कसरी निभ्यो प्रकाशको जिन्दगी ?

अर्जुन गिरी / एचकेनेपाल डट कम –
पोखरा, ८ कात्तिक। पृथ्वीनारायण क्याम्पसमा एमबिएस प्रथम वर्षको परीक्षा चलिरहेको थियो । सबै विद्यार्थी परीक्षाको तयारीमा जुटेका थिए। अरुले जस्तै प्रकाश सुवेदीले पनि केही विषयको परीक्षा दिए । परीक्षा राम्रै भएको थियो । मंसिर ३ गते आफन्तको विवाहमा सामेल भएका प्रकाश परीक्षाकै कारण मंसिर ४ गतेको भोजमा भने ‘पढ्न छ’ भन्दै अनुपस्थित रहे।

ढिकुरपोखरी–२ स्थित घरमा फोनमार्फत नियमित सम्पर्कमा रहन्थे उनी । पोखरा बागबजारमा डेरा लिएर बसेका थिए प्रकाश र उनकी दिदी। दिदी सुत्केरी भएर घर गएपछि एक महिना भएको थियो प्रकाश एक्लै कोठामा बसेको । दिदी नभएकै कारण होला उनलाई घरबाट आमा बुबाले चिन्ता मान्दै पटक–पटक फोन हान्ने गर्थे।

मंसिर ५ गते अर्थशास्त्रको परीक्षा थियो । तर सुवेदी परीक्षामा सामेल भएनन्। तर घरमा त्यो कुराको कसैलाई पत्तो भएन । हाल खबर बुझ्न घरबाट फोन गर्दा मोबाइलको स्विच अफ। परीक्षाको बेला पढ्न लागेर होला अफ गरेको भन्ने ठानेर घरकाले त्यति चासो दिएनन् । केही समयपछि फेरि घरबाट फोन गर्दा पनि स्विच अफ नै भनेपछि परिवारको मनमा चिसो पस्न थाल्यो।

दुई दिनसम्म फोन सम्पर्क नभएपछि मंसिर ६ गते बुबाले प्रकाशकी दिदी (ठूली आमाकी छोरी) लाई कोठामा बुझ्न पठाए। कोठामा पुगेकी दिदीले ‘भाइ भाइ’ भन्दै ढोका धकेलिन् । भित्रबाट चुकुल नलगाएको ढोका सजिलै खुल्यो । प्रकाश खाटमा लडिरहेका थिए । त्यो देखेर दिदीले ‘प्रकाश–प्रकाश’ भनेर जगाउन खोजिन् तर उनी ब्युँझिएनन्।

त्यसपछि केही त गडबड छ भन्ने ठानेर दिदीले हारगुहार गरिन् । हुन पनि दिदी जस्तै प्रकाशको अवस्था देख्दा जो कोही पनि आश्चर्यमा पर्न सक्थ्यो । ढाडभन्दा माथिको भाग खाटमा अनि तल्लो भाग खाट बाहिर भएर खुट्टाले भुइँ छोएको थियो । गलामा फिक्का कालो गलबन्दी बेरेको, देव्रे हात छातीमाथि अनि दाहिने हात खाटमा राखेर अचेत अवस्थामा थिए प्रकाश । त्यस्तो अवस्थामा गुहार मागेपछि छरछिमेक जम्मा भए । प्रकाश जीवित छैनन भन्ने त्यति बेलै थाहा भयो । तर प्रकाशको मृत्यु कसरी भयो ? हत्या, आत्महत्या अथवा के भयो भन्ने बारे केही खुल्न सकेको छैन।

प्रहरी स्रोतका अनुसार हत्या पनि हुनसक्छ र आत्महत्या पनि हुनसक्छ भन्नेछ । ‘हत्या भनौं भने अन्य चोट र जबरजस्ती गरे जस्तो देखिँदैन,’ एक प्रहरीले भने, ‘आत्महत्या हो भनौं भने यसरी मरेको अझैसम्म थाहा पाएका छैनौं, रहस्यमा छ घटना ।’ पोस्टमार्टम र भिसेरा रिपोर्टको पर्खाइमा बस्नुभन्दा अरु विकल्प नरहेको स्रोत बताउँछ।

प्रकाशको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पोस्टमार्टम गरेर लगिएको भिनाजु दीपकराज पौडेलले भने । ‘हामीले पोस्टमार्टम गरेपछि शव बुझेर दाहसंस्कार पनि गरिसकेका छांै,’ उनले भने, ‘वास्तविक घटनाबारे सत्य तथ्य छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छांै ।’ मंसिर ४ गतेदेखि प्रकाश सम्पर्कविहीन रहेको भिनाजु पौडेलले बताए । ‘मंसिर ४ गतेदेखि उनको घरमा कुरा भएको छैन,’ उनले भने, ‘त्यही भएर उनका बुवाले दिदीलाई बुझ्न त्यहाँ पठाएका थिए, यस्तो भएको रहेछ।’

प्रकाशको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । ‘हत्या हो कि आत्महत्या भन्ने अझै खुल्न सकेको छैन,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ, वास्तविकता छिट्टै पत्ता लाग्छ।’





Comments

comments

Leave a Reply

15130