ग्रिसमा नेपालीद्वारा नेपालीकै अपहरण

ग्रिसको राजधानी एथेन्समा नेपालीले नेपालीलाई नै अपहरण गरी करिब २० करोड रुपैयाँ फिरौती मागेका छन्। नेपाल प्रहरी र ग्रिस प्रहरीले
अपहरणकारी समातेर अपहरितलाई मुक्त गराएका छन्।

विदेशीसँग मिलेर अपहरण
संखुवासभा चैनपुर घर भएका २४ वर्षीय कृष्ण गुरुङलाई १७ चैतमा एथेन्समा रहेका आइती घले र दलबहादुर तामाङले भारतीय, पाकिस्तानी तथा बंगलादेशी नागरिकसँग मिलेर अपहरण गरेका हुन् । नेपालमा रहेका कृष्ण दाजु चन्द्रबहादुर गुरुङसँग उनीहरूले १४ लाख पाउन्ड फिरौती नदिए मारिदिने धम्की दिएका थिए । चन्द्रबहादुरले नेपाल प्रहरीको सिआइबीमा उजुरी गरेका थिए।

यसअघि सिआइबीले बैंककमा अपहरणमा परेका तीन नेपाली विद्यार्थीको अपहरणबाट उद्धार गरेको छ । सिआइबीका अधिकारी बैंकक नै पुगेर थाई प्रहरीसँग मिलेर नेपाली विद्यार्थीको उद्धार गरेको थियो।

अभियुक्तमाथि पाँच अपराधमा मुद्दा
पक्राउ परेकामाथि ग्रिस प्रहरीले विभिन्न पाँचवटा अपराधमा कारबाही गर्ने भएको छ । अपहरण, डर–धम्कीबाट रकम असुली, डाँका, कुटपिट र अवैध हतियारको प्रयोग मुद्दामा कारबाही अघि बढेको छ ।
अपहरणमुक्त कृष्णगुरुङ इराकबाट ग्रिस पुगेका हुन् । ग्रिसमा पर्यटन भिसामा गएकोमा उनको भिसाको म्याद सकिसकेको थियो । उनलाई पनि त्यहाँको अध्यागमनले हिरासतमा राखेर नेपाल फर्काउने तयारी गरेको छ । वैदेशिक रोजगारका लागि उनी पर्यटन भिसामा ग्रिस पुगेका थिए ।

२० करोड फिरौती माग्ने अपहरणकारी पक्राउ
सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालका अनुसार आइती घलेले कृष्ण गुरुङलाई आफ्नो अपार्टमेन्टमा बोलाएर अपहरण गराएकी हुन् । पाकिस्तानी, भारतीय तथा बंगलादेशीहरूले उनलाई बन्धक बनाई फिरौती माग्न थालेका थिए । कृष्णका दाजु चन्द्रलाई पाकिस्तानको बैंकको खाता नम्बर दिएर फिरौती पठाउन भनिएको थियो । फिरौती माग्ने क्रममा फोनमा कृष्णसँग कुरासमेत गराइएको थियो । चन्द्रबहादुरले पैसा जम्मा गर्दै गरेको भन्दै उनीहरूलाई झुलाएर प्रहरीमा उजुरी गरेका थिए । सिआइबीले ग्रिसको प्रहरीसँग सहकार्य गरी अन्तर्राष्ट्रिय अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरेको खबर नयाँपत्रिका दैनिकमा छ।

दुई देशका प्रहरीको सहकार्यमा अपहरणमुक्त
नेपालको सिआइबीले इन्टरपोलमार्फत ग्रिसको प्रहरीसँग सहकार्य गरी कृष्णलाई अपहरणमुक्त गराएको हो । कृष्णलाई एथेन्सको क्यापेसी भन्ने ठाउँमा बन्धक बनाइरहेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उनलाई हातखुट्टा बाँधेर राखिएको र शरीरमा चोटपटकसमेत रहेको प्रहरीले जनाएको छ।

अपहरणकारी आइती घले, दलबहादुर तामाङसहित दुई पाकिस्तानी र एक भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक जमिल काजी, बंगलादेशी मामुम मुल्लाह र पाकिस्तानी नागरिक मन्सुर अहमद छन् । अन्य दुईजना बंगलादेशी फरार रहेको सिआइबीले जनाएको छ।





Comments

comments

Leave a Reply

12215