ब्लडमनि तिर्न नपर्ने अवस्थामा पनि अझै जेलमा…

ब्लडमनि तिर्न नपर्ने अवस्थामा पनि अझै जेलमा
सरकारको वेवास्ताले दुःख पाए प्रवासी नेपालीले

काठमाडौं, ब्लडमनि तिर्न नपर्ने अवस्थामा रहेका प्रवासी नेपालीहरुको समेत सरकारी उदासिनताका कारण उद्धार नहुँदा दुःख पाउनु परेको पीडित परिवारहरुले एक पत्रकार सम्मेलनमा गुनासो गरेका छन् ।

साउदी अरबमा सवारी दुर्घटनाका क्रममा जेल परेकाहरु मध्ये कतिपयको ब्लडमनि तिर्न नपर्ने अवस्थामा रहेको नेपाली साझा मंचद्वारा काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा पीडित परिवारहरुले बताएका हुन् ।

साउदी अरबमा जेलमा परेका आफन्तलाई जेलमुक्त गराउन पटकपटक मन्त्रालय र विभाग धाएर मन्त्री, नेता र हाकिमहरुलाई पटकपटक भेटेर लिखित मौखिक अनुरोध गरेपनि केही सुनुवाई नभएको उनीहरुले दुखेसो गरे ।

एक लाख ३७ हजार रुपैयाँ मात्रै बझाउन नसकेर साउदी अरबमा सात वर्ष सात महिना जेल भोगेर बाहिर आउदा पनि जेलमुक्त भएको कागजात नपाएर सिरहाका सुरेश मण्डल नेपाल आउन पाएका छैनन् । यसबीचमा उनका पिता रवि मण्डलले छोरालाई जेलमुक्त गराउन भन्नुपर्ने र गुहार्नु पर्ने सबै ठाउँ पुगे । सात वर्ष सात महिना पुगेपछि साउदी सरकारको माफीमा परेरका उनलाई त्यहीको एक साउदी प्रहरीले जमानतमा छुटाएको भन्दै आफ्नो बाख्रो गोठालो बनाउन खोजेको थियो । उनी त्यहाँबाट निस्केर अहिले जेलबाहिर जेलमुक्त भएको कागजपत्र अभावमा अवैध भएर भौतारिरहेका छन् । पत्रकार सम्मेलनमा मण्डलका आमाले रुदैं आफ्नो छोरोलाई साउदीबाट नेपाल ल्याईदिन सरकारसंग मांग गरेकी छिन् ।
साढे चार वर्ष अघि सवारी दुर्घटनामा परेर जेलजीवन भोगिरहेका मोरंगका भिमबहादुर दाहालका श्रीमती लक्ष्मी दाहालले छोरो पेटमै हुँदा साउदीको जेलमा परेको श्रीमान्ले अब छुटेर आउँछु होला भनेर भनेका थुप्रै रमादान र ईद गईसक्यो तर छुट्न नसकेको पीडा पोखिन् । ब्लडमनि मांग नगरिएका उनलाई छुटाउन सरोकारवाला संस्था र सरकारी निकायको दैलो चाहारेको वर्षौ भएपनि छुट्न नसकेको पीडा आँशु बगाएर सुनाईन । “ब्लडमनि नमागिएकाहरुलाई त सरकारले पहल गर्यो भने त सजिलै छुट्छरे मेरो श्रीमान्लाई पनि छुटाई दिनु पर्यो” उनको आग्रह छ ।
“मेरो श्रीमान्को कुनै गलत्तीबीना नै तीन लाख रियाल ब्लडमनि माग गरेर साउदीको जेलमा राखिएको छ । सडक किनारमा पार्किंग गरेको डोजरमा आफै ठोकिएर मान्छे मरे छ, त्यस्तोमा सजाय हुँदा नेपाल सरकारले साउदी सरकारसंग बोलिदिनु पर्यो नि” तनहुका धनबहादुर थापाका श्रीमती युकुमारीले पत्रकार सम्मेलनमा माग गरिन् । उनका श्रीमानले सडकको किनारमा पार्किंग गरेर राखेको डोजरमा राती एक साउदीको कार दुर्घटना हुँदा एक बालकको मृत्यु भएको थियो ।

आफ्नो भाइ सवारी दुर्घटनामा आफै घाईते भएर मर्ने अवस्थामा जेल परेको घटना सुनाउदै धनुषाका संजयकुमार यादवले आफू साउदीमा रहेका बेला मैथली समाज, एनआरएनए र राजदुतावासमा खुबै धाएको तर केही नभएको पीडा छ । उनी नेपालमा आएपछि पनि धेरैपटक मन्त्रालय, विभाग, नेता, मन्त्रीमा पुगे तर पनि केही नभएको गुनासो छ । उनी भन्छन् वैदेशिक रोजगारमा जाँदा श्रम गरेर, पैसा तिरेर जान्छौ, कोषमा साढे तीन अर्ब रुपैयाँ छ रे, मन्त्री र कर्मचारीले भ्रमण, गोष्ठि, भोजभत्तेरमा चै करोडौं खर्च गर्छन् । मेरो भाइ जस्ता पीडितहरुका लागि किन उपयोग गरिन्न ?

उनका भाइ संजिवकुमार यादव जेल परेको तीन वर्ष ९ महिना भयो । उनीसंगको सवारी दुर्घटनामा एक भारतीयको मृत्यु भएको थियो । मृतकको तीन संतान नाबालक भएकाले परिवारले माफी दिदापनि साउदी अदालतले नाबालकको पक्ष लिएर ९७ हजार २ सय ५० रियाल बुझाउनुपर्ने निर्णय सुनाउदै जेलमा राखेको छ ।

झापाका मदन पंधाक लिम्बूले लोडगरेरको ट्रक घुमाउना लाग्दा पछाडिबाट आएको टाटा पिकअप दुर्घटना हुँदा एक यमनीको मृत्यु भएको थियो । सोही घटनाका कारण प्रहरीले हिरासतमा राखेको उनलाई जेलमा ल्याएर राखियो तर के के कति ब्लडमनि तिर्नुपर्ने हो होइन केही थाहा छैन् । उनका दाजु मणि लिम्बू भन्छन् “भाइका अनुसार प्रहरीले एक पटक दश हजार रियाल तिर भने छ तर उसले आफूसंग छैन भनेर फर्काए छ, त्योे भन्दा अरुकेही थाहा छैन । ऊ जेल परेको एक वर्ष ९ महिना भयो । एक वर्ष अघि उसले दुतावासमा फोन गरेरको रे, आउछु भन्थे रे तर आजसम्म कोही आएकै छैन भन्थ्यो ।”

“हैन, नेपाल सरकार गरिबको चैं सरकार होइन कि के हो ? होईन भने हेर्नु पर्यो नि” उनले थपे ।
पत्रकार सम्मेलनमा पीडित परिवारहरुको एकै स्वर थियो, “नेपालको नागरिक हो भने सरकारले उनीहरुको उद्धार गर्नु पर्यो । हाम्रा मान्छेले अरुले जस्तो लार्पावाही गरेर अनि जाँडरक्सी खाएर दुर्घटना गरेका पनि होइनन् । सरकारले कसैलाई काखा कसैलाई पाखा गर्नु भएन ।”
यसैबिच पीडित परिवारलाई काठमाडौं ल्याएर पत्रकार सम्मेलन गराउन सहयोग गररेको साझा मंचले पीडित परिवारलाई मिडिया समक्ष ल्याएर सत्य तथ्य सरकार समक्ष पुर्याउने उद्देश्यले राखेको मंचले उनीहरुको उद्धारमा सरकार गम्भिर हुन आग्रह गरेको छ ।

काठमाडौं गोर्खा गेष्ट हाउसमा आयोजित पत्रकार सम्मेलन संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको संयोजन र उपाध्यक्ष विष्णु तुम्बाहाम्फेको सभापतित्वमा सम्पन्न भएको थियो । महासचिव दीपा आङ्गदाम्बे लिम्बूको संचालित सो पत्रकार सम्मेलनमा तुम्बाहाम्फेले प्रवासी नेपालीहरुको पीडालाई सरकारले सम्बोधन गर्न आग्रह गर्दै पीडितहरुको पक्षमा न्याय प्राप्त नभएसम्म मंचले साथ दिने प्रतिबद्धता व्यक्त गरेकी थिईन ।
पत्रकार सम्मेलनमा साउदी अरबमा सवारी दुर्घटनाका क्रममा जेल परेकाहरुको परिवारहरुको उपस्थिति रहेको थियो । साझा मंचको पहलमा पीडित परिवारहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर साउदी अरबको जेलमा रहेका आफन्तहरुलाई जेलमुक्त गराईदिन पनि आग्रह गर्ने भएका छन् ।





Comments

comments

Leave a Reply

13939