केकी र कुलेन्द्र जेलमा परेपछि (भिडियोसहित)

राम ढुंगेल / एचकेनेपाल डट कम –
युएई, बाग्लुङ जिल्ला ढोरपाटनको भुजी गाउँमा २०४५ सालमा जन्मेका गामबहादुर बिकले रोजगारीका लागि आठ वर्षअघि दुबई जाँदा धन कमाउने एउटै सपना बोकेका थिए । पिता दलबहादुर कामी र माता करमटा बिकका सुपुत्र उनी ‘गगन’ उपनामले पनि चिनिन्छन् । निम्न वर्गीय परिवारका सदस्य उनको गीतसंगीतमा बाल्यकालदेखिकै रूचि थियो । पढाइभन्दा बढी ध्यान खिच्यो उनको गीतसंगीत अनि गाउँघरको रोधी र साकेलाले।

रस बस्यो गीतसंगीत अनि लोकभाकामा । गोठालो होस् या मेला, जहाँ पनि गीत गुन्जिथ्यो । सानैमा सपना देखे उनले गीत गाउने अनि बाजा बजाउने । थाहा भएन ऊबेला गीतसंगीतमा लाग्न कति कष्ट छ भनेर । उनलाई थाहा थिएन कि दुबईबाटै गीतसंगीतमा लागेर आफ्ना शब्द तथा संगीतमा गायक शिव परिवारले कुनै दिन गीत गाउनेछन् भनेर ।

समयले धेरै कुरा सिकायो । आज उनी ‘ऐना’ गीतिएल्बम सार्वजनिक गर्न सफल भएका छन् । फेरिएको छ उनको परिचय । थपिएको छ जिम्मेवारी ।

परदेश आएपछि दिनरातको जागिरले उनका सपनाहरु बालुवामा पानी हराए जस्तै सुकेर गए केही वर्षहरु । मनमा संगीतमोह जो दबिएर बसेकै थियो ।

परदेशको जागिरमा करिब ६ वर्ष जोतिएपछि उनको संगीतप्रेम बौरिएर आयो । सामाजिक सञ्जालमा खेम बिश्वकर्मा र पुष्कर सुनुवारसँग भेट भएपछि उनको मुर्झाएको संगीतमोह एकाएक जाग्यो । अन्ततः गायक शिव परिवारको स्वरमा सजिएको एक गीतको अन्तरा यसरी सुरु गरे गामबहादुरले अनि आफैं संगीत पनि भरे ।

ए हावा मलाई नछोएर चल
मलाई छोए नछुनु अरुलाई
यो पापी समाजले अछूत भन्छन्, मलाई अछूत भन्छ मलाई

खेम बिश्वकर्मा र पुष्कर सुनुवारले धेरै म्युजिक भिडियोमा काम गरेका थिए । गामबहादुरले गीत लेखन, गायन, संगीत, छायांकन र सम्पादनमा हात हाल्दै गए । इच्छाशक्ति भएपछि असम्भव के छ र ?

उनै गामबहादुरले १५ जुलाईमा ‘ऐना’ नामको एक आधुनिक गीति एल्बम सार्वजनिक गरेका छन् । सन्ध्या म्युजिकको प्रस्तुति रहेको यस गीतिसंग्रहमा गायक शिव परियार, पुष्कर सुनुवार, मनोजराज शिवाकोटी र गायिका रितु सुनारले स्वर भरेका छन् । यस गीतिसंग्रहमा ‘ए हावा मलाई नछोएर चल…’, ‘धन्यबाद माया गर्नेलाई…,’ ‘भन्न सकिन तिमीलाई माया गर्छु भनेर…’, ‘निराश जीवनको जिउने आशा भैदिए….’ जस्ता बोलका ५ वटा गीत रहेका छन् ।

गीतमा कोही मायाबाट पीडित अभिव्यक्ति छन्, कोही कसैको मायाको खोजीमा छन् । उनका गीतमा जातीय भेदभावको विरोध साथै सामाजिक विभेदको सिकार भएका छन् ।

‘ऐना’ एल्बमभित्रको एक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । कुलेन्द्र बिश्वकर्मा र केकी अधिकारीको अभिनयमा बनेको उक्त म्युजिक भिडियोको निर्देशन खेम बिश्वकर्मा ‘किमोस’को रहेको छ ।

बिकको प्रथम आधुनिक गीतिसंग्रह ‘ऐना’को विश्वकर्मा समाज नेपाल युएईको प्रथम वार्षिकोत्सवको दिन विमोचन भएको हो ।
विश्वकर्मा समाज नेपाल युएईका सहसचिव समेत रहेका बिक परदेशको आफ्नो जागिरबाट बचेको समयलाई सदुपयोग गरी बाल्यकालमा आपूmले भोगेको जातीय छुवाछूत जस्ता कुप्रथालाई शब्द संगीतमा उतारेर यस एल्बमलाई तयार पारेका हुन् ।

खेम बिक, पुष्कर सुनार, विश्वकर्मा समाज, युएईको विशेष सहयोग रहेको यस गीतिसंग्रह निर्माणको लागि आमाबुबा, र प्रिया रीतु सुनारको सहयोग रहेको बिकले बताए ।

केकी र कुलेन्द्र जेलमा परेपछि
केकी अधिकारी र कुलेन्द्र बिश्वकर्मा बाल्यकालदेखि नै असल साथी हुन्छन् । तर, फरक केकी ब्राह्मण परिवारकी सदस्य कुलेद्र कथित दतिल परिवारको सदस्य । २१ औं शताब्दीमा किन जातीय भेदभाव किन गर्ने भन्ने सोच केकीको हुन्छ।

कुलेन्द्र र केकीको गहिरो मायाप्रेम विवाहमा परिणत गर्ने सल्लाह बमोजिम एक दिन केकीले कुलेन्द्रलाई आफ्नो घरमा बोलाउँछिन् । कुलेन्द्र पनि डाक्टर हुन् भन्ने सुन्दा केकीका बुबा मन्त्री शर्मा पनि खुसी हुन्छन् तर परिचय गर्दै जाँदा कुलेन्द्र विश्वकर्मा परिवारका हुन् भन्ने थाहा पाएपछि शर्मा आक्रामक बन्छन् ।

कुलेन्द्रलाई तुरुन्तै घरबाट निस्किन आदेश दिन्छन् तर केकीलाई उनको प्रेमीप्रतिको दुव्र्यवहार अप्रिय लाग्छ र बुबाको प्रतिवाद गर्छिन् । विवादका बीच केकीले आफ्नो बुबालाई पेस्तोल ताक्दा अचानक गोली चल्छ र मन्त्री शर्माको तत्काल निधन हुन्छ । कुलेन्द्रले पनि मन्त्रीका सहयोगीलाई गोली हान्छन् । प्रेमलाई सफल बनाउन केकी र कुलेन्द्र दुवै जना जेलमा पुगेका छन् ।

केकी र कुलेन्द्र जेलमा परेको प्रसंग रियल लाइफमा नभएर रिल लाइफमा हो । गामबहादुरको शब्द तथा संगीतमा रहेको ए हावा….बोलको गीतको म्युजिक भिडियोमा उक्त कथा समेटिएको छ । गायक शिव परियारको स्वर रहेको गीतमा पुष्कर सुनुवारले अरेन्जरको भूमिका निर्वाह गरेका छन् ।

निर्देशन खेम विश्वकर्माको निर्देशनमा बनेको उक्त भिडियोमा केकी अधिकारी, कुलेन्द्र बिश्वकर्माको साथमा आदित्य , मोहन, वत्सलको अभिनय पनि देख्न सकिन्छ । भिडियोको छायांकन अमृत सुनुवारले गरेका छन् भने सम्पादन प्रकाश तुलाधरले गरेका हुन् ।
भिडियोको बजार व्यस्थापन सन्ध्या म्युजिक कम्पनीले गरेको छ।

भिडियो





Comments

comments

Leave a Reply

13526