भारतमा प्रधानमन्त्रीले किन भेटे फरार अभियुक्तलाई?

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधिक खोजि गरिएका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भेटेका छन्।

गतवर्ष टीकापुरमा दुई वर्षे बालक र ८ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तब्य ज्यान’ मुद्दाका मुख्यष अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ताज होटलमा भेटेका हुन्।

भारत र नेपालका लब्ध प्रतिष्ठित व्यापारीलाई सम्बोधन गर्ने कार्यक्रममा दाहालले मञ्चमै भेटेका हुन्।

चौधरीले मञ्चमै पुगेर प्रधानमन्त्री दाहालसँग केही समय कानेखुसी गरेका थिए । चौधरी कार्यक्रम अवधिभर प्रधानमन्त्री उपस्थित ताजको हलमै थिए । त्यस दिन साँझ सात बजे प्रधानमन्त्री र चौधरीबीच केही समय मञ्चमै कुराकानी भएको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।

गत वर्ष भदौ ७ गते भएको कैलाली नरसंहारको घटनापछि चौधरी भारतमै लुकेर बसेका छन् । प्रहरीले अभियोगपत्रमा चौधरीलाई घटनाको मुख्य योजनाकार रहेको दाबी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय कैलालीले उनीविरुद्ध सर्वस्वसहित जन्मकैद माग गर्दै अदालतमा मुद्दा चलाएको छ । घाइतेका तर्फबाट चौधरीलगायत व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग र मारिएका प्रहरीको एसएलआर तथा पेस्तोल कब्जामा लिएको भन्दै ‘डाँका चोरी’ मुद्दा पनि दर्ता गरिएको छ।

भ्रमण दलमा संलग्न स्रोतका अनुसार त्यहाँ चौधरीले कैलाली घटनाका विषयमा आफूविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा रहेकाले नेपालमा जान समस्या रहेको भन्दै मन्त्रिपरिषद्बाट मुद्दा फिर्ता लिइदिन आग्रह गरेका थिए । ‘कैलाली घटना राजनीतिक रहेको चौधरीको भनाइ थियो।

त्यसमा आफू संलग्न नरहेकाले क्याबिनेटले फिर्ता लिनुपर्‍यो भनेर प्रधानमन्त्रीसँग कुरा राखिएको थियो’, उच्च स्रोतले अन्नपूर्णसँग भन्यो, ‘प्रधानमन्त्रीले आफू सकारात्मक रहेको भन्दै नेपाल फर्केर सकारात्मक रूपले मन्त्रिपरिषद्मा छलफल गर्ने आश्वासन दिनुभयो । अरू के कुरा भयो थाहा भएन । उहाँलाई भेटबारे पूर्वजानकारी नरहेको हुनसक्छ ।’ प्रधानमन्त्री दाहालले चौधरीका कुरा ध्यानपूर्वक सुनेका थिए । उनले चौधरीको अवस्थाबारे सोधेका थिए।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले चौधरीलाई पक्राउका लागि वारेन्ट जारी गरेको छ । अदालतको आदेशअनुसार उनी सर्वाधिक खोजीको सूचीमा छन्। यद्यपि उनले टीकापुर घटनामा आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । सरकारका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले यो विषय आफ्नो जानकारीमा नरहेकाले भेट्न हुने वा नहुने विषयमा केही नबोल्ने बताए।

फौजदारी अपराधका विज्ञ पूर्वमहान्यायाधिवक्ता प्राध्यापक डा. युवराज संग्रौलाले औपचारिक भ्रमणमा विदेशमा गएका बेला त्यस देशको एजेन्डाबाहेक अरू विषयमा कुराकानी गर्न नपाइने बताए।





Comments

comments

Leave a Reply

14319