गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको पछिल्ला निर्णय यस्ता छन्… (प्रेस विज्ञप्तिको पूर्णविवरणसहित)

प्रेस विज्ञप्ति
आदरणीय गोरखा दाजुभाइ, दिदीबहिनी तथा भान्जाभान्जीहरु साथै गोरखाली / नेपाली संघ-संस्थाहरु अनि न्यायप्रेमी एवं शुभचिन्तक नेपाली तथा वेलायती दाजुभाइ, दिदीबहिनीहरु र पत्रकार मित्रहरु अभिवादन!

देश-विदेशमा रहनु भएका सम्पूर्ण सरोकारवाला महानुभावहरुलाई पूर्णरुपमा अवगत भएकै बिषय हो कि सन् २०१३ बाट गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायत र नेपालमा आरम्भ गरेको गोरखा विभेद बिरुद्धको निर्णायक आन्दोलनले बिभिन्न चरण पारगर्दै आज चार वर्ष पूरा गरिसकेकोछ। यो ४ वर्षको दौरानमा केही उल्लेख्य उपलव्धीहरु भएपनि गोरखा सत्याग्रहले उठाएका समान पेन्सनको मूल मुद्धालगायतका महत्वपूर्ण मुद्धाहरु सम्बोधन हुन बाँकी नै रहेका छन। गोरखा सत्याग्रहले सम्पूर्ण विभेदको अन्त्य नगरिएसम्म आमरण अनशनसहितको निर्णायक आन्दोलन स्थगन वा परिवर्तन नगर्ने दृढताका साथ अघि बढिरहेको सबैमा अवगत गराउन चाहन्छौं।

अहिले पछिल्लो समय ७ नोभेम्बर अगावै बेलायत सरकारले गोरखाका मागहरु सम्बोधन नगरे वा ठोस पहल नथाले सोही दिन (७ नोभेम्बर) बाट १३ दिने सामूहिक रिले अनशन हुदै २१ नोभेम्बरबाट आमरण अनसन अख्तियार गर्ने अल्टिमेटम दिएर बेलायत र नेपाल सरकार दुवैलाई गम्भीर बन्न बिभिन्न कार्यक्रमबाट दवाव दिदै आएको सबैलाई सर्वविधितै छ। यसै सिलसिलामा नेपाल सरकारले आफ्नो जिम्मेवारी बोध गर्दै वेलायतका लागि नेपालि राजदूत महामहिम डा. दुर्गाबहादुर सुबेदीलाई अधिकार प्रत्यायोजन गरि बेलायत सरकारसंग समस्या समाधानका लागि यथाशीघ्र पहल थाल्न निर्देशित गरेकोछ।

यसै सन्दर्भमा महामहिम डा. सुबेदीले गत २८ अक्टोबर २०१६ का साँझ आयोजित ‘गोरखाका मुद्धा बिषयक छलफल’ कार्यक्रममा गोरखा सत्यग्रहका पदाधिकारीलगायत अन्य गोरखा तथा नेपाली संघ संस्थाका प्रतिनिधिहरुलाई उहांले केहि दिन अघिमात्र वेलायती कमनवेल्थ मन्त्री तथा वेलायती रक्षामन्त्रीसँग भेटी गोरखाका समस्या समाधानका बिषयमा वेलायत सरकारको धारणा बुझ्ने अवसर पाएको साथै नेपाल सरकारको धारणासमेत राख्न पाएको जानकारी गराउनु भएको थियो। उक्त बेलायती मन्त्रीहरुसंगको भेट वार्तामा बेलायत सरकार गोरखा मुद्धाका विषयमा अति गम्भीर र सकारात्मक रहेको प्रष्ट पार्दै राजदूत सुबेदीले कुटनैतिक पहलद्वारा नै समस्या समाधान गर्न सकिने भएकाले नोभेम्बर ७ को अनशनलगायतका आन्दोलन स्थगन गरिदिन नेपाल सरकारका तर्फबाट अनुरोध गर्नुभएको थियो।

तर गोरखा सत्याग्रहले यो आन्दोलन बेलायत सरकारले गरेको विभेदकाबिरुद्ध अख्तियार गरिएकाले बेलायत सरकारले कम्तीमा समय सीमाभित्र हाम्रा मागहरु सम्बोधन गर्ने भरपर्दो आधार प्रस्तुत नगरे सत्याग्रहले निर्धारित समयमा “अनशन” आरम्भ गर्न वाध्य हुने सत्याग्रह संघर्ष समितिका तर्फबाट निर्विकल्प अडान राखेपछि राजदूतले बेलायत सरकारसंग त्यसै प्रकारको कुरा गर्ने र केहि दिनमै सत्याग्रहलाई प्रतिक्रिया दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।

यसैगरी गत ३० अक्टोबर २०१६ का दिन एक संयुक्त बैठक आयोजना गरी सी.एन.एस- युके, आदिवासी जनजाति महासंघ-युके र गैर-आवासीय नेपाली संघ-युकेलगायतले पनि ७ नोभेम्बरबाट आरम्भ हुने “अनशन” को कार्यक्रमलाई स्थगन गरेर अन्य राजनैतिक र कुटनैतिक पहलबाट समस्या समाधान गर्न सत्याग्रहलाई अनुरोध गरेका थिए।

“आमरण अनशन” या “सकारात्मक वार्ता” दुबैका लागि तयारी गरिरहेको गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले अघि सारेको मुद्धाहरु सबै गोरखा जन्य संघसंस्थाहरुलगायत बेलायतस्थित नेपाली संघ संस्थाहरु र लव्ध प्रतिष्ठित महानुभावहरु र सम्पूर्ण सरोकारवाला गोरखाहरूसमक्ष २२ अक्टोबरका दिन प्रस्तुत गरी छलफल गरेर अनुमोदन समेत गराइसकेको छ।

७ नोभेम्बरबाट आरम्भ हुने सामूहिक रिले अनसन हुदै आमरण अनसनको पूर्ण तयारी भईइरहेको बेला गत ४ नोभेम्बर २०१६ का दिन बेलायती रक्षामन्त्रीले नेपाली राजदूतज्युलाई गोरखाका समस्याबारे चाडै वार्तागर्ने, प्रतिवद्धता व्यक्त गर्दै, त्यसकालागि गोरखा सत्याग्रहलाई आह्वान गरिदिन र अनशन स्थगित गरिदिन अनुरोध गर्दै लेखिएको पत्रको प्रतिलिपि नेपाली दूतावासले उपलव्ध गराएको थियो । त्यसका साथै सोही दिन नेपाली दूतावास लण्डनले पनि नेपाल सरकारका तर्फबाट वार्ताद्वारा समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरी एक विज्ञप्ति जारी गर्दै “अनशन” स्थगन गरिदिन अनुरोध गरेको छ।

गोरखा सत्याग्रह उल्लेखित पत्र र विज्ञप्तिबाट पनि आश्वस्त हुन नसकेकाले ६ नोभेम्बर का दिन महामहिम राजदूतद्वारा सत्याग्रहका प्रतिनिधिहरुलाई नेपाली दूतावास लण्डनमा नेपाल सरकारका पर्यटनमन्त्रीका रोगबरमा बेलायत सरकारसंग वार्ताबाटै गोरखाका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै, डिसेम्बर २०१६ भित्र वार्ता गर्ने समयसीमा दिएर बेलायत सरकारलाई नेपाल सरकारका तर्फबाट नेपाली दूतावासले लेखेको पत्रको प्रतिलिपि समेत उपव्ध गराई थप विश्वस्त बनाउदै अनशन स्थगन गर्न अनुरोध गरिएको साथै परराष्ट्र मन्त्रालयबाट पनि सोही प्रतिबद्धता र अनुरोध आएकाले हामीले विभिन्न माध्यमबाट विद्वान बुद्धिजीवीहरु र आम गोरखाहरुको राय, सल्लाह, सुझाव र अनुरोधलाई मध्यनजर गर्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले आज ७ नोभेम्बर २०१६ बाट आरम्भ हुने भनिएको “अनशन” तत्काललाई अनिश्चितकालीन स्थगन गर्ने विवेकपूर्ण निर्णय गरेको घोषणा गर्दछौं।

कारण हामीले सत्याग्रह आन्दोलनको आरम्भबाटै त्रिपक्षीय वार्ताबाट नै समस्या समाधान गर्न पर्दछ भन्दै आएका थियौं। र वास्तवमा कुनैपनि आन्दोलनको समाधान वार्ताबाटै हुने गर्दछ। त्यसैले हामी बेलायत सरकार र नेपाल सरकारले गोरखा सत्याग्रहलगायत गोरखा प्रतिनिधिहरुको रोहवरमा तत्काल परिणाममूखी वार्ता हुनेछ भन्ने पूर्ण विश्वाशका साथ तत्काललाई अनसन स्थगन गर्ने निर्णय गरेका छौं। यदि यथाशीघ्र निर्णायक वार्ता आरम्भ नभए या हाम्रा मागहरु सम्बोधन नगरिए तत्काल पूर्वघोषित अनसन पूनः आरम्भ गरिने पनि घोषणा गर्दछौं।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति चांडो भन्दा चांडो वार्ताबाट सम्पूर्ण समस्या समाधान गर्न चाहन्छ । त्यसैले सम्पूर्ण गोरखा अभियानका लागि स्थापना भएका गोरखा संघ-संस्थाहरु एवं स्वाभिमानी गोरखाहरू यो ऐतिहासिक अवसरमा सत्याग्रहसंग एकाकार भएर २०० वर्ष अघिबाट हामी गोरखाहरुले भोगिरहेका विभेद सदाका लागि अन्त्य गर्न स्वतःस्फूर्त अघि बढ्न आह्वान एवं अनुरोध गर्दछौं।

गोरखा आन्दोलनको यो निर्णायक घडि, सम्पूर्ण गोरखाहरुका लागि ऐतिहासिक अवसर र चुनौती दुवै हो । अहिलेको परिप्रेक्षमा, गोरखाका समस्या समाधान गर्ने यो भन्दा उपयुक्त अरु कुनै विकल्प हुन सक्दैन। त्यसैले आसन्न वार्तालाई परिणाममूखी बनाउन सम्पूर्ण गोरखा संघ संस्थाहरु एकजुट हुन अत्यावश्यक छ । यो यथार्थलाई आत्मसात गर्ने नसक्ने कुनैपनि गोरखा संस्थाहरुको कुनै औचित्य बाँकी रहने छैन। र वास्तवमा त्यस्ता संस्थाहरुले गोरखा ट्रेडमार्कको दुरुपयोग गरेको ठहरिने छ । सोझा गोरखाहरुका भावनासँग खेलवाड गरि आर्थिक शोषण र ठगि गरेको प्रमाणित हुनेछ। यो सबै गोरखा संस्थाहरुको अग्नि परीक्षा पनि हो।

यो आन्दोलन गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले अख्तियार गरेको हो । तर मुद्धा सम्पूर्ण ब्रिटिश गोरखाहरुको हो। त्यसैले सम्पूर्ण गोरखा संस्थाहरु र गोरखाहरुको समान सहभागिता र संलग्नता अनिवार्य छ।

अन्त्यमा, यो आन्दोलनलाई यहाँसम्म ल्याइ पुर्याउन सक्रिय भूमिका निर्वाह गर्नुहुने सबै सत्याग्रहका पदाधिकारी एव सदस्यहरु, आन्दोलनलाई समर्थन गर्ने देश विदेशमा रहनुभएका गोरखाली, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, सद्भाव र सहयोग पुर्याउनुहुने, गोरखाजन्य संघसंस्था एवं नेपाली संघसंस्थाहरु, विद्वान बुद्धिजीवीहरु, नेपाल सरकार, नेपाली दूतावास लण्डन, ब्रिटिश भेट्रन्स (वान भ्वाइस) अनि पत्रकार मित्रहरुप्रति सत्याग्रह संघर्ष समिति सधन्यवाद आभार ब्यक्त गर्दछ। साथै यो आन्दोलनको परिणामुखी अन्त्य नभईन्जेल यहाँहरुको साथ, सहयोग र सहकार्य निरन्तर रहनेमा हामी पूर्ण विश्वस्त छौं। धन्यवाद ।

जय गोरखा !!!

सुर्य नेम्बाङ.
का संयोजक – युके
[email protected]

ज्ञानराज राई.
अभियान निर्देशक
[email protected]

सन्तोष थलङ
प्रमुख संयोजक-युके/ नेपाल
sthalang@yahoo.

गोरखा सत्याग्रह संयुक्त
संघर्ष समिति – युके/ नेपाल
मिति: ७ नोभेम्बर २०१६

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14900