२ किलो सुन सस्तोमा दिने भन्दै साढे ८२ लाख लुटपाट

सस्तोमा दुई किलो सुन्न किन्न खोज्दा एक व्यापारीको साढे ८२ लाख रुपैयाँ लुटपाट भएको छ । घटनाको तीन सातापछि प्रहरीले लुटपाटमा संलग्न तीनजनालाई पक्राउ गरेको छ, तर मुख्य नाइके भने अझै फरार छन्।

मोबाइल व्यापारी बलराम साहको गत ७ वैशाखमा ८२ लाख ५० हजार रुपैयाँ लुटपाट भएको हो । लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको नयाँ पत्रिका दैनिकमा खबर छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूले एक युवतीसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुटवल घर भएका २८ वर्षीय लक्ष्मण न्यौपाने, थानकोट बस्ने नुवाकोट समुद्रदेवी–४ घर भएका २२ वर्षीय विनोद गौतम, नागार्जुन नगरपालिका–४ बस्ने धादिङ छत्रेदेउराली–२ घर भएका ३५ वर्षीय कमल गिरी, गोरखा पालुङटार–६ घर भएका १७ वर्षीय सुजन बसेल, ललितपुर उपमहानगरपालिका–२२ बस्ने २२ वर्षीय सविन शाक्य, १९ वर्षीया डायना शाक्य र धादिङ सल्यानटार–८ बस्ने २१ वर्षीय रूपेश श्रेष्ठ छन् । सविन र डायना श्रीमान्–श्रीमती हुन्।

यसरी भयो लुटपाट
आफूसँग दुई किलो सुन रहेको र त्यो सस्तोमा दिने भन्दै एक व्यक्तिले वसन्तपुर बस्ने साहलाई लोभ देखाएका थिए । गोप्य स्थानमा कारोबार गर्नुपर्ने भन्दै लुटेराहरूले उनलाई बालाजुमा पैसा लिएर आउन लगाए । सोहीअनुसार साह ७ गते साँझ पैसा लिएर बालाजु गए । त्यहाँ उनका चिनजानका व्यक्तिले गाडीमा राखी उनलाई नागार्जुनको पहेँलो गुम्बानजिकै पुर्‍याए। त्यहाँ पाँचजना व्यक्ति थिए । साहको पैसाको झोला लुटेर उनीहरू गाडीमा फरार भए। दुई किलो सुन सस्तोमा किनेर करिब २० लाख कमाउने सपना बोकेर गएका साहले त्यसपछि मात्र प्रहरीलाई मौखिक खबर गरेका थिए ।





Comments

comments

Leave a Reply

12376