भारतीय राष्ट्रपति आउनुअघि एमाले किन पुग्यो जनकपुर ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीवार दुई नम्बर प्रदेश कमिटीको आयोजनामा जनकपुरमा दसैं, तिहार र छठसहितको पर्वका अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार जानकी मन्दिरमा दर्शन तथा अभिनन्दन कार्यक्रममा सहभागी हुन भारतीय राष्ट्रपति प्रणव मुखर्जी जानु एक दिनअघि एमालेले गरेको यो कार्यक्रमलाई धेरैले अर्थपूर्णरुपमा हेरेका छन्।

अध्यक्ष केपी शर्मा ओली नपुगेपनि कार्यक्रममा दुई वरिष्ठ नेतासहित दोस्रो र तेस्रो तहका अधिकांश नेताहरु उपस्थित भएका थिए।

मधेस आन्दोलनका क्रममा मधेसवादी दलहरुले जनकपुरस्थित कांग्रेस तथा एमाले पार्टी कार्यालयमा पटक पटक आक्रमण समेत गरेका थिए। मधेसविरोधी भन्दै एमाले कार्यकर्ताहरु पनि उनीहरुको तारो बन्न पुगेका थिए।

एमाले दुई नम्बर प्रदेश कमिटीको आयोजनामा भएको यो कार्यक्रममा करिब १५ हजार एमाले कार्यकर्ता र सर्वसाधरणको उपस्थिति रहेको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

एमालेले यो कार्यक्रमलाई छठको अवसरमा शुभकामना आदान प्रदान गर्नका लागि आयोजना गरिएको दाबी गरेको छ । तर यो कार्यक्रमको तयारी भने दुई नम्बर प्रदेशले दसैँअघिबाटै थालेको थियो।

राजनीतिक नाम नदिई शुभकामना आदानप्रदान कार्यक्रम भनिएपनि एमालेले यो कार्यक्रममार्फत मधेसमा आफ्नो बलियो पकड रहेको सन्देश जनकपुरबाट मधेसी दल र भारतलाई समेत दिन खोजेको खबर कारोबार दैनिकले छापेको छ।

राष्ट्रपति मुखर्जीको जनकपुर भ्रमणको सुरक्षाव्यवस्थासहितको तयारी गर्न भारतबाट आएका अधिकारी र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरु जनकपुरमै रहेका बेला एमालेले यो शुभकामना कार्यक्रममार्फत ‘बुझिने शैली’ मा स्पष्ट सन्देश दिन खोजेको देखिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई मधेसविरोधी भन्दै भारतकै डिजाइनमा कांग्रेस र माओवादीले ढालेको आरोप एमालेवृत्तले लगाइरहेका सन्दर्भमा आजको जनकपुरको कार्यक्रममार्फत धेरै भ्रम चिर्न सफल भएको दाबी एकजना एमाले नेताको छ।

मिथिला भवन प्राङ्गणमा भएको आजको कार्यक्रममा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र नागेन्द्र चौधरीसहितका नेताहरु सहभागी थिए ।

कार्यक्रमस्थलबाट सचिव भट्टराईले अब एमाले मधेसकेन्द्रित अभियानमा लागेको जानकारी दिए । ‘भारतीय राष्ट्रपयि आउने कार्यक्रमसँग यसको कुनै साइनो सम्बन्ध छैन । हामीले पार्टीलाई तराई–मधेसमा नेकपा संगठन विस्तारमा केन्द्रित गर्दैछौं’, सचिव भट्टराईले भने, ‘एमालेबारेमा तराई–मधेसमा सिर्जना गरिएका भ्रमलाई तोड्ने काम जनकपुरबाट सुरु भएको छ ।’





Comments

comments

Leave a Reply

14845