नाम नेपालमा किशोर थुलुंग

एचकेनेपाल डट कम संवाददाता –
धरान। रंगकर्मी तथा गायक किशोर थुलुंगको अध्यक्षतामा नया समितिको निर्वाचन गर्दै नाट्यकर्मी महासंघ (नाम नेपाल) सुनसरी च्याप्टरको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ।

धरानस्थित होटल रत्ना ईनमा सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा सन्तोष थेबे, सचिव नवीन मेयाङ्बो, कोषाध्यक्ष रविन श्रेष्ठ, सदस्यहरुमा सुजाता राई, अभिषेक तिम्सिना र प्रवीण राईलाई सर्वसम्मतिले निर्वाचित गरेको हो । कार्यक्रममा सुनसरी च्याप्टरका कोषाध्यक्ष रबिन श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव दीपेन्द्रसिंह दर्नालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए जसलाई सर्वसम्मतिले पारित गरेको थियो।

अधिवेशनको खुला सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै नाट्यकर्मी महासंघ नेपालका केन्द्रीय अध्यक्ष विजय विस्फोटले नेपाली रंगमञ्च काँचो वायुयुक्त मान्छेहरुबाट आक्रान्त भएकोले त्यसको संक्रमणबाट बचाउन महासंघको स्थापना भएको बताए । नेपाली रंगमञ्चमा काँचो वायुको संक्रमण रहेको जसमा एउटा संगीत तथा नाट्य एकेडेमीमा स्थापित भएर बसेको छ, अर्को गैरसरकारी संस्थाको आवरणमा छ भन्ने बताए । महासंघ देशभरिका नाट्यकर्मीहरुको छाता संस्था भएकोले अब नाट्यकर्मीहरुले एक्लो महशुश गर्नु नपर्ने बताए।

कार्यक्रममा बोल्दै महासंघका महासचिव राजेन्द्र रिमालले आगामी दिनमा नाट्यकर्मीहरुका लागि कार्य क्षेत्रमा हुने दुर्घटनाका लागि बीमा गरिने पोलिसी ल्याउन लागेको, कलाकार हीत कोष स्थापना गरिन लागेको, नाटक महोत्सवहरुको आयोजना गरिन लागेको जस्ता योजना सुनाए भने स्थानीय निकायको उदासिनता प्रति आपत्ति जनाए । महासंघ हाल २८ वटा जिल्लामा विस्तार भएको र आगामी दिनहरुमा ७५ वटै जिल्ला तथा प्रवासमा समेत विस्तार गरिने योजना सुनाए।

नेकपा एमालेका नगर अध्यक्ष तारा सुब्बाले नाट्यकर्मीहरु एकजुट भएर स्पष्ट योजना र माग सहित आए सहयोग गर्न हरदम तयार रहेको जनाए । एमाओवादीका चोत्लुंगले नाटकको प्रभाव शक्तिशाली हुने युरोपेली देशहरुको नाट्य प्रभावको उदाहरण पेश गर्दै संगठित रुपमा अघि बढ्न सुझाव दिए।

कार्यक्रमका सभापति नाम नेपालका सुनसरी अध्यक्ष विशाल भण्डारीले आगामी दिनमा सुनसरीका रंगकर्मीहरु तथा नाट्यकर्मको विवरण समावेश गरेर पुस्तक प्रकाशन गर्ने तथा बृत्तचित्र निर्माण गर्ने घोषणा गरेका छन् । त्यसका साथै नाटक मेला, तालिमहरुको आयोजना गर्ने जस्ता योजनाका साथै सुनसरीको नाटकको विगतको स्मरण पनि गरेका थिए।

कार्यक्रममा धरानका रंगकर्मीहरु श्रीप्रसाद श्रेष्ठ तथा शारदा शाक्यलाई सम्मान गरिएको थियो । रंगकर्मी श्रीप्रसाद श्रेष्ठ यो शताब्दीको पहिलो दशक तिरै नाटक गर्ने कलाकार हुन् भने शारदा शाक्य ४० को दशकमा सक्रिय थिईन र पछि टेलिचलचित्रहरुमा व्यस्त भएकी थिईन्।

अधिवेशनमा गरिमा डान्स सेन्टर, कलालय एकेडेमी, बुद्ध आदर्श स्कूलले नृत्य तथा नाटक प्रस्तुत गरेको थियो भने सन्तोष थेबे, सुदीप पाख्रिन, प्रवीण राईले कविता वाचन गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12471