भाउजूसँग बिहे गर्न दुई बच्चाको हत्या

गत महिना बाग्लुङमा भएको दुई बालकको हत्या अनुसन्धानको निष्कर्ष अनौठो किसिमको आएको छ । सुरुमा आगोमा जलेर बच्चाको मृत्यु भएको आशंका गरिएकोमा आमाका प्रेमीले नै हत्या गरेको खुलेको हो ।

सन्तबहादुर घर्तीका ६ वर्षीया छोरी समुन्द्र घर्ती र ३ वर्षीय छोरा मनोज घर्तीको हत्या भएको थियो । घर्तीकी २३ वर्षीया श्रीमती कमला घर्तीसँग अनैतिक सम्बन्धमा रहेका स्थानीय भीमबहादुर भण्डारीले घरमा कोही नभएका वेला बालकको हत्या गरेको खुलेको हो ।

सन्तबहादुर वैदेशिक रोजगारका लागि मलेसिया गएका वेला कमलाले नाताले देवर पर्ने भीमबहादुरसँग अनैतिक सम्बन्ध राख्दै आएकी थिइन् ।

भागेर बिहे गर्ने प्रस्ताव राख्दा बालबच्चा छाडेर जान नमानेपछि आफूले कमलाका छोराछोरीलाई हत्या गरेको भीमबहादुरले पक्राउ परेपछि स्विकारेको बाग्लुङका एसपी चक्रबहादुर सिंहले बताए । ‘अढाइ वर्षदेखि हाम्रो सम्बन्ध रहँदै आएको थियो, हामी भागेर जाने योजनामा थियौँ,’ भीमबहादुरले भनेका छन्, ‘बालबच्चा छाडेर उनी मसँग जान नमानेपछि मैले घाँटी थिचेर हत्या गरेको हुँ ।’

हत्यापछि घरका सबै ढोका थुनेर गहुँको नल ल्याई घरगोठमा आगो लगाएर आगोमा जलेर बच्चा मरेको नाटक गरेका थिए । प्रहरीले कमला र भीमबहादुर दुवैलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । उनीहरूलाई २० वर्षसम्म कैद सजाय हुन सक्छ । घटनापछि कमला र भीमबहादुर सँगै बस्दै आएका थिए ।

घटना हुनुअघि तीन दिनदेखि भीमबहादुर सोही घरमै बस्दै आएको र वैशाख १४ गते साँझ ६ बजे घरमा कोही नभएको अवसर छोपी हत्या गरेको प्रहरीले जनाएको छ । घरमा आगलागीपछि भीमबहादुर स्वयं आफैँ छिमेकीसँग गुहार मागेको नाटक गरेका थिए । गाउँले र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएका थिए ।

बालबालिकाको शव सोही घरको भग्नावशेषमा फेला परेको थियो । भीमबहादुरले हत्यापछि शव राखेकै ठाउँमा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ । हत्या आरोपी भीमबहादुरले हत्या गरेर एक बच्चालाई खाटमुनि र अर्कोलाई खोपीमा राखेका थिए ।





Comments

comments

Leave a Reply

12719