एमालेसंग २ अर्बको अचल सम्पति, काँग्रेससंग ७ करोड नगद, एमाअोवादीमा लथालिङ्ग

कांग्रेस : नगद सात करोड, अचल धेरै
कांग्रेससँग सात करोड रुपैयाँ बैंक ब्यालेन्स रहेको केन्द्रीय कार्यालय सचिव प्रेम केसीले बताए । क्रियाशील सदस्यताको शुल्क र सांसदबाट यो रकम उठेको उनी बताउँछन् ।

कांग्रेसले प्रतिसंसाद पाँच हजार लेबी लिन्छ। कांग्रेसका दुई सय ६ सांसद छन् । पाँच लाख क्रियाशील सदस्यताबाट लिने शुल्क पनि कांग्रेसको आम्दानीको स्रोत हो । नयाँ सदस्यबाट दुई सय र पुरानो नवीकरणबाट सय रुपैयाँ शुल्क कांग्रेसले लिँदै आएको छ । १२औँ महाधिवेशनसम्म तीन लाख १७ हजार सदस्य रहेकोमा यसपटक करिब पाँच लाख क्रियाशील सदस्य पुगेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय ०६३ देखि ललितपुरको सानेपामा रहेको आफ्नै भवनबाट सञ्चालित छ । ६ रोपनी जग्गामध्ये दुई रोपनीमा ४२ कोठाको चारतले भवन छ । ०६१ मा थालिएको भवन निर्माणको काम अझै नसिकएको कार्यालय सचिव प्रेम केसीले जानकारी दिए । काठमाडौंको रविभवनमा कांग्रेसको नाममा २४ आना जग्गा र दुईतले भवन छ । त्यो जग्गा १५ वर्षअघि चितवनकी पूर्वसांसद मैयादेवी श्रेष्ठले कांग्रेसलाई दान दिएकी थिइन् ।


एमालेसँग दुई अर्बको अचल सम्पत्ति

सरकारको नेतृत्वमा रहेको एमालेसँग दुई अर्ब रुपैयाँबराबरको अचल सम्पत्ति छ । चलनचल्तीको मूल्यअनुसार एमालेको केन्द्रदेखि, अञ्चल, जिल्ला, नगर, क्षेत्र र गाउँ कमिटीसम्मको नाममा एक अर्ब ६३ लाखभन्दा बढीको जग्गा र भवन छ । फर्निचर, कम्प्युटरलगायतका सामग्रीको समेत मूल्य जोड्दा दुई अर्बभन्दा बढी सम्पत्तिको लगत संकलन भएको एमालेले जनाएको छ। सबै सम्पत्ति जनसहयोगबाटै जोडिएको एमालेको दाबी छ ।


एमाओवादी : न बैंक खाता छ, न सम्पत्तिको यकिन

एमाओवादीसँग आफ्नै पार्टीको देशव्यापी चल–अचल सम्पत्ति कति छ भन्ने व्यवस्थित तथ्यांक छैन । केन्द्रीय कार्यालयले त्यस्तो सम्पत्ति विवरण संकलन गर्न पटक–पटक प्रयास गरे पनि नसकिएको केन्द्रीय लेखा आयोगका प्रमुख आयुक्त तथा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय निर्मलकुमारले जानकारी दिए ।

एमाओवादी केन्द्रीय कार्यालयले आफ्नै कार्यालयभित्रकै चल–अचल सम्पत्तिको विवरणसमेत राख्न सकेको छैन । हालसालै भने एमाओवादीले त्यस्तो विवरण राख्न सुरु गरेको छ । ‘हामीसँग पार्टी केन्द्रीय कार्यालयभित्रकै फर्निचर, कम्युटरलगायतका सामग्रीको कोडिट रिपोर्ट थिएन, त्यसको सुरुवात अहिले गर्न थालेका छौँ,’ उपाध्यायले भने। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12240