिरफ्तारीको भत्र्सना गरेको खबर नयाँ पत्रिका दैनिकमा सागर पण्डितले लेखेका छन्।

दुई दिन हिरासतमै, आइतबारदेखि बयान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिनमा रहेका साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई शुक्रबार पक्राउ गरेको हो । शनिबार अदालत बन्द हुने हुनाले दीक्षित कम्तीमा दुई दिन हिरासतमै रहनेछन् । अख्तियार स्रोतका अनुसार उनीसँग आइतबारदेखि बयान लिइनेछ । अख्तियारलाई बयान दिन आनाकानी गरे ६ महिनासम्म हिरासतमा राख्न पाउने कानुनी प्रावधान छ ।

दीक्षितको घरमा जब अख्तियार पुग्यो…

अख्तियारको टोली प्रहरीसहित शुक्रबार दिउँसो १ बजे पाटनढोकास्थित दीक्षितको घरमा पुगेको थियो । प्रहरीले पुर्जी दिएपछि उनले आफूमाथि पूर्वाग्रही कारबाही हुन थालेको भन्दै गिरफ्तार हुन अस्वीकार गरेका थिए । तर, अख्तियार टोलीले जसरी पनि पक्राउ गरेर लैजाने भनेपछि उनी आफैँ गाडीमा चढेका थिए ।

पौने दुई बजे दीक्षितलाई नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षण गर्न वीर अस्पताल पुर्‍याइयो । दिनभर अख्तियारको हिरासतमा रहेका उनलाई साँझ महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ । अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले अख्तियारको हिरासत कक्ष भूकम्पका कारण चर्किएकाले दीक्षितलाई सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा राख्न गौशाला पठाइएको बताए ।

दीक्षितको नाममा विदेशको सम्पत्ति

कनकमणिको नाममा स्ट्यान्डर्ड चार्टर्ड बैंक युकेमा ३६ हजार कित्ता र कनकमणि–शान्ताको नाममा एचएसबिसी बैंकमा १ लाख २० हजार कित्ता सेयर

अमेरिकाको चेज बैंकमा दुईवटा खातामा १७ हजार २०८ डलर

श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा एक र अमेरिकाको एपल बैंकमा दुई गरी तीनवटा खातामा ६८ हजार ९२६ डलर र चार हजार १२६ पाउन्ड

कमलमणि दीक्षित, अञ्जु दीक्षित र कनकमणि दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा रहेको खाताबाट भारत दिल्लीस्थित म्याट्रिक्स टिभी प्राइभेट लिमिटेडको नाममा ५० हजार अमेरिकी डलर पठाएको पाइएको । नियमानुसार राष्ट्र बैंकलाई सूचित गर्नुपर्नेमा नगरेको ।

कनकमणि दीक्षित र शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा रहेको २ वटा खातामा २७ हजार ६३९ पाउन्ड

श्रीमती शान्ता दीक्षितको नाममा अमेरिकामा चार लाख ३५ हजार अमेरिकी डलर पर्ने अपार्टमेन्ट १० नोभेम्बर २०१० मा किनेको ।

तर, पटक–पटक बयान लिन बोलाउँदासमेत अटेर गरी अनुसन्धानमा बाधा–व्यवधान पुर्‍याएकाले दीक्षितलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।





Comments

comments

Leave a Reply

12145