लण्डन जाना खोज्दा माओवादी नेता सिपी गजुरेलले किन कुटाई खाए?

नेपालमा हाम्रो पार्टीले सुरु गरेको जनयुद्धले विभिन्न आरोह–अवरोह पार गर्दै अगाडि बढिरहेको थियो । देशभित्र माओवादी युद्धलाई दमन गर्ने नीतिअन्तर्गत तात्कालीन सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय दुवै हथकन्डा प्रयोग गरिरहेका थिए । हामी पनि त्यसको काउन्टरमा राष्ट्रिय–अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा जनयुद्धको रक्षा, विकासका लागि उत्तिकै प्रचार–प्रचारमा लागिरहेका थियौँ । देशभित्र हाम्रा टाउकाको मूल्य तोकिएको थियो । यस्तो वेला अन्तर्राष्ट्रिय क्षेत्रमा जनयुद्धको विकासअनुसार प्रचारप्रसार पुगिरहेको थिएन । पार्टीले माथिल्लो स्तरबाटै प्रचारमा पहलकदमी लिने नीतिगत निर्णय लियो ।

म त्यसवेला पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा रिम कमिटीको सदस्य थिएँ । अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन पार्टीका तर्फबाट आफैँ विदेश पुगी अन्तर्राष्ट्रिय भाइचारा स्थापित गर्ने र नेपाली जनयुद्धको पक्षमा माहोल सिर्जना गर्ने निर्णय पार्टीको बन्यो । तर, जाने

कसरी ? यस विषयमा रिम कमिटीमा पनि छलफल चल्यो । त्यो कमिटीले पनि हाम्रो पार्टीको त्यस्तो निर्णयलाई स्वागत मात्र गरेन, त्यसका लागि आवश्यक सहयोगसमेत पु-याउने निर्णय ग-यो।

तर, युरोप कसरी जाने ? भिसा कसरी बनाउने ? सम्पूर्ण प्रक्रिया कसरी सुरक्षित बनाउने भन्ने चुनौती थियो । हामीलाई नेपालमा टाउकाको मूल्य तोकिएको अवस्था थियो । त्यस्तो वेला विदेशबाट नै कसैले पासपोर्ट सहयोग गरे सजिलो हुने सल्लाह भयो । त्यसका लागि साथीहरूले पहल गर्नुभयो । त्यहीवेला एकजना ब्रिटिसले नेपालको क्रान्तिका लागि मेरो सहयोग हुनेछ भनेर भारतमा भिसा लागेको आफ्नो पासपोर्ट मलाई उपलब्ध गराएर सहयोग गर्न तयार हुनुभयो।

अर्काको पासपोर्टमा मेरो फोटो
ती ब्रिटिस नागरिक, जसको नाम अहिले मैले बिर्सें,को पासपोर्टमा मेरो फोटो टाँसियो । पासपोर्टमा अरू सबै ठीकठाक देखिए पनि एउटा सानो समस्या थियो । मेरो फोटोको एकापट्टि कुनामा अलिकति खुम्चिएछ । तैपनि, त्यसैलाई प्रयोग गरेर म युरोप जाने भन्ने भयो । सन् २००३ को सेप्टेम्बरमा पार्टी निर्णयअनुसार म युरोप जान तयार भएँ ।

तर, यस विषयमा पार्टीभित्र र बाहिर पनि त्यत्ति छलफल गरिनु उपयुक्त हुँदैनथ्यो । पार्टीभित्र अध्यक्ष प्रचण्ड र हाल प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र रिमबाट जसले मलाई पासपोर्टमा सहयोग गर्नुभएको थियो, तीनजनालाई मात्र जानकारी थियो । सुरक्षाका दृष्टिले पनि यस विषयमा धेरैसँग छलफल गरिनु उपयुक्त हुँदैनथ्यो ।

पासपोर्टमा मेरो फोटा टाँसी तयार भएर आएपछि अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘रिक्स पनि हुनसक्छ, के गर्ने ?’ मैले भने, ‘रिक्स मोल्नै पर्छ, मोल्ने ।’ त्यसपछि म जान तयार भएँ । नीतिगत रूपमा युरोप पार्टीको प्रचारका लागि जाने भन्ने भएको थियो । यो विषय कमरेड किरण (मोहन वैद्य)लाई पनि जानकारी थियो । तर, कहिले कसरी जाने भन्नेबारे भने उहाँलाई पनि जानकारी गराइएको थिएन । विषयको संवेदनशीलतालाई मध्यनजर गरी अन्य नेतालाई पत्तोसम्म दिइएको थिएन ।

अब टिकटका लागि पहल भयो । टिकट ‘कन्फर्म’ भयो । फ्लाइटअघि विमानस्थलमा हुने सबैजसो ‘चेकजाँच’ भइसकेको थियो । ‘ब्यागेज’ जाँच हुँदासम्म केही समस्या आएको थिएन । तर, अन्तिममा इमिग्रेसन चेकअप हुँदा उसले जहाँ फोटोे खुम्चिएको थियो, त्यहीँ हे-यो । उसले मेरो नाम के हो ? जान लागेको देशको कुन ठाउँ हो ? आदि इत्यादि सबै सोध्यो ।

‘जसको पासपोर्ट म प्रयोग गर्दै थिएँ, त्यहाँ भएका सबै विवरण सबै कन्ठै गरेर गएको थिएँ, फररर भनेँ । लन्डनको ठाउँ पनि कन्ठै थियो । हस्ताक्षर गर्न लगायो, मैले धेरैपटक प्रयास गरेर दुरुस्तै गर्ने भइसकेको थिएँ । त्यहीअनुसार नै गरेँ । मलाई सोध्दा उनीहरू स्वयं दुविधामा परिरहेका देखिन्थे ।

उसले शंका गर्न थाल्यो भन्ने मलाई परिरहेकै थियो । उनीहरूले अनेक खालका प्रश्न तेस्र्याउन थाले । मैले नअड्कीकनै सबै बताइरहेँ । त्यहीवेला एकजना ब्रिटिस महिला आइन् । उनका श्रीमान् ब्रिटिस हाई कमिसनमा काम गर्दा रहेछन् । उनका श्रीमान् लन्डन जाँदै रहेछन् । तिनी भिआइपी भएकाले उनलाई माथिसम्म जान दिएका रहेछन् । उनी आफ्ना श्रीमान्लाई छाड्न भनेर माथि पुगेर फर्केर आउँदै रहिछन् । मलाई केराकार गरिरहेकाहरूले ‘म्याडम ! अलिकति सहयोग गर्न सक्नुहुन्छ ?’ भन्दै बोलाए । उनले भनिन्, ‘किन नसक्नु?’

त्यसपछि मलाई केरकार गरिरहेकाहरूले ‘उहासँग ब्रिटिस पासपोर्ट छ, तर पासपोर्टमा प्रयोग गरिएको उहाँको फोटोमा अलिकति समस्या देखिएको छ । यस विषयमा खोजीनीति गरेर हामीलाई सहयोग गरिदिनुहोस् न।’

उनले पनि खुसी हुँदै भनिन्, ‘हुन्छ, म सहयोग गर्छु ।’ त्यसपछि ती महिला मसँग बयान लिन थालिन् । उनले पनि तिनै प्रश्न गर्न थालिन्, जुन पासपोर्टमा लेखिएको थियो । मैले पहिले दिएअनुसारकै जवाफ दिइरहेको थिएँ।

लन्डनमा के गर्नुहुन्छ ?
मैले लन्डनकै एउटा अस्पतालमा काम गर्ने बताएको थिएँ । उनी लन्डनकै रहिछिन् । जुन अस्पतालमा मैले काम गर्ने बताइरहेको थिएँ, ती महिलाका आफ्नै काका ‘सर्जन’का रूपमा काम गर्ने रहेछन्।

उनले भनिन्, ‘मेरो काका पनि तपाईंले काम गर्ने अस्पतालमै काम गर्नुहुन्छ ।’ म उनलाई खुसी बनाएर बयानबाट फुत्कन चाहान्थेँ । मैले भने, ‘राम्रै भयो, तपाईं मेरै अस्पतालमा काम गर्ने साथीको आफन्त हुनुहुँदो रहेछ । केही खबर भए भन्नुहोला, हाम्रो भोलि नै भेट हुन्छ, म सुनाइदिन्छु।’

तर, उनले आजै मात्र टेलिफोनमा काकासँग कुराकानी भएको बताइन् । उनले सोध्दै गइन्, ‘तपाईं अस्पतालसम्म केमा जानुहुन्छ ?’ मैले भने, ‘सुरुङ मार्ग हुँदै जाने टेनबाट जान्छु।’

उनी त ‘काहाँबाट ट्रेन चढ्नुहुन्छ ? कतिवटा स्टेसन पार गरेर पुग्नुहुन्छ ?’ आदि–इत्यादि पो सोध्न थालिन् । त्यसको सम्पूर्ण फेहरिस्त मलाई जानकारी हुने कुरा भएन । थाहा नपाएको कुरा गल्ती भन्नुभन्दा नबोल्नु उचित ठानेँ । त्यसपछि मैले उनलाई भनेँ, ‘तपाईं एउटा ब्रिटिस सरकारको कर्मचारी, म एउटा ब्रिटिस पासपोर्ट प्रयोग गर्ने मान्छे । तपाईं मलाई किन यतिधेरै केराकार गरिरहनुभएको छ ? के तपाईं इन्डियन पुलिस अफिसर्स हो र ? तपाईं एउटा ब्रिटिस नागरिकको हैसियतमा बस्नुस् न । तपाईंलाई आफ्नै देशका नागरिकलाई यसरी केरकार गर्ने अधिकार कसरी मिल्छ ? त्यो पुलिस अफिसर्सले गर्ने काम हो।’

उनी रातोपिरो भइन् । भनिन, ‘ल भइहाल्यो, अब म तपाईंलाई प्रश्न गर्दिनँ ।’ उनले त्यसपछि मलाई केराकार गराउन लगाएकाहरूलाई भनिदिइन्, ‘उहाँ लन्डनकै हो भन्नेमा म कन्फर्म छैन, जे गर्नुहुन्छ तपाईंहरू आफैँ गर्नुहोस् ।’

अनि कुट्न थाले
त्यसपछि त म पक्राउ परिहालेँ ।

पक्राउ गरेपछि पनि मलाई उनीहरूको त्यही प्रश्न थियो, ‘तपाईं को हो ? काहाँ जान लाग्नुभएको ? हामीलाई तपाईंको पासपोर्टमाथि शंका छ । अब तपाईंका बारेमा अनुसन्धान हुन्छ।’

मैले त्यही कुरा दोहो¥याइरहेँ । तर, उनीहरूले किन ती महिलाले पनि शंका छ भनिन् त ? भने ।

‘त्यो म कसरी जानूँ ? उनले किन मलाई शंका गरिन्, तपाईंहरू सोध्नुहोस् न के सोध्नुहुन्छ ? किन तपाईंहरू मलाई आधारविना गिरफ्तार गरिरहनुभएको छ ?’

विस्तारै उनीहरू कडा हुन थाले । ममाथि याताना दिन सुरु गरे । ‘यो पासपोर्ट तपाईंको होइन, नढाट्नुहोस्,’ उनीहरू भन्थे।

मलाई रातभर सुत्न त के बस्नसमेत दिएनन् । अनिँदैमा रात बिताइयो । बिहान उनीहरूले एकजना ब्रिटिस हाइकमान्डको मान्छेलाई झिकाइसकेका रहेछन् । उनी बिहानै आइपुगे । आउनेबित्तिकै उनले भने, ‘तपाईंलाई कस्तो छ?’

मैले भनेँ, ‘पहिले दिसापिसाब गर्ने वातावरण मिलाई दिनुहोस्, मलाई उहाँहरूले दिसापिसाब गर्नसमेत दिइरहनुभएको छैन ।’ उनले ‘उहाँलाई किन ट्वाइलेट जान नदिएको ?’ भने । त्यसपछि मात्र मैले दिसापिसाब गर्न पाएँ।

दिसापिसाब गरिसकेपछि उनैले मलाई भने, ‘कफी खानुहुन्छ ?’ मैले ‘बिहानको समय हो, कफी पिउँदा राम्रै हुन्छ, प्लिज’ भनेँ । कफी खायौँ । उनलाई त्यो पासपोर्ट मेरो हो–होइन भनेर ‘भेरिफाई’ गर्न झिकाइएको रहेछ ।

‘तपाईंलाई यिनीहरूले मुद्दा लगाउने तयारी गरेका रहेछन्, हामीलाई अफिसियल्ली यो तपाईंले प्रयोग गरिरहेको पासपोर्ट भेरिफाई गरिदिन औपचारिक लेखेर पठाएकाले त्यही ड्युटी पूरा गर्न म यहाँ आएको हुँ ।’ म केही बोलिनँ । उनले अगाडि भने, ‘तपाईंले बोकेको पासपोर्ट पेरिसबाट ‘इस्यु’ भएको रहेछ, म अब त्यहीँ पठाइदिन्छु तपाईंको फोटो खिचेर । त्यहाँ फोटो मिल्यो भने म प्लेन टिकटसहित आउँछु, फोटो मिलेन भने म केही गर्न सक्दिनँ ।’

त्यसपछि मैले भने, ‘ठीक छ, तपाईं आफ्नो ड्युटी गर्नुहोस्, म कन्फर्म छु मेरो पासपोर्ट भेरिफाई भएर आउनेछ ।’

तर, उनी आएनन् । म निश्चित भएँ, ‘म फसेँ ।’

ममाथि प्रश्नको झटारो सुरु भयो, ‘तपाईं को हो ?’ मैले त्यही जवाफ दो-याइरहेँ। (नयाँ पत्रिकाबाट)





Comments

comments

Leave a Reply

14773