अमेरिका जाने खर्च माग्दै पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति रामवरण यादवले उपचारका लागि अमेरिका जानुपर्ने भन्दै सरकारसँग रकम मागेका छन् । भारतको चण्डिगढमा हालै भएको उपचारपछि अमेरिका जानुपर्ने भन्दै पूर्वराष्ट्रपति यादवले सरकारसँग खर्च मागेका हुन् । अमेरिकामा हुने उपचारका लागि आर्थिक व्यवस्था मिलाउन आग्रह गर्दै बुधबार उनका स्वकीय सहायक किरण पन्थीले मुख्य सचिव सोमलाल सुवेदीलाई भेटेर पत्रसमेत बुझाएका छन् ।

यादव प्रोस्टेट ट्युमर (पिसाबसम्बन्धी समस्या) का कारण बिरामी भएर साउन तेस्रो साता चण्डिगढ गएका थिए । पुष्पकमल दाहाल नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद बैठकले भारतमा भएको उनको स्वास्थ्योपचारका लागि १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । उक्त रकम यादवले बुझिसकेका छैनन् ।

चण्डिगढमा चिकित्सकले उच्च चिकित्सा प्रविधि प्रयोग गरी केही हप्ताभित्रै शल्यक्रिया गराउन सुझाव दिएकाले पूर्वराष्ट्रपति यादव यथाशीघ्र सुविधासम्पन्न अस्पताल जानुपर्ने भएको उनका स्वकीय सचिवालयले मुख्य सचिवलाई बुझाएको पत्रमा उल्लेख छ । नेपालमा उक्त सुविधा नरहेको भन्दै अमेरिका जान इच्छुक यादवले त्यहाँको एक अस्पतालमा सेप्टेम्बर दोस्रो साताका लागि समय पाएका छन् ।

पूर्वराष्ट्रपति यादव, छोरी अनिता, सुरक्षाकर्मी र सहयोगी गरी ४ जनाको यातायात, कम्तीमा डेढ महिनाको अमेरिका बसाइ र अस्पतालमा गरेर एक करोडभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । यादव निकट स्रोतका अनुसार अप्रेसन गराउन खोजेको अस्पतालमा सुरुमै ३७ हजार डलर डिपोजिट गर्न भनेको छ । अस्पतालमा ६३ हजार डलर खर्च हुने अनुमान छ । कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

14023