कृतिका भेडेटारको पर्यटन सद्भावनादूत


तस्वीर ः मिस पूर्वाञ्चल कृतिका गिरीलाई पर्यटन सद्भावनादूतको प्रमाणपत्र प्रदान गर्दै एसोसिएसनका अध्यक्ष लीलाराज लावती र सचिव जीतेन्द्र रुम्दालीलगायत ।

धरान, असोज ४ । पूर्वको चर्चित पर्यटकीय गन्तव्यको पर्यटन सद्भावनादूतमा मिस पूर्वाञ्चल २०१६ विजेता कृतिका गिरी नियुक्त भएकी छिन् ।

भेडेटार होटल एसोसिएसनले गिरीलाई एक कार्यक्रम आयोजना गरी सद्भावनादूत घोषणा गरेको हो । होटल भेडेटार भ्यूमा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष लीलाराज लावती, सचिव जीतेन्द्र रुम्दाली राई लगायतले उनलाई एक वर्षका लागि पर्यटन सद्भावनादूतको नियुक्तिपत्र प्रदान गरे । भेडेटारको नयाँ पर्यटन सद्भावनादूत नियुक्त भएपछि गिरीले भेडेटारको पर्यटन विकासमा आफूले सक्दो सहयोग गर्ने बताईन् । भनिन् ‘मैले बोल्ने मञ्च वा सामाजिक सञ्चाल मार्फत भेडेटारको पर्यटन प्रवद्र्धनको काम गर्नेछु।’

कार्यक्रममा मिस पूर्वाञ्चल २०१५ प्रियंका श्रेष्ठलाई एसोसिएसनले पर्यटन सद्भावनादूतबाट विदाई गरेको छ । अध्यक्ष लावतीले उनलाई धन्यवादपत्र प्रदान गरे । विदाईका अवसरमा बोल्दै श्रेष्ठले आफु सद्भावनादूतबाट विदाई भएपनि पहिला जस्तै भेडेटारको पर्यटन प्रवद्र्धनमा लाग्ने बताईन् । एसोसिएसनले तीन वर्षदेखि मिस पूर्वाञ्चलका विजेतालाई पर्यटन सद्भावनादूत नियुक्त गर्ने गरेको छ । मिस पूर्वाञ्चलका विजेताले सामाजिक सञ्जाल तथा विभिन्न मञ्चका कार्यक्रममा भेडेटारको प्रवद्र्धन गरेपछि यहाँको पर्यटन विकासका थप टेवा पुगेको एसोसिएसनका अध्यक्ष लावतीले बताए । उनले भने ‘उहाँहरुले एकपटक बोलिदिंदापनि धेरैको ध्यान आकर्षण हुन्छ।’

कार्यक्रममा मिस पूर्वाञ्चलको आयोजक सिल्भर इन्टरटेन्मेन्टका अध्यक्ष दिपक बनेपाली, निर्देशक सौरभ श्रेष्ठ, निर्देशक छत्र लिम्बु, मिस पूर्वाञ्चल फस्टरनरअप ममता कार्की, सेकेन्डरनरअप इक्सा मादेन लगायतको उपस्थिति थियो । सिल्भर इन्टरटेन्मेन्टले पनि भेडेटारको पर्यटन प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । सोहि अवसरमा भेडेटार होटल एसोसिएसनले दशैंको अवसरमा भेडेटार चंगाचेट उत्सव कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । एसोसिएसनले असोज २१ र २२ गते भेडेटारमा चंगा चेट कार्यक्रम गर्ने भएको हो । एसोसिएसनले पूर्वमा पहिलो पटक सुरु गरेको चंगाचेटको यो दोस्रो संस्करण हो । एसोसिएसनका सचिव जीतेन्द्र रुम्दाली भन्छन् ‘भेडेटारको पर्यटनमा चंगाचेट नयाँ आयाम थपिएको छ ।यसलेपनि पर्यटकलाई आकर्षित गरिरहेको छ।’





Comments

comments

Leave a Reply

14335