मलेसियामा ३ नेपालीलाई मृत्युदण्डको सजाय, ७ विरुद्ध मृत्युदण्डको माग

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ३ नेपाली कामदारलाई विभिन्न अपराधमा संलग्न रहेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको फैसला गरेको छ । विभिन्न अपराधमा संलग्न भएको भन्दै मलेसियामा थप ७ जना नेपालीलाई मृत्युदण्डको फैसला हुने सम्भावना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले दिएको जानकारीअनुसार लागुऔषधको कारोबारमा पक्राउ परेका नुवाकोटका हरिबहादुर घलेलाई मलेसियाको सर्वाेच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

५ वर्षअघि नै मृत्युदण्डको फैसला सुनाइए पनि हालसम्म सजाय भएको छैन। घलेलाई बचाउनका लागि दूतावासले कूटनीतिक पहल गरिरहेको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिए । त्यस्तै, हत्या आरोपमा पक्राउ परेका सुरजबहादुर सुनार र सुवीर गोलेलाई उच्च अदालतले मृत्युदण्डको फैसला गरिसकेको छ। उनीहरूको विषयमा सर्वाेच्च अदालतमा फैसला हुन भने बाँकी छ।

मलेसियामा हत्या आरोपमा पक्राउ परेका रुपेशकुमार कापर, प्रविनकुमार शर्मा, सुरेन्द्र मुखिया, अमर गुरुङ, अशोक लामा, सुजन श्रेष्ठ र लागू औषधको अपराधमा राजकुमार शाहका विषयमा पनि मृत्युदण्डको माग गर्दै परेको मुद्दामा अदालतमा बहस सकिएको दूतावासले जनाएको खबर नयाँपत्रिकामा छ।

मलेसियामा १ जनालाई सर्वाेच्च अदालतले र २ जनालाई उच्च अदालतले मृत्युदण्डको फैसला गरेको बस्न्यातले बताए। ‘अरू ७ जनाका विषयमा पनि विभिन्न स्थानका उच्च अदालतमा मृत्युदण्डकै माग राखेर हालिएका मुद्दामा बहस सकिएको छ,’ उनले भने । यसअघि उस्तै प्रकृतिको अपराधमा मृत्युदण्ड दिएको हुनाले बहस गर्ने वकिलले उनीहरूलाई पनि मृत्युदण्डकै सजाय हुन सक्ने बताएको बस्न्यातले जानकारी दिए।

अभियुक्तहरूको विषयमा बहस गर्न अदालतमा नेपाली ४ लाखदेखि १० लाख रुपैयाँसम्म अदातलमा धरौटी राख्नुपर्ने भएकाले दूतावासले त्यस विषयमा नेपाल सरकारलाई जानकारी गराइसकेको दूतावासले जनाएको छ।

दूतावासले एकजना वकिल राखेर मलेसियाको जेलमा रहेका नेपालीहरूका बारेमा अध्ययन गरेपछि गम्भीर अपराधमा रहेका नेपालीहरूको अवस्था पत्ता लागेको हो । दूतावासका प्रथम सचिव उत्तम शाहीले दूतावासले वकिल राखेर जेलमा रहेका नेपाली कामदारको अध्ययन गरेपछि मृत्युदण्ड पाएका र पाउने तयारीमा रहेका कामदारका बारेमा जानकारी भएको बताए।

नेपालीलाई मृत्युदण्डको सजायबाट बचाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने शाहीले बताए । ‘मलेसियामा ब्लडमनीको व्यवस्था नभएकाले राजाले माफी दिएमा मात्र मृत्युदण्ड रोकिन सक्छ, त्यसो भएकाले सरकारले पहल गर्नुपर्छ,’ उनले भने।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14768