यसरी भइरहेको छ नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अधिवेशन

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका लस एञ्जलस। नेपाल अमेरिका पत्रकार संघ (नेजा) को पाँचौ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभाको तयारी पूरा भएको छ।

यहि शनिवार र आइतवार लसएञ्जलसमा २ दिन हुने अधिवेशनमा भाग लिन अधिवेशनमा भाग लिन नेपाल पत्रकार महासंघका सभापति डा. महेन्द्र विष्ट कार्यक्रममा सहभागिता हुन आयोजना स्थल क्यालिफोर्नियाको लसएन्जलसमा आई पुगेका छन्। अध्यक्ष विष्टलाई आयोजक संस्थाका अध्यक्ष गौतम दाहालको एक टोलीले स्वागत गरेको छ।

त्यसैगरी विभिन्न राज्यवाट नेजाका सदस्यहरु, प्रतिनिधि तथा शुभेच्छुकहरु लस एञ्जलस आईपुगेका छन् । नेजाको अधिवेशनका लागि गर्नुपर्ने सम्पूर्ण तयारी हामीले पूरा गरेका छौ , पाँचौ अधिवेशन तयारी समितिका संयोजक तथा कार्यसमितिका सचिव सुदीप पन्तले जानकारी दिएका छन् । पन्तका अनुसार यस पटकको अधिवेशनमा मेरील्याण्ड, भर्जिनिया, टेक्सास, कोलोराडो, क्यालिफोर्निया, न्यूयोर्क, नर्थक्यारोलिना, ओक्लोहामा लगायत सत्र भन्दा वढी राज्यवाट सहभागिता रहनेछ । अधिवेशनले आगामी दुई वर्षका लागि नेजाको नयाँ नेतृत्व समेत चयन गर्नेछ।

कूल १ सय ४८ सदस्य मध्ये ११ जना आजीवन सदस्य र १ सय ३७ जना साधारण सदस्यहरुले यस अधिवेशनमा भाग लिनेछन । संयोजक पन्तका अनुसार कूल एक सयले अहिलेसम्म दर्ता गराई सकेकाले त्यही हाराहारीमा सदस्यहरुले भाग लिनेछन् । पन्तले भने,हामीहरुले यसपटक सयभन्दा वढी सदस्यहरुका साथमा लस एञ्जलसमा गरिने अधिवेशन भव्य, ऐतिहासिक र स्मरणीय बनाउन हामी स्थानीय संघ संस्थाको सहयोग र समन्वयमा काम गरिरहेका छौं।

रजिष्ट्रेशनको लागि नगद वा चेकवाट भुक्तानी लिन सकिने भएकाले सहभागीहरुलाई सोही अनुसार व्यवस्था गर्न पन्तले आग्रह गरेका छन् । पन्तले दिएको जानकारी अनुसार नेजाको अधिवेशनमा प्रमुख अतिथिको रुपमा भाग लिन नेपाल पत्रकार महासंघका अध्यक्ष डा. विष्टले सहभागिता जनाउने भएका छन् । सन् २००७ मा गठित नेजा र महासंघको विच यसअघि नै सहकार्य गर्ने अवसर मिले पनि नेजाको अधिवेसन तथा वार्षिक साधारण सभामा उपस्थित हुने विष्ट नै पहिलो सभापति हुन । यसैगरी सिटी अफ आर्टिसियाका मेयर भिक्टर मनालो र उप प्रमुख अलि सजाद ताजको उपस्थिति रहनेछ । अतिथीकै रुपमा वाणिज्यदुत ऋषि ढकालसहित अमेरिकामा रहेका छाता संगठनहरु गैरआवासिय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद्का केन्द्रीय सदस्य दिल श्रेष्ठ, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराई, एएनएका वरिष्ठ उपाध्यक्ष शम्भु ढुंगाना, नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापा, आदिवासी जनजाति महासंघका अध्यक्ष लुईसाङ्ग वाईवा, लगायत सहभागी हुने भएका छन्।

नेजाका अध्यक्ष गौतम दाहालले आफू नेजाको दुई वर्षे कार्यकाल पूरा गर्दै गर्दा यसको कामहरुको समीक्षावाट उत्साहित भएको वताए । दाहालले भने, हामीहरुले दुई वर्षे कार्यकालमा अमेरिकाको स्टेट डिपार्टमेन्टमा नेजाको समेत सहभागितामा भेटघाट र छलफल गर्ने मौका पायौं । यसैगरी न्यूयोर्कको सिटी काउन्सिलमा नेजा कार्यसमितिको टोलीले नेपाली सेभेन समीटर्स टोलीलाई सम्मान कार्यक्रमको समन्वय गर्न पाएको थियो । नेजाको समन्वयमा नेपालमा घाईते पत्रकारहरुको लागि सहयोग,दिवंगत पत्रकारका परिवारलाई सहयोगदेखि लिएर अनेकन कामहरु नेजाले गर्न सफल भएको दाहाल वताए । सामुदायिक अन्तरक्रिया कार्यक्रममा विभिन्न विषयमा नेजाले ईष्टदेखि वेष्टसम्म आफ्नो मजवुत उपस्थिति देखाउन सकेको उहाँको भनाई रहेको छ । यसैवीच दाहालले नेजाको पाँचौ अधिवेसन तथा दशौ वार्षिक साधारण सभाको सफलताको लागि प्रधानमन्त्री केपीशर्मा वलीले शुभकामना दिएका जानकारी दिए । यसैबीच यही अधिवेशनमा नेजा ग्रामीण उत्कृष्ठ पत्रकारिता पुरस्कार विजेताको समेत घोषणा गरिने जानकारी समेत अध्यक्ष दाहालले दिएका छन् । सोही पुरस्कारको राशी एक लाख एघार हजार एक सय एघार रुपैयाँ रहेको छ र नेपालमा मोफसलमा बसेर उत्कृष्ठ काम गर्ने एक जना पत्रकारलाई हरेक दुई वर्षमा यो पुरस्कार दिइन्छ । नेजाका महासचिव भोला आचार्यका अनुसार यस पटकको साधारण सभामा संगठनको विधान,वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन लगायतका आन्तरिक विषयमा छलफल गरिनेछ।

नेजाका संस्थापक अध्यक्ष एवं सल्लाहकार संयोजकसहित नेजाका कार्यकारी सदस्य मधुकर अधिकारी र साधारण सदस्य रामचन्द्र भट्टको रहेको विधानमस्यौदा समितिले नेजालाई व्यवसायिक र चुस्तदुरुस्त वनाउन आचार समिति सहितको विधान पारित गर्ने तयारीमा छ । सन् २०१४ मा ह्युष्टनमा सम्पन्न चौथो अधिवेशनले गौतम दाहालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको थियो । उक्त समितिका उपाध्यक्षमा शिव विष्ट, महासचिव भोला आचार्य,सचिव सुदीप पन्त, कोषाध्यक्ष विटु केसी, क्षेत्रीय संयोजकहरु विकासराज न्यौपाने, डा। गोविन्दसिंह रावत, भुपेन्द्र थापा, विश्वराज थापा, जाङ्गवु शेर्पा रहेका छन् । यसैगरी कार्यकारी सदस्यहरुमा मधुकर अधिकारी,अग्नि चौलागाई,तेम्वा दोङ्गवा ह्योल्मो, श्रीकृष्ण गौतम र शैलेश पोख्रेल रहेका छन् । उक्त कार्यसमितिमा सल्लाहकारहरु गिरीश पोख्रेल, तारा वराल, कृष्ण शर्मा र आडछिरिड शेर्पा समेत रहेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12362