भेडेटारमा हुस्सु र कुहिरोबीच चङ्गाचेट सम्पन्न

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
भेडेटार, बिश्व पर्यटन दिवस तथा बिजया दशमीको अवसरमा पूर्वाञ्चलकै प्रमुख पर्यटकीय स्थल भेडेटारमा पूर्वाञ्चलमा पहिलो पटक दुइदिने चङ्गाचेट उत्सव भव्यताका साथ सम्पन्न भएको छ।

वाक्लो कुहिरो तथा बर्षाकाबीच खुल्ला आकासमा उडेका चंगालाई चेट गर्दै भेडेटारमा प्रथम चंगाचेटको सुरुवात भएको थियो।

पहिलो दिनको लगातार बर्षाले ५ घण्टा ढिलो बेलुकी ४ बजे कार्यकर्मको औपचारिक उद्घाटन प्रमुख अतिथि बिराट पर्यटन बिकाश समितिका अध्यक्ष डिल्लीराम अधिकारी तथा मिस पूर्वानञ्चल २०१४ नमिता आन्ग्बुहंग लिम्बु, मिस पूर्वाञ्चल २०१३ नेहा बजाज, मिस पूर्वाञ्चल २०१४ सेकेन्ड रनरअप निलम थापालगायतका अतिथिले चंगा तथा बेलुन उडाएर गरेका थिए।

उद्घाटनपछि चर्चित गायकहरु ए पी शेर्पा, नवराम राई, बबिन लिम्बु, रोशन राईलगायतले आ- आफ्ना गीतहरु सुनाएर भेडेटारको चिसोलाई तताएका थिए भने भेडेटार बजार पुरै चंगामय भएको थियो।

होटल एसोसीएसन भेडेटारको आयोजना तथा सिल्भर ईन्टरटेनमेनको ब्यबस्थापनमा भएको सो उत्सवको दोस्रो दिन धरानस्थित ग्रीन व्हील्सको अगुवाइमा ३१ जना साइकलयात्रीहरुले धरानदेखि भेडेटारसम्मको १६ कि.मि. उकालो काटेका थिए। धरानवाट आएका माउण्टेन वाईक टोलीले माउण्टेन वाईक स्ट्रन गरेर दोस्रो दिनको कार्यकर्मलाई थप मनोरञ्जन दिलाएका थिए।

पूर्वमा प्रदुशनरहित माउण्टेन बाइकको आकर्षण बढ्दै गएकोले र्यालीको आयोजना गरेको ग्रीन व्हील्सका संचालक हेम लिम्बुले बताए। चङ्गाचेटसहित लिङ्गे पिङ, माउन्टेन बाईक र्याली, फेस पेन्टिङ्ग, फुड स्टल तथा सांस्कृतिक कार्यक्रमलगायत थप आकर्षण रहेको प्रतियागितात्मक तथा मनोरञ्जनात्मक रुपमा आयोजना गरिएको उत्सवमा दुई दर्जन बढि प्रतियोगीले सहभागिता जनाएका छन् भने सयौको संख्यामा युवायुवतीहरु मनोरञ्जनात्मक रुपमा बिभिन्न जिल्लाका आन्तरिक पर्यटकको रुपमा सहभागिता रहेको थियो।

चङ्गा चेट प्रतियोगितामा भने मकालु भ्यु होटलका प्रोप्राईटर गजेन्द्र कुलुङले सर्वाधिक ५ पटक चङ्गाचेट गरेर प्रथम स्थान हासिल गरेका छन्। प्रतियोगितामा तीनवटा चंगा चेट गरेका भेडेटारकै राजकुमार लिम्बुले दोस्रो र दुई वटा चंगा चेट गरेका अभिषेक राईले तेस्रो स्थान हात पारे। अन्य सयौ पर्यटकले चंगाचेटको मज्जा लिएका थिए। बिशेष गरी राजधानीमा मात्र हुने गरेको सो उत्सब राजधानी बाहिर नै पहिलो पटक भएको हो र सो उत्सबले भेडेटारको पर्यटन प्रबद्धन गर्न थप सहयोग गर्ने होटल एसोसिएसन भेडेटारको सचिव जितेन्द्र रुम्दालीले जानकारी दिए।

दोस्रो दिन विश्व पर्यटन दिवसको अवसर परेर होटेल एशोसिएसन भेडेटारले मिस पूर्वाञ्चल २०१४ नमिता आन्ग्बुहांग लिम्बुलाई भेडेटार पर्यटन सद्भावनादूत घोषणा गरेको थियो। भेडेटारको पर्यटन प्रर्वधनमा हरेक तवरले सहयोगी भएर अघि बढ्ने पर्यटन सद्भावनादूत घोषित नमिता आन्ग्बुहंगले प्रण गरिन भने सद्भावनादूतबाट भेडेटारले पर्यटन प्रर्वधनमा राम्रो भूमिका खेल्ने कुरामा ढुक्क रहेको होटल एशोसिएसन भेडेटारको अध्यक्ष लिला राज लावतीले बताए। कार्यक्रमको सफलताले हौसिएको होटल एशोसिएसन भेडेटारले भेडेटार पर्यटन प्रर्वधनको लागि अन्य थुप्रै यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने अध्यक्ष लावतीले बताए।





Comments

comments

1448