महेश बस्नेतलाई मन्त्री बनाएकोमा माधव नेपाल असन्तुष्ट

महेश बस्नेतलाई मन्त्री बनाएको माधव नेपाल असन्तुष्ट
एमालेमा २ मन्त्री फेरिएपछि बरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्। उनले पार्टीमा छलफल नै नगरी मन्त्री फिर्ता बोलाएको भन्दै आपत्ति जनाएका छन्।

पार्टीमा छलफल भएको छैन, यसबारे मलाई केही जानकारी छैन, नेपालले भने हाम्रो पार्टी मनपरी ढंगले चलिरहेको छ। ‘एकल सो’ गर्ने काम भइरहेको छ। यो ठीक होइन।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले भने आलोपालो गर्न मन्त्रीलाई फिर्ता बोलाएको प्रतिक्रिया दिए। दुईजनामात्र किन परिवर्तन गरियो भन्‍ने जिज्ञासामा खनालले भने, ‘अरूको पनि पालो आउँछ।’ वरिष्ठ नेता नेपालको असन्तुष्टिबारे सोधिएको प्रश्‍नमा खनालले थपे, ‘यो काम पार्टी अध्यक्षको हो। अध्यक्षले अरूसँग पनि सल्लाह गरेको होला भन्ने मलाई लाग्छ।’

कार्यक्षमता देखाउन नसकेको तथा विवादास्पद काम गरेको भन्दै सत्ता साझेदार एमालेले संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्ण थापालाई मन्त्रीबाट फिर्ता बोलाएको छ। एमालेको सिफारिसमा प्रधानमन्त्री सुशील कोइरालाले उनीहरूलाई पदमुक्त गरी दीपकचन्द्र अमात्यलाई पर्यटन र महेश बस्नेतलाई उद्योगमन्त्रीमा नियुक्त गरेका छन्।

हटाइएका दुवैजना एमालेका प्रत्यक्ष निर्वाचित सभासद् हुन्। नवनियुक्त मन्त्रीहरू सभासद् होइनन्। सरकारमा एमालेका तर्फबाट नेतृत्व गरेका वामदेव गौतम उपप्रधान एवं गृहमन्त्री छन्। सरकारमा एमालेबाट सहभागी १० मन्त्रीमा गौतम र खेलकुद मन्त्री पुरुषोत्तम पौडेलमात्र सभासद् हुन्।

युवा संघ नेपालका अध्यक्ष बस्नेत संविधानसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र २ बाट पराजित भएका थिए। उनी पार्टी अध्यक्ष केपी ओली निकट छन्। अमात्य भने एमाले पूर्वअध्यक्ष झलनाथ खनालका पूर्वप्रमुख स्वकीय सचिव हुन्। आचार्य खनालको कोटामा मन्त्री बनेका थिए भने थापा ओलीको कोटामा।

एमालेका महेश बस्नेत बने उद्योगमन्त्री
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं,२७ भदौ। प्रधानमन्त्री सुशील कोइरालाले शुक्रवार मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। कोइरालाले एमालेका महेश बस्नेत र दीपकचन्द्र अमात्यलाई नयाँ मन्त्री बनाएका हुन्। बस्नेत उद्योग मन्त्री र अमात्य संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन्।

नेकपा एमालेले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर बस्नेत र अमात्यको नाम सिफारिस गरेको थियो। एमालेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्य र उद्योग मन्त्री कर्णबहादुर थापालाई फिर्ता बोलाएको हो।





Comments

comments

1389