गुन्डा नाइकेलाई सरकारी हतियार?

काठमाडौं, महानगरीय प्रहरी परिसर ललितपुरले गुन्डागर्दीमा संलग्न विश्वक्रान्ति सिंहलाई गत २३ चैतमा दुईवटा हतियार डेढ सयभन्दा धेरै गोलीसहित पक्राउ गर्‍यो । हतियार देखाएर तर्साउने गरेको उजुरीका आधारमा उनीमाथि छानबिन गर्दा दुवै हतियार राख्न उनलाई राज्यबाट नै स्वीकृति दिएको खुलेपछि प्रहरी अधिकारी नै चकित भए । नामुद गुन्डा नाइकेलाई राज्यले नै खतरनाक हतियार राख्ने लाइसेन्स दिएको थियो ।

जेलबाट छुटेलगत्तै लाइसेन्स लिएर हतियार खरिद
अवैध हातहतियार देखाएर गुन्डागर्दी तथा अपहरण गरेको आरोपमा हेटौँडाका सिंह २०६४ सालमा जेल परेका थिए । करिब सात महिना जेल बसेर छुटेलगत्तै उनले सरकारबाटै लाइसेन्स लिएर हतियार किनेको अनुसन्धानमा खुलेको छ । सरकारबाट लाइसेन्सप्राप्त त्यही हतियारका आधारमा व्यवसायीलाई धम्क्याएर पैसा असुल्दै आएका सिंह तीन सातादेखि महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छन्।

सिंहको निवासमा सर्टगन र राइफल
गुन्डागर्दीको संगठित गिरोह चलाउने उपत्यकाका गुन्डा नाइकेमध्ये एक हुन् सिंह । उनीको साथबाट अत्याधुनिक दुईवटा हतियार र एक सय ५६ वटा गोली बरामद भएको छ । पिएस ६४४६४ नम्बरको सर्टगन र यान लेखिएको ३७५ बोरको राइफल उनको निवासबाट प्रहरीले बरामद गरेको हो । तर, सरकारले नै उनलाई लाइसेन्स दिएकाले प्रहरीले उनलाई सार्वजनिक अपराध मुद्दाबाहेक अरू अपराधमा कारबाही गर्नसकेको छैन।

जेल परेकालाई असल चालचलनको पुलिस रिपोर्ट
२०६५ असारमा जेलबाट छुटेका उनले फागुन महिनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट हतियारको लाइसेन्स लिएका थिए । जब कि हातहतियार तथा खरखजाना ऐनमा असल चालचलन भएका व्यक्तिलाई मात्र हतियार राख्ने लाइसेन्स दिन पाउने प्रावधान छ । तर, प्रहरीले नै उनी असल चालचलनको व्यक्ति भन्दै रिपोर्ट दिएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी अशोक सिंह भन्छन्, ‘कसरी उसले हतियार राख्ने लाइसेन्स पायो भनेर हामी पनि छक्क परेका छौँ ।’ लाइसेन्स वितरणबारे विस्तृत विवरण मागेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्राचार गरिएको, तर रेकर्ड व्यवस्थित नहुँदा जवाफ आउन समय लागेको उनले बताए। नयाँपत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12198