एनआरएन मलेसियाका अध्यक्ष राईसंग कुराकानी

एनआरएन मलेसियाका अध्यक्ष विश्वबिक्रम राई

करीब ४० बसन्त पहिले देशको दुर्गम जिल्ला ताप्लेजुङको दुर्गम गाउँ सुरुङखीमबाट शुरु भएको जीवनको यात्रा बिभिन्न देश परदेश हुदै मलेसियामा अघि बढिरहेको एउटा सफल व्यवसायिको नाम हो विश्वबिक्रम राई । एक घण्टाको पैदल यात्रा गर्दै गाउँकै निलगिरी माविबाट माध्यामिक शिक्षा सकेर उच्च शिक्षाको लागि धरान हुदै त्रिचन्द्रबाट मास्टर्स गरेका राई सानैदेखि ब्यवसायमा झुकाव राख्ने गर्थे । अध्ययन गर्दा गर्दै पनि ईम्पोर्ट तथा नेटवर्क मार्केटिङमा करीब २ बर्ष अनुभव बटुली सकेका राईले दुबईबाट नेचुरल डायमण्डको ईम्पोर्ट र २ महिना सिङगापुरमा बजार हेरेपछि सन् २००५ मा मलेसिया प्रबेश गरे लगतै शुरुमा लोजिना ग्लोबल दर्ता गरेको र हाल ड्रिम नेट तथा एस एण्ड बि ग्रुप संञ्चालनमा ल्याएका राई हालै मात्र गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्षमा मनोनयन भएका छन्। मानिसले समाजमा रहेर धेरै प्रकारका कामहरु गरि रहेका हुन्छन् । धेरै कामहरु सफल पनि भई रहेका छन् । सकारात्मक सोच लिएर आफ्नो लक्ष्य अघि बढाउदै र संघर्ष गरेमा सफलता अबश्य पनि मिल्ने छ भन्ने उदाहरण बन्न सफल उनै राईसंग पत्रकार रवि भट्टले गर्नु भएको कुराकानिको संपादित अंश ।


प्र– हालै मात्र एनआरएन मलेसियाको अध्यक्षमा मनोनित हुनु भएको छ यहाँ भन्दा पहिले के कस्तो थियो ? अलिक भद्रगोल, बिबाद जस्तै थियो अहिले कस्तो छ ?

सन् २००६ मा शुरुमा देवमान हिराचन आउनु भयो र यहाँको माहोल बुझ्नु भयो लगतै ७ जनाको एउटा टिम बनाएर हामी अघि बढ्यौ । सामाजिक संघ संस्थामा मानिसहरु काममा ब्यस्त हुनाले पनि सिमित मान्छेहरुबाट अघि बढियो । विचमा केहि भद्रगोल भएको हो केहि साथीहरुको कारण विवादमा आए पनि अहिले समग्रमा ठीक छ । हामी अब यसलाई पूर्णता दिएर अघि बढ्छौ ।

प्र– अबको नयाँ योजना के छ ? मलेसियाका लाखौ नेपालीलाई छाता संगठनले कसरी समेट्न सक्छ ?

जुन विश्वास गरेर साथीहरुले मलाई जिम्मेवारी दिनु भयो । अब जोहोर र पेनाङमा छिटै क्षेत्रीय शाखा खोल्ने, सामाजिक फण्ट तयार गर्ने, एसिया भरिका साथीहरुलाई भेला गरेर श्रम सम्बन्धि समस्यालाई लिएर अघि बढ्ने । एक कार्यकालमा सहयोग र विभिन्न रकमहरु जे होला सो होला भन्ने परिपाटि त्यागेर अब ठूलो सामाजिक फण्ट तयार गर्ने र दीर्घकालीन समय सम्म रहि रहने बनाउने योजना छ ।

प्र– सामाजिक फण्टको रकम कहाँ के प्रयोजनमा खर्च गरिन्छ ?

नेपाली राजदूतावासको संरक्षकत्वमा विभिन्न कारणले समस्यामा परेका नेपालीहरुलाई वास्तविक समस्यामा परेका पिडितहरुलाई फण्ट कमीटीले पहिचान गर्छ र सहयोग गर्छ । बिभिन्न चेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरु गर्ने जस्ता काममा पनि खर्च त भईहाल्छ ।

प्र– वास्तविक पीडित कसरी पत्ता लगाउनुहुन्छ ?
हामी अस्पतालहरुमा बुझ्छौ, विभिन्न संघ संस्था, कूटनितिक नियोगमा बुझेर कतिपय टिकट अभावमा घर जान सकिरहेका छैनन उनिहरुलाई टिकट उपलब्ध गराएर सहयोग गर्न सकिन्छ । फण्ट कमीटीले विशेष पहिचान गर्छ ।

प्र– रकमहरु बोल्ने तर नदिने समस्या छ नि यहाँ, जस्तो एनआरएन भवन निर्माणको लागि रकम संकलनमा मलेसियाबाट बोलिएको रकम अहिलेसम्म किन पठाईएन ?
जस जसले प्रतिबद्धता गर्नु भएको थियो उहाँहरुमा ईमान्दारिता हुनु पर्यो । उहाँहरुले स्वतस्फूर्त रकम घोषणा गर्नु भएकोले एनआरएनले पनि धेरै फोर्स पनि गर्न मिलेन । उहाँहरु आफै बुद्धिजीबी हुनुहुन्छ , यो त आफै बुझ्नु पर्ने कुरा हो नि ।

प्र– सबै भन्दा धेरै श्रमीकहरु मलेसियामा रहेका छन् उनिहरु यहाँ आए पछि धेरै समस्या देखा पर्ने, मृत्यू पनि बढि हुने गरेको पाईन्छ यसबाट सतर्क हुनको लागि एनआरएनए मलेसियाले केहि कदम चाल्न सक्छ कि ?

अबश्य पनि हामीले विभिन्न संस्थासंग मीलेर काम शुरु गर्न गई रहेका छौ । घट्ना, दूर्घटना भई रहेको छ , सुतेको ठाउँमा नै मृत्यू हुनेको संख्या पनि धेरै छ त्यसैले अब हामीले स्वास्थ्यमा ध्यान दिने, खानामा ध्यान दिने, यहाँको हावापानी अनुसारको खानपिनमा ध्यान दिने जस्ता जन चेतना मूलक कार्यक्रम गर्दैछौ । सरकारी अस्पतालसंग मिलेर बिशेष ध्यान दिने कार्य गर्नेछौ ।

प्र– अन्य मूलुकहरुमा एनआरएनले स्वदेश तथा विदेशमा गरेको कार्यहरु प्रसंसनीय छन् तर लाखौ नेपाली श्रमीकहरु कार्यरत मलेसियामा धेरैले एनआरएन भनेको के हो कहाँ छ के काम गर्छ भन्ने नै थाहा छैन यसलाई कसरी लिनुहुन्छ तपाइको कार्यकालमा ?

अब यसलाई प्रचार प्रसार त कसरी गर्ने , जो जहाँ छौ सामाजिक संञ्जालहरुमा, पत्र पत्रिका अनलाईनहरुमा हेर्ने अझ एनआरएन मलेसियाको वेभसाईटमा गएर हेर्न सकिन्छ । सदस्यता फारामहरु छन् भर्न सकिन्छ । सबैले हातेमालो गरेर जाने हो ।

प्र– सदस्यता, क्षेत्रहरु बढाउनको लागि कस्तो योजना छ ?
दुई बर्ष अबधि पूरा भएका साथीहरु सबै सदस्य बन्न सक्नुहुन्छ । मलेसियामा चाहि के छ भने तीन बर्ष काम गरे पछि धेरै साथीहरु नफर्कने भएकाले पनि कम सदस्य जस्तो भएको हो । यसको क्षेत्रहरु पनि गठन गरे पछि साथीहरु सक्रिय रुपमा आउनेछन् । फेरि ३ डलर पनि केन्द्रमा पठाउनु पर्छ । सदस्य बनाए पछि उनिहरुलाई खर्च नलगाउने र सामाजिक कार्यमा नै लगानी गर्ने योजना बनाउँदै छौ।

प्र– अन्तमा एनआरएन मलेसियाको सन्देश ?
एनआरएनए एउटा सामाजिक संस्था हो र सबै साथीहरु आबद्ध हुनु पर्छ । जो बुझ्नुहुन्छ, जान्नुहुन्छ जहाँ भए पनि संस्थामा आबद्ध भएर परदेशमा छौ एकजुट भई हातेमालो गर्दै अघि बढौं सबैलाई यहि आग्रह गर्दै सबैको बसाई सुखमय रहोस् भन्न चाहान्छु।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13740