फूलमा रमाउँदै वसन्त…

अर्जुन गिरी –
पोखरा, उनको पोखरा–१७ बिरौटा चोकैमा एउटा पसल छ । एक दशक भन्दा बढी भयो उनले पसल चलाएको । तर अहिले उनी अर्थात वसन्त भण्डारी कुशल पुष्प व्यवसायीको रुपमा पोखरा स्थापित भएका छन्। उनलाई त्यो पसलबाट राम्रो आम्दानी नभएर होइन उनले पुष्प व्यवसायी सुरु गरेको । वसन्तको मनमा फूल व्यवसायी भन्ने बिउ त्यति बेला छरियो जब उनले तिहारको लागि राम्रा थँुगा सयपत्री फूल फेला पारेनन् । ‘जति भन्यो त्यतिनै मूल्य तिरेर किन्छु’ भन्दा समेत उनले भनेजस्तो फूल पाएनन्।

६ वर्ष अघि उनीलाई भाईटीकाको लागि माला गास्न सयपत्री फूल नै चाहियो भनेर घरबाट खटाए । वसन्तले राम्रो सयपत्री फूलको थुंगा खोज्दै हिँडे तर उनको आँखामा लाग्ने फूल नै फेला परेन । रोजेको फूल नपाएपछि उनले बजारमा जस्तो थियो, त्यस्तै फूल किन्न बाध्य भए । त्यो कुराले वसन्तको चित्तै परेको थिएन । त्यसपछि वसन्तले ‘आफूलाई चाहिएको जस्तो फूल आफै लगाएर देखाउछु’ भन्ने अटोट मनमा पलायो । त्यसपछि उनले बिरौटा चोकनिर आफ्नो पसल पछाडिको २ रोपनी जग्गामा सयपत्री फूल रोपे।

पहिलो अनुभव तर उनी सफल भए । आफ्नो घरको लागि मात्र होइन वसन्तले पहिलो वर्ष बेचेर २० हजार कमाए । वसन्तलाई रकमका हिसाबले त्यो पैसा हजार भएपनि सफलताको हिसाबले करोडौं लाग्नु स्वभाविकै थियो । त्यसपछि उनलाई पुष्प व्यवसाय गर्नुपर्छ भन्ने उत्साह थपियो । अनि सुरु गरे उनले पुष्पको व्यवसाय । त्यसपछि उनले मासबार गैरी खेतमा ४ रोपनी जग्गा लिएर धान फल्ने खेतमा फूलको बहार ल्याइदिए । वाराही नर्सरी नाम दिएर उनले अहिले फूलबाटै राम्रो आम्दानी गरेका छन् । अहिले उनले मासिक ३ लाख अम्दानी गर्छन फूलबाट ।
बिरौटाको दुई रोपनी र मासबार ४ रोपनी गरेर ६ रोपनीमा फूल व्यवसाय गरेको वसन्त बताउँछन् । ‘राम्रो आम्दानी छ,’ उनले भने, ‘म फूल व्यवसायबाट सन्तुष्ट छु।’

वसन्तले यसपटक तिहारलाई लक्षित गरी ३ लाख ७५ हजार खर्च गरेर सयपत्री पूफल लगाएका छन् । ‘गत वर्ष भन्दा यस पटक राम्रो हुन्छ,’ उनले भने, ‘पोहोर बिउ राम्रो भएन त्यसैमाथि पानीले पनि बिगार्यो,’ उनले भने, ‘यस पटक निकै राम्रो भएको छ, बजारमा फूलको मागपनि उत्तिकै छ ।’ उनले सयपत्री फूल थुंगाको हिसाबले बेच्ने गरेको बताए । ‘थुंगा हेरेर त्यसको मूल्य तोकिन्छ,’ उनले भने, ‘हामी ३ देखि ५ रुपैयाँसम्म एउटा थुंगा बेच्छौ ।’ सामन्यतया एउटा माला गास्न ३० वटा थुंगा चाहिने उनी बताउँछन् । ‘तिहार भाईटीकाको लागि सयपत्री नै महत्व बढी हुन्छ,’ उनले भने, ‘त्यही भएर सबै सयपत्री मात्र लगाएको छु।’


तिहारका लागि तयार सयपत्री फूलको आफ्नो बगैंचामा पोखरा—१७ बिरौटास्थित वाराही नर्सरीका वसन्त भण्डारी । उनी सयपत्रीको एउटा थुंगा ३ देखि ५ रुपैयाँगोटामा बिक्री हुने बताउँछन्। तस्बिरः अर्जुन गिरी

विदेशवाट बिउ मगाएर यस पटक दुई थरिको सयपत्री फूलको बिउ रोपेको उनले बताए । ‘एउटा कलकोतिया र अर्को अमेरिकन मेरी गोल्ड रोपेको हो,’ उनले भने, ‘एउटा बोटमा कलकोतियाले सामान्यतया २ सय वटा थुंगा र मेरी गोल्डले ७० वटा थुंगा हाल्छ ।’ यस पटक सबै गरेर करिब ४ लाख ५० हजार वटा थुंगा फूल उत्पादन हुने उनको आकलन छ।

वसन्त तिनै फूल व्यवसायी हुनु जसलाई फूल व्यवसायमा राम्रो गरेको भन्दै जिल्ला कृषि कार्यालय कास्कीले गत वर्ष पुरस्कृत समेत गर्यो । पुरस्कार स्वरुप ५० हजारको टनेल र १० हजारको बिउ समेत प्राप्त गरेको वसन्त सुनाउँछन् । ‘पुरस्कारले यही व्यवसायमा लाग्न थप मद्धत गर्यो,’ उनले भने, ‘गत वर्षको भन्दा बढी मिहिनेत गरेको छु यस पाला, यस पटक गत वर्षको भन्दा निकै राम्रो हुने उनको अपेक्षा छ ।’
फूल व्यवसायी गर्नेलाई प्रोत्साहन गर्न सरकारी तवरबाट अझ बढी पहल हुनुपर्ने उनको धारणा छ । ‘सरकारी तवरबाट सहयोग हुने हो भने फूल खेती गर्नेको संख्या थपिन्छ,’ उनले भने, ‘सरकारले मल बिउ अनुदान मात्र दियो भने धेरै हुन्थ्यो ।’ राम्रो आम्दानी गर्न विदेश नै जान नपर्ने उनले बताए । ‘खाडी मुलुकमा गएर मर्ने गरी दुख गरेर कमाउने पैसा आफ्नै देशमा कमाउन सकिन्छ,’ उनले भने, ‘राम्रोसँग फूल खेती गर्यो भने वार्षिक ३/४ लाख सजिलै कमाउन सकिन्छ ।’





Comments

comments

Leave a Reply

14748