भारत देखाएरै तर्साए ओलीले, सरकारको विकल्प खोज्नेहरू शिथिल

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतसँग लड्न आफूले मात्र सक्ने भन्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई सहयोग गर्न विपक्षी र आलोचक नेताहरूलाई आग्रह गरेपछि उनीविरुद्धको गतिविधिमा शिथिलता आएको छ । ओलीको कुराले सरकारको विकल्प खोज्नेहरूलाई शिथिल तुल्याएको छ । अर्को कुनै अप्रत्यासित घटना नभएसम्म वर्तमान सरकारले निरन्तरता पाउने अब निश्चित भएको छ ।

बजेट प्रस्तुत हुनुअघि सरकार परिवर्तनका निम्ति सक्रिय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बजेटपछि आफ्नो अभियान स्थगित गरेर केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्यमा जुटेको छ । ‘भद्र सहमति’लाई आधार बनाएर ओलीलाई विस्थापित गरी आफैँ प्रधानमन्त्री बन्न अग्रसर भएका माओवादी अध्यक्ष प्रचण्ड पनि खड्गप्रसाद ओलीसँग केही चरणको छलफलपश्चात् पछि हटेका छन् । आफ्नो पार्टीका अधिकांश नेताहरू सरकारको निरन्तरताको पक्षमा रहेको र सजिलै सत्ता हस्तान्तरण गर्ने पक्षमा ओली नरहेको पाइएपछि प्रचण्ड पछि हटेका हुन् । तथापि बजेट पारित भइसकेपछि ‘भद्र सहमति’अनुरूप सरकार परिवर्तनका लागि प्रचण्डले एकपटक पुन: प्रयास गर्नसक्ने सम्भावना भने टरेको छैन । आगामी एक महिनापछि प्रचण्डले सरकार बदल्न प्रयास गर्ने बुझिएको छ । सकेसम्म विद्यमान गठबन्धनलाई यथावत् राखेर आफू प्रधानमन्त्री बन्न पहल गर्ने र त्यसो हुन नसके गठबन्धन भत्काएर भए पनि प्रधानमन्त्री बन्ने योजनामा प्रचण्ड रहेका छन् । मन्त्री बनेकाहरू ओलीको नेतृत्वलाई निरन्तरता दिने पक्षमा भएकोले प्रचण्ड मन्त्रीबाहेककालाई विश्वासमा लिएर सरकारको नेतृत्व बदल्ने सोचाइमा छन् ।

माओवादीभित्र ओलीलाई विस्थापित गर्नुपर्छ भन्ने मत बलियो हुँदै गएको छ । माओवादी अध्यक्ष प्रचण्ड यसै महिना चीन भ्रमणमा जाने भएका छन् । चीन भ्रमणले प्रचण्डलाई तत्काल सरकार परिवर्तनको एजेण्डा परित्याग गर्न बाध्य पार्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ । वर्तमान सत्ता–गठबन्धनको पछाडि चीन रहेको र चीनले ओली सरकारको रक्षाका निम्ति सम्भव भएसम्मका सबै उपाय अवलम्बन गर्न सक्ने विश्वासका आधारमा विश्लेषकहरूले प्रचण्ड अझै पछि हट्ने विश्लेषण गरेका हुन् । त्यसो त बाबुराम भट्टराई माओवादीबाट अलग हुनुमा दक्षिणको हात रहेको ठहर प्रचण्डले गरेका छन् र उनी भित्रभित्रै भारतसँग क्रूद्ध भएको बताइन्छ । जेठ ३० गते बाबुराम भट्टराईले एक भव्य समारोहका बीच नयाँ पार्टी घोषणा गरेपछि प्रचण्ड थप झस्किएका छन् । त्यसैले नेपालमा चिनियाँ भूमिका बढ्नुपर्नेमा प्रचण्डको समेत सहमति रहेको विश्वास गरिन्छ । वर्तमान सत्ता–गठबन्धन कायम रहँदा मात्र चिनियाँ भूमिका प्रभावकारी रहने भएकोले प्रचण्ड तत्काल सरकार बदल्ने र आफू प्रधानमन्त्री बन्ने सोच बदल्न बाध्य हुने ठानिएको छ । घटना र विचारमा खबर छ।





Comments

comments

Leave a Reply

13091