मिरा राईलाई बेलायतमा अभिनन्दनसहित लाखौंको उपहार

एउटा दुर्गम गाउको चेली गाँउमा बालिने खोटे दियालो जस्तै सल्कदै सल्कदै बिश्वको कुना कुनामा आजकल ओलेम्पिक फ्लेम बनेर दौडिरहेकी छिन।

राज्यले प्रोत्साहन गरोस नगरोस उनमा राष्ट्रप्रेम अमर छ। हरेक विश्व विख्यात अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सय डेढसय माइल दौडमा सँधै उनले बोकेर दौडन्छिन नेपाली झण्डालाई र फहरिन्छ नेपाली झण्डा फिनिसिगं पोइन्टहरुमा।

करीब बिस हजार पाउण्ड (बत्तिस लाख रुपैया) नगद उपहारसहित विश्व अल्ट्रा म्याराथन दौड बिधामा बिश्व कै दोस्रो स्थानमा आफूलाई पुरयाइसकेको हावा जस्तै दौडने स्काइरनर उपनामले चर्चित सुश्री मिरा राईलाई बेलायतमा अभिनन्दन गरिएको छ।

भोजपुर सानो दुम्माका स्काइरनर राई युरोपका फ्रान्स, बेलायत, स्पेन, इटली लगायतका देशहरुमा आयोजना हुने प्रतियोगितामा भागलिने सिलसिलामा बेलायतबासी नेपालीहरुद्वारा एक समारोह बिच अभिनन्दन गरिएको हो।

मास्टर राष्ट्र राईको संयोजकत्वमा किरात राई योयोक्खा बेलायत, सगरमाथा तेक्वान्डो डोजागं, नेपाली युथ, जेन मार्सल आर्टस र भोजपुर सेवा समाज लगायतका संस्थाहरुको सम्युक्त आयोजनामा आयोजित कार्यक्रमको प्रमुख अतिथि मिरालाई नै गराइएको थियो।

एन आर एन युकेको अध्यक्ष मछिन्द्र गुरुङ्ग बिशेष अतिथि तथा दर्जनौ संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आथित्यता थियो। नेपाली युथका संयोजक धिरज राईले स्वागत मन्तव्य गरे लगतै आमन्त्रित सबै संघ संस्थालाई अभिनन्दन गर्ने अवसर दिइएको थियो।

किरात राई यायोक्खा बेलायतका अध्यक्ष पदम राई बिइएमले अभिनन्दनको क्रममा बोल्दै स्काइरनर चेलीलाई किरात राई यायोक्खाको तर्फबाट पाँचहजार पाउण्ड (करिब आठ लाख रुपैया) शिर उभ्याउनी आशिर्बादको थैली बुझाएको जानकारी गराउदै सगर्व उत्तरोत्तर प्रगतिको कामना दिनुभयो।

यसै गरि एनआरएन युके, याक्थुम चुम्लुङ्ग, याक्खा छुम्मा, सुनुवार समाज, तमु धी, मगर संघ, शेर्पा एसोसिएसन, भोजपुर सेवा समाज, खोटाङ्ग सेवा समाज, धरान सेवा समाज, फल्कस्टोन नेपाली कम्युनिटी, सगरमाथा नेपाली कम्युनिटी, क्यान्टरबुरी नेपाली कम्युनिटी, मेडस्टोन नेपाली कम्युनिटी, गोर्खा नेपाली कम्युनिटी मिडवे लगाएत गोर्खा पल्टनहरुबाट पनि अभिनन्दन गरिएको थियो।

अभिनन्दन सहित प्राय सबै संघसंस्थाहरुले स्काइरनर राईलाई नगद उपहार पनि प्रदान गरेका थिए । आयोजक श्रोतका अनुसार करिब बिस हजार पाउण्ड (बत्तिस लाख रुपैया) नगद उपहार संकलन भएको अनुमान गरिएको छ।

कार्यक्रममा हर्ष आशु पुछ्दै मिराले यो सम्मान आजीवन नभुल्ने र अझै कोशिस गरेर सबैलाई अझै धेरै खुशि पार्ने प्रण गरिन। सगरमाथा डोजाङ्गका प्रशिक्षक डिल्लिराम राईले संचालन गरेको पहिलो चरणको कार्यक्रम समापन गर्दै मास्टर राष्ट्र राईले सम्बन्धित सबैलाई धन्यबाद दिए पछि दोस्रो चरणको रोचक सांस्कृतिक कार्यक्रम सरला थापाले बिभिन्न गीतसंगीत तथा नाचगान सहित अबेर सम्म संचालन गरेका थिए। कार्यक्रम आयोजक एक सक्रिय युबा महाप्रसाद राईले भने “मिरा ज्वाला हो उनले संसार जलाउनेछ । कसैले रोक्न सक्ने छैन ।”

ईश्वर चाम्लिङ्ग
बेलायतबाट





Comments

comments

Leave a Reply

12296