तमुवान आन्दोलनलाई शसक्त बनाउन पोखरामा राई लिम्बूहरुको भेला

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १ असोज। तमुवान आन्दोलनलाई शसक्त बनाउन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले केन्द्रीय सचिव गजेन्द्र सुब्बाको संयोजकत्वमा ५१ सदस्यीय संघीय तमुवान मञ्च, प्रान्तिय तदर्थ समिति गठन गरेको छ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तमुवानको आयोजनमा पोखरामा आयोजित अन्तरक्रियात्मक भेलाद्धारा गठित समितिको सचिवमा बालकुमार राई, सदस्यहरुमा देउमान लिम्बु, टिकन आङबाङ, राजमान लिम्बु, नरमाया लिम्बु, मदन लिम्बु, गणेश राई, अरुण लिम्बु, विशाल राइ, उषा सुब्बा, पे्रम चोम्बाहाङ, सुजन राई, चेतन राई, सञ्जिव राई, रामकुमार लिम्बु, धनबहादुर लिम्बु, मानबहादु लिम्बु, दिपेस लिम्बु लगायत रहनुभएको छ। तदर्थ समितिको नाम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले घोषणा गर्नुभएको थियो।

यस अघि कार्यक्रमको दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै प्रमुख अतिथि लिङ्देनले आन्दोलन विना अधिकार प्राप्ति नहुने भएकाले १० भौगोलिक र १ गैरभौगोलिक गरी ११ पहिचानजन्य प्रदेश घोषणा, संघीयता, स्वायत्तता, समानुपातिक प्रतिनिधीत्वसहित प्रदेश प्रदेशमा संघीय मञ्चहरु गठन आवाश्यक भएकाले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जुटेको बताउनुभयो।

संघीय लिम्बुवान मञ्चले लिम्बुवान प्राप्तिको आन्दोलनलाई सशक्त बनाइरहेको छ भने तमुवान प्राप्तिका लागि संघीय तमुवान मञ्चले भुमिका खेल्ने बताउनुभयो । अब एकल नेतृत्व होइन, प्रदेश प्रदेशका नेतृत्व विकास गरी सामुहिक नेतृत्वको विकास गरी राष्ट्रिय मञ्चले अगुवाई गर्ने अवधारणा नेता लिङ्देनले प्रस्तुत गर्नुभयो । उहाँले मेची देखि महाकाली, हिमाल देखि पहाड सम्मका भुगोल र समुदायमा मञ्चले भावना जोड्दै पहिचान, अधिकार, संघीयता, समानुपातिक प्रतिनिधीत्व लगायतको साझा मुद्धामा एकिकृत आन्दोलनमा महत्वपुर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले पहिचानजन्य दश प्लस एक प्रदेश आफुहरुले नछाड्ने बताउनुभयो।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष विष्णुमाया तुम्वाहाम्फे, मञ्चका अर्थसचिव दिपा लिम्बु, संघीय लिम्बुवान मञ्चकी महासचिव आसा योङहाङ, उपमहासचिव भविराज लिम्बुले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै तमुवान प्राप्तिका निम्ती लिम्बुवानको साथ सहयोग र एक्यवद्धता रहने बताउनुभयो।

यसरी नै तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङ, नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य रामजी थापा, संघीय समाजवादी फोरम कास्कीका सचिव गिरीप्रसाद गुरुङ, भुजेल समाजका प्रतिनीधि कुलबहादुर भुजेल, तमु ह्युल छोंज धिं कास्कीका प्रचार सचिव विजय गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुहुदै पहिचानसहितको प्रदेश तमुवान, लिम्ुवान प्राप्ति र अधिकारका सुनिश्चित गराउन देशैभरका विभेदमा पारिएका जनता एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सचिव गजेन्द्र सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा बालकुमार राईले कार्यक्रम संचालन गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

14297