साउदीमा नेपालीले यसरी मनाए क्वाटीपूर्णे

महेश श्रेष्ठ – साउदी अरब/वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहेका नेवारहरुले अन्य जाति र समुदायका मानिसहरुका साथमा क्वाटीपूर्णे मनाएका छन्।

जुबैलस्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्टमा नेवाः समाज साउदी अरबले क्वाटीसहित समयबजी र बाराको भोजको आयोजना गरेर मनाएका हुन्।

साउदी अरबमा पहिलो पटक क्वाटीपूर्णे मनाएका उनीहरुले नेपालमा जस्तै मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडी नौ थरी गेडागुडीलाई भिजाई टुसा उमारेर क्वाटी बनाएका थिए। क्वाटीलाई आवश्यक पर्ने मसलाहरु लगाउनुका साथै ज्वाँनो, मेथी र कालो जिरा फुराएर घिऊले झानेर स्वादिष्ट क्वाटीको भोज खुवाएका थिए।

त्यसैगरी सिद्रा, अदुवा, भट्मास, अण्डा, लहसुन, च्यूरा लगायतको समिश्रण गरिएको समयबजी र कालो दालको बारा समेत भोजका रुपमा पस्किएका थिए । शुक्रबारका दिन आयोजित उक्त क्वाटी भोजका अवसरमा समाजले रेष्टुरेण्टमा आएका सम्पूर्ण नेपालीहरुलाई क्वाटीले स्वागत गरेको थियो।

भोजका अवसरमा समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले क्वाटीपूर्णेको पौराणिक पक्ष र महत्वका बारेमा जानकारी दिएका थिए । समाज अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख सल्लाहकार जेश कुमार श्रेष्ठले सामाजिक सद्भभाबको प्रतीक स्वरुप पहिलो बटुको क्वाटी बाल कृष्ण पङेनीलाई प्रदान गरेर क्वाटी भोजको प्रारम्भ गरिएको थियो।

क्वाटी भोजको संयाेजन अकल प्रधान, तेजुकुमार श्रेष्ठ र सुकुचन शाक्यको टोलीले गरेको थियो । समयबजी र बारा कृष्ण श्रेष्ठ, सुर्य श्रेष्ठ र रोशन एन श्रेष्ठले तयार गरेका थिए । समाजले यसअघि योमरी पुन्ही समेत मनाईएको थियो।

कार्यक्रममा नेपाली साझा मंच, एनआरएनए लगायतका सामाजिक संघसंस्थाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । क्वाटी भोजमा सहभागिहरुले नेपालमै भोज खाए जस्तो महशुस भएको अनुभूति व्यक्त गरेका थिए।





Comments

comments

Leave a Reply

14019