देउवा भत्भताउन थालेपछि तीनै भाई टाप

‘राज्यमन्त्री नै खानुपरेपछि किन सानोतिनो रोज्नु ?’ भन्दै हिजो मंगलबार विहान नारायणस्थानमा एउटा लर्को पुग्यो ।

नेविसंघ महाधिवेशनको तनावले अरु कुरा गर्न त के सोच्नसम्म फुर्सद नभएका कांग्रेस सभापति शेरबहादुर देउवासँग मन्त्रालय रोज्न पुगेका केही सम्भावित राज्यमन्त्री गाली खाएर फिर्ता भए ।

नेविसंघकै तनावका कारण देउवाले आफ्नो कोटाका मन्त्री तोक्ने र सपथमा पठाउने कामलाई फेरी केही दिनका लागि सार्ने निर्णय गरेका मात्र के थिए, ‘राज्यमन्त्रीसम्म दिउँला’ भनिएका तीन भाई पुगेर देउसी खेल्न थाले ।

देउवाले राज्यमन्त्री खान भनेपछि व्यवस्थापिका संसदको उपभोक्ता हित संरक्षण समितिमा सभापति रहेका भिष्मराज आङदम्बेले समितिबाट राजीनामा लेखिसकेका छन् ।

हिजो देउवासँग माग गरे, ‘समिति नै छोडेर जानु परेपछि गृहराज्यमन्त्री भन्दा अरु त के खानु हौ !’ यतिसम्म भन्दा देउवा सहेर बसेका थिए । एकछिनपछि रामहरी खतिवडा र जीवन शाहीले पनि गृहराज्यमन्त्री नै माग्दा देउवा पड्किए ।

मुखमा भुङग्रोबाट भर्खर निकालेको आलु हालिएजस्तो अत्यासको शैलीमा गाली गरे । उनको गाली बुझ्नुपर्नेले बुझे कि बुझेनन्, तर उनी भत्भताउन थालेपछि तीनै भाइ टाप कसे ।

उता, अर्जुनरसिंह केसी शहरी विकास मन्त्रीमा सहमत भएका छन् । पर्यटन मन्त्रालयका लागि निकै ठूलो दौडधुप चलेको खबर आजको जनआस्था साप्ताहिकमा छ।





Comments

comments

Leave a Reply

13933