सिंहदरबार घेराउ जारी रहे कारबाही : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले संघीय गठबन्धनको सिंहदरबार घेराउ आन्दोलन जारी रहे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । ‘सडकमा उभिएर दुई–चारजना मान्छेले ट्राफिक जाम गरेका छन्,’ २३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा ओलीले भने, ‘सरकारले एक–दुई दिन मात्र छुट दिन्छ, त्यसपछि चुप लागेर बस्दैन ।’

जायज माग सुन्न र पूरा गर्न आन्दोलनको आवश्यकता नरहेको भन्दै उनले मधेसका नाममा मधेसी जनतालाई दु:ख दिएका कारण त्यहाँबाट लखेटिएपछि काठमाडौंमा आन्दोलन सुरु गरेको दाबी गरे। नयाँपत्रिका दैनिकमा खबर छ।


संविधान पुनर्लेखनको माग कपटपूर्ण

संविधान जारी गर्दा संविधानसभाले बलजफ्ती गर्‍यो भन्नु आश्चर्यको विषय भएको उनको भनाइ थियो । ‘संविधान बलजफ्ती जारी भयो भन्नु, बलजफ्ती ठूलो पार्टी भन्नु र मलाई बलजफ्ती प्रधानमन्त्री भयो भन्नु एउटै हो,’ ओलीले भने, ‘कसैकसैले संविधान पुनर्लेखनको माग नबुझेर होइन, बुझपचाएर गरिरहेका छन्, नेपालविरुद्धको त्यस्तो कपटपूर्ण षड्यन्त्र सफल हुन दिइनेछैन ।’ ओलीले जनप्रतिनिधिले दुईतिहाइबाट बनाएको संविधान कुनै हालतमा पुनर्लेखन हुन नसक्ने ठोकुवा पनि गरे । ‘संविधानसभाले विधि प्रक्रिया अपनाएर लोकतान्त्रिक विधिबाट दुईतिहाइभन्दा बढी जनप्रतिनिधिले जारी गरेकाले त्यसलाई अर्को कुनै निकायले पुनर्लेखन गर्न सक्दैन,’ उनले भने ।

हटाउन खोज्दा हाछ्यौँ गरेर पचाएँ
ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोज्दा हाछ्यौँ गरेर पचाएको दाबी गरे । ‘मलाई कसैले शिरमा हात राखेर प्रधानमन्त्री भइस् बेटा भनेर आशीर्वाद दिएर प्रधानमन्त्री बनाएको होइन, संसद्मा लोकतान्त्रिक विधिबाट भएको हुँ, त्यो विधि मात्र मलाई स्वीकार्य छ,’ उनले भने, ‘जस्तोसुकै बलियो पहलवानलाई पनि कहिलेकाहीँ रुघाखोकी लाग्छ, तर उसले पाँचपटक हाछ्यौँ गरेर पचाइदिन्छ, मैले पनि पचाएँ।’

नेपालमा रेल गुडाएरै छाड्छु
उनले नेपालमा जसरी पनि रेल गुडाएरै छाड्ने बताए । ‘९५ वर्षअघि श्री ३ चन्द्रशमशेरले पनि रेल ल्याउने विषयमा छलफल गरेका रहेछन्, त्यो छलफलमा नेपालका ६ जना विद्वानले विरोध गरेका रहेछन्, बुझ्दै जाँदा अहिले रेल ल्याउन विरोध गर्ने तिनै ६ जनाका सन्तान रहेछन्, तर जति विरोध गरे पनि नेपालमा रेल गुडाएरै छोड्छु,’ ओलीले भने ।





Comments

comments

Leave a Reply

12498