४५ हजार तिरेर नायिकासंग रात बिताउंन खोज्दा…

क्यानडामा पिआर लिएर बस्दै आएका भक्तपुरका मिराज गौतम (नाम परिवर्तन) गत ४ असारमा नेपाल आए ।

एयरपोर्टबाट उनी घर गएनन्, सीधै ठमेल हान्निए । ठमेलको रात्रिजीवनको मजा लिएर मात्र उनी घर जान चाहन्थे । ठमेलको एक होटेलमा झोला राखेर ‘फ्रेस’ भई उनी घुम्न निस्किए । करिब एक लाख रुपैयाँबराबरको क्यानेडियन डलर साटेर नर्सिङचोकमा रहेको इभिजा डिस्कोमा छिरे । डिस्कोमा मदिरा पिएर नाच्न थाले । मदिराको नशा लाग्दै गएपछि नाच्ने युवतीसँग नजिकिए । केहीलाई आफूसँग जाने प्रस्ताव राखे । तर, कसैले नमानेपछि निराश भएर सडकमा निस्किए ।

‘दाइ, के चाहियो ?’ डिस्कोबाट निस्किएलगत्तै एक युवकको उनलाई प्रश्न गरे । ‘के–के मिलाउन सक्छौ ?’ उनले डिल सुरु गरे । युवकले होटेल तथा केटी मिलाउन सक्ने बताए । तर, आफूलाई ‘ए वान’ केटी चाहिने भन्दै सडक छेउमै बसेर उनले कुरा अघि बढाए । देशका चर्चित नायिका नै मिलाउन सक्ने प्रस्ताव उनलाई आयो । मोडल सस्तो हुने र नायिका अलि महागो हुने भन्दै युवकले बार्गेनिङ सुरु गरे । नजिकै रहेका ट्याक्सी चालकलाई युवकले बोलाएर केही मोडलको तस्बिर देखाए ।

तर, एक चर्चित नायिका नै मिलाउने भनेपछि उनले मोडलभन्दा पनि नायिकालाई नै रोजे । नायिकको ४० हजार चाहिने प्रस्ताव राखे । मन परेकी नायिका भएकाले उनी एक रातको ४५ हजार रुपैयाँ तिर्ने भन्दै झन् उदार भए । सोही ट्याक्सीमा बसेर उनी गौशालातर्फ लागे । बाटोमा १० वटा कन्डम किने । गौशालाको एक लजमा पुगेपछि त्यहाँ लैजाने युवकले नायिका आउन केही समय लाग्ने र त्यतिवेलासम्म मदिरा पिउने प्रस्ताव राखे ।

पहिले नै मात्तिसकेका गौतमले त्यो प्रस्ताव पनि स्वीकार गरे । ट्याक्सी चालक र युवकले पहिले नै मदिरा खरिद गरिसकेका थिए। एक पेग मदिरा पिएलगत्तै युवक बेहोस भएर ढले । दुई युवक उनीसँग रहेको पैसा लिएर हिाडे । ट्याक्सी चालक अनिल तामाङ र केटी मिलाउने सञ्जीव बोहोराले योजनाबद्ध रूपमा नायिका मिलाउने भन्दै मदिरामा बेहोस हुने औषधि मिलाएर लुटेका हुन्।

५ साउनमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनीहरूलाई पक्राउ गरी चोरी मुद्दा चलायो । अदालतले दुवैलाई २५–२५ हजार धरौटीमा छाडिदिएको वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले बताए । काठमाडौंको पर्यटकीय हब ठमेलभित्र हरेक दिनजसो यस्ता घटना भइरहन्छन् । वेश्यावृत्ति, ठगी र लागुऔषध कारोबारको हबका रूपमा ठमेल बदनाम हुन थालेको खबर नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

13966