छोरीको बर्थडे पार्टीको खर्च कटाएर धुर्मुस सुन्तली फाउण्डेसनलाई एकलाख सहयोग

एचकेनेपाल डट कम संवाददाता –
न्युयोर्क (अमेरिका)- अमेरिकामा कार्यरत नेपाली पत्रकार विकासराज न्यौपाने र सबिता न्यौपानेले धुर्मुस सुन्तली फाउण्डेसनलाई एकलाख एकहजार रुपैया सहयोग प्रदान गरेका छन् ।

आफ्नी एकमात्र छोरी वियंसा न्यौपानेको २८ मे, शनिबार परेको ११ औं जन्मदिनको अवसरमा उनले यो रकम प्रदान गर्ने घोषणा गरेका हुन् । धुर्मस सुन्तली फाउण्डेसनद्वारा निर्माण भइरहेको गिरान्चौर एकीकृत वस्तीका लागि न्यौपानेले यो रकम दिएका हुन् ।

‘सीताराम कट्टेल उर्फ धुर्मुसले नेपालमा साँच्चिकै नमूना भन्न लायक काम गरिरहेका छन्, उनलाई सहयोग गर्नु हामी सक्षम प्रवासी नेपालीको कर्तव्य पनि हो,’ न्यौपानेले भने । त्यही भएर छोरीको जन्मदिनको अवसरमा गर्न लागिएको पार्टी रद्ध गरेर यो रकम प्रदान गर्न लागेका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारको लागि एकीकृत वस्ती निर्माण गरिरहेको छ । चार करोडभन्दा बढीको लागतमा निर्माण गर्न लागिएको एकीकृत वस्तीका लागि नेपाल र बाहिरबाट व्यापक सहयोग जुटिरहेको छ । यसअघि धुर्मुस सुन्तली फाउण्डेसनले काभ्रेमा एकीकृत वस्ती निर्माण गरिसकेको छ ।

चितवनमा जन्मेर विगत १० वर्षदेखि अमेरिकाको दक्षिणी राज्य टेक्ससको ड्यालसमा बस्दै आएका छन् । उनले प्रवासी नेपालीलाई लक्षित गरेर हिमालय खबर अनलाइन सञ्चालन गर्दै आएका छन् ।





Comments

comments

Leave a Reply

12772