संघीय गठबन्धनका संयोजक यादवद्वारा तेश्रो जनआन्दोलनको तयारीमा जुटेको घोषणा

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १७ जेठ । पहिचान र अधिकारका लागि आन्दोलनरत संघीय गठबन्धनको आयोजना र तमुवान संयुक्त संघर्ष समितिको व्यवस्थापनमा प्रतिगामी संविधानको विरुद्ध पोखरामा सोमवार बृहत जनप्रदर्शन र विशाल विरोध सभा सम्पन्न गरेको छ ।

प्रतिगामी संविधानको विरोधका साथै गठबन्धनको २६ बुदे माग पुरा गराउन दवाव स्वरुप पोखरा ११ रानीपौवाबाट मौलिक पोशाक, बाजा गाजासहित शुरु भएको र्याली महेन्द्रपुल, भिमसेन चोक, चिप्लेढुंगा विपीचोक हुदै मानवअधिकार चोकमा पुगी विशाल विरोध सभामा परिणत भएको थियो ।

सभाको प्रमुख वक्ता संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले तेश्रो जनआन्दोलनको तयारीमा जुटेको उद्घोषण गर्नुभयो । पहिचान र अधिकार प्राप्ति एवं विभेदमुक्तिको उत्पीडित जनताको आन्दोलन अधिकार प्राप्ति नहुञ्जेल लडिरहने उहाँको भनाई थियो । सत्ता स्वार्थको हतारका लागि फाष्ट ट्र्याकको नाममा प्रतिगामी, एकलवादी, नश्लवादी संविधान जारी गर्नेहरु तेश्रो जनआन्दोलनले बढारिने नेता यादवको चेतावनी थियो । गणतन्त्रको नाममा भ्रष्टतन्त्र, न्यायलयलाई समेत राजनीतिक भर्ती केन्द्र बनाउनेहरुलाई जनताले कारवाही गर्नुपर्ने बताउनुभयो ।

संविधान पुर्नलेखन गरी प्रतिगामी संविधानमा भएका गल्ती, विभेदकारी प्रावधान सच्याउदै सबैको स्वामित्व, समानता, अधिकार भएको संविधान जारी गर्न यादवले आग्रह गर्नुहुदै संघीय गठबन्धनको संयुक्त राष्ट्रिय आन्दोलनका थप कार्यक्रमको घोषणा गर्नुभयो ।

शान्तिपूर्ण आन्दोलन अन्र्तगत जेठ २५ गतेदेखि असार मसान्तरसम्म विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौं शहिद मञ्चमा रिले अनसन बस्ने, प्रत्येक दिन ३ बजे पश्चात अनसन स्थलमा साहित्यिक कार्यक्रम, साँस्कृतिक सभा र जनसभा आयोजना गर्ने कार्यक्रमको घोषणा गर्नु भयो । काठमाडौंमा मात्रै नभई प्रदेश तथा जिल्लाहरुमा समेत अनसन प्रकृतिकै कार्यक्रम तय गर्न सकिने संयोजक यादवद्धारा जारी आन्दोलनको कार्यक्रममा उल्लेख छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले संघीय गठबन्धनले पहिचान र भुमिको संवैधानिक परिभाषितको माग गरेको बताउनुहुदै वार्ताका लागि सरकार मान्छेहरुलाई सिंहदरबार र काठमाडौंको चोक चोकमा खोज्दै कार्यक्रम गर्दा पनि भेट्न नसकेको बताउनुभयो । सरकारले जनताका आवाज नसुन्ने हो भने आन्दोलनलाई थप शसक्त बनाउदै लैजाने उहाँको भनाई थियो । गुरुङको भोट चाहिने, तमुवान नचाहनेहरुको पहिचान गर्न आग्रह गर्नुहुदै नेता राईले सरकारले प्रस्तुत गरेको बजेट वितरणमुखी र महंगी बढाई जनताको ढाड सेकाउने टिप्पणी गर्नुभयो ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले प्रतिगामीहरु संघीय गठबन्धनलाई फुटाउन षडयन्त्र गरिरहेको भन्दै उनीहरुको सपना पुरा नहुने बताउनुभयो । विविधताको मुलुकमा राज्यको हरेक निकायमा सबैको अनुहारको प्रतिनीधित्व आवाश्यक छ भन्नुहुदै मधेशीलाई गैर नागरिक देख्नेहरु, ढाँट झुट, फटाहाको राज धेर नटिक्ने संघीय गठबन्धनको एकताले सिंहदरबारको राज भत्कने दावी गर्नुभयो । उहाँले क्षेत्रीहरुले आफुलाई चिन्नु पर्दछ, पहिचानका लागि गठबन्धनमा सहभागी हुन आव्हान गर्नुभयो ।

संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले जुन दिनसम्म संवैधानिक रुपमा पहिचान समेटिदैन आन्दोलन गरिरहने उद्घोष गर्नुभयो । आफ्नो पहिचान र अधिकारका लागि युवाहरु संघर्षशील रहनुपर्नेमा जोड दिनुहुदै एकतात्मक राज्यसत्ताको सिहंदरवार भत्काउन र समृद्ध नेपाल निर्माणका लागि तमुवानी जनतालाई आग्रह गर्नुभयो ।

तमुवान संयुक्त संर्घष समितिका संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा भएको विरोध सभामा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता प्रा.डा ओम गुरुङ, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारु, नेपाल सदभावना पार्टीका महासचिव कौशिकेन्द्र यादव, तमुवान संयुक्त संर्घष समितिका गणेशमान गुरुङ, आदिवासी जनजाति पार्टीका अध्यक्ष बुद्धराज स्याङतान, शेर्पा स्वायत्त प्रदेशका आङकाजी शेर्पा, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोक्का मगर, लिम्बुवान मुक्ति मोर्चाका संयोजक पदम अधिकारी, अधिकारकर्मी ज्योति भट्टचन, क्रान्तीकारी माओवादी पार्टीका नगेन्द्र राई, खसान संघर्ष समितिका अध्यक्ष प्रेमबहादुर खाती, शिल्पी आन्दोलनका संयोजक दानबहादुर विक लगायतले शान्तिपूर्ण आन्दोलनको भाषा नसुन्नेलाई सशक्त आन्दोलनको तयारी जरुरी रहेकोमा जोड दिए ।

कार्यक्रममा तमुवान संयुक्त संघर्ष समितिका दीपक तामाङले स्वागत र सचिव गजेन्द्र लिम्बुले संचालन गर्नुभएको थियो भने तमुवानको आन्दोलनमा विशेष योगदान पुर्याउने संघ संस्था र महानुभावहरुलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा थरुहटको तर्फबाट सोमती थारुले प्रस्तुती गर्नुभएको थियो ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12787