बोक्सो आरोपमा जिउँदै खाल्डोमा पुरेर मारियो

रसुवा, यार्सा–९ घोर्मुका तुलु सार्की थिङलाई बोक्सो आरोपमा १५ दिनअघि जिउँदै पुरेर हत्या गरिएको खुलेको छ । हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

घोर्मुकै कान्छा शेर्पा थिङ र ल्वाङ बुटी तामाङ तथा भोर्ले–२ का साहिला थिङ भनिने छेनुर्बु तामाङलाई पक्राउ गरेको रसुवाका प्रहरी प्रमुख अवधेश विष्टले जानकारी दिए । ‘तुलुलाई पहिलेदेखि मार्ने योजनाअनुसार बोक्सीको आरोप लगाएको पाइयो,’ विष्टले भने।

कान्छा शेर्पा थिङका दाजु साङबोलाई अन्यत्र उपचार नहुने गरी बिरामी बनाएको तुलुमाथि आरोप लगाइएको थियो । प्रहरीका अनुसार उनको ४ वैशाखमा नै खाडलमा पुरेर हत्या गरिएको थियो । शव खाडलबाट निकालेर पोस्टमार्टमका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाएको प्रहरी प्रमुख विष्टले बताए । पक्राउ परेकामाथि कर्तव्य गरी ज्यान मारेको मुद्दा चलाउने तयारी भइरहेको विष्टले जानकारी दिए ।

गाउँ बोलाएर निर्मम हत्या

हत्या गर्ने योजना बनाई गाउँ निकाला गर्नेले नै ललाइफकाइ तुलुलाई पुन: गाउँ बोलाएका थिए । गाउँ फर्किएपछि ४ वैशाखमा उनको हत्या भएको हो । हत्याअघि उनलाई कान्छा शेर्पा थिङको घरमा बोलाएर रक्सी खुवाइएको थियो । प्रहरीका अनुसार रक्सीले मातिसकेपछि फेरि बोक्सो भन्दै कुटपिट गरिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।

मुखमा आगो लगाएर चरम यातनासमेत दिइएको प्रहरीले जनाएको छ । आगोले पोलेर गम्भीर घाइते उनलाई घिसार्दै पहिला नै तयार गरिएको खाडलमा लगेर फालिएको थियो । जिउँदै रहेका तुलुलाई पहिला ढुँगा र पछि माटो हालेर पुरिएको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन्।

पहिला मलमूत्र खुवाएर गाउँ निकाला

प्रहरीका अनुसार तुलुलाई बोक्सी आरोपमा गत ५ चैतमै मानव मलमूत्र खुवाएर जुत्ताको माला र मोसो दली हत्या आरोपीले नै गाउँ निकाला गरेका थिए । गाउँ निकाला गरिएपछि उनी रसुवागढी हुँदै केरुङ पुगेका थिए । केरुङमा उनी मजदुरी गरेर बसेका थिए । पछि केरुङबाट गाउँ आए पनि घरमा सम्पर्क नभएकाले आफन्त उनको खोजीमा लागेका थिए । नभेटेपछि आफन्तले प्रहरीमा उजुरी गरेका थिए।





Comments

comments

Leave a Reply

12267